२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

अन्ततः त्रियुगा १२ मा पुनःमतदान भएन, गणना सुरू

त्रियुगा नगरपालिकाको कार्यालय। तस्बिरः महेश्वर

अन्ततः त्रियुगा नगरपालिका वडा नंं. १२ मा स्थगित मतदान प्रक्रिया निर्वाचन आयोगबाट अमान्य भएको छ। वैशाख ३० गते ४ः३० बजे मतदान कार्य स्थगित मतदान अधिकृतले जारी गरेको सूचनालाई निर्वाचन आयोगले मान्यता नदिएपछि नगरपालिकाको मत गणना ११ दिनपछि मंगलबार दिउँसो सुरु भएको छ।  

निर्वाचनका दिन मतदानको क्रम चल्दाचल्दै दिउँसो एक्कासी वर्षा भएपछि लाईन लागेका मतदाता तितरबितर हुन पुग्दा नङमा मसीको संकेत लगाईसकेका मतदाताको मतपत्र एकाएक गायब भएपछि बिबाद भएको थियो। उनीहरुको मतपत्रमा मतदान अधिकृतलगायत कर्मचारीले आफै भोट खसालेको भन्दै बिबाद हुँदा चुनाव रोकिएको थियो। बिबादपछि मतदानस्थल पुगेका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिृकत र राजनीतिक दलका प्रतिनिधिबीच भएको सर्वदलीय छलफलपछि मुचुल्का उठाएर मतदान अधिकृतले मतदान प्रक्रिया स्थगित भएको सूचना जारी गरेका थिए।  

त्यसपछि पटकपटक दलहरु र उम्मेदवारले मतदान प्रक्रिया सुचारु गर्न आग्रह गर्दै आए पनि सुचारु गर्ने या गणना गर्ने भन्ने निर्णय निर्वाचन अधिकृतको कार्यालयले दिएको थिएन। यसबारे धेरैतिरबाट दबाब आएपछि मुख्य निर्वाचन अधिकृत दिपक खनालले तीनदिनपछि राजीनामा दिएका थिए। जिल्ला अदालतका १ नं. न्यायाधीशसमेत रहेका खनालले राजीनामा दिएको ३ दिनपछि अर्का न्यायाधीश उत्तम सिलुवाललाई निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको थियो।  

उनले पनि निकास दिन नसकेपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको आयोगको टोली वास्तविक्ता बुझ्न भन्दै स्थलगत भ्रमणका लागि उदयपुर आएका थिए। उनले सर्वपक्षीय छलफल राखेर फर्केको ३ दिनपछि मत गणना गर्ने निर्णयसहितको निर्देशन अनुसार गणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी खेमराज कोईरालाका अनुसार गणना गर्ने विषयमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले असहमति जनाएका छन्।  

सर्वदलीय बैठकमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले गणना गर्नुपर्नेमा जोड दिएका थिए भने माओवादी र एसले असहमति जनाएको बैठकमा सहभागी माओवादी सचिव किरण राईले बताए। उनका अनुसार मतदानका लागि विहानदेखि लाईनमा बसेका मतदाताहरु वर्षाका कारण मत दिने अधिकारबाट वञ्चित भएकाले पुनः मतदान हुनुपर्ने माग माओवादीले राख्दै आएको थियो। एसले पनि पुनः मतदान गर्नुपर्नेमै जोड दिँदै आएको थियो। मतदान प्रक्रिया सुचारु गरिपाउँ भन्दै उच्च अदालत बिराटनगरमा रिटसमेत परिसकेको अवस्थामा मतगणना गर्नु मतदातालाई अधिकारबाट वञ्चित गराउनु नै भएको ठहर यी दुई दलले गर्दै बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेको राईले बताए।  

सर्वसम्मत निर्णय हुन नसके पनि आयोगको निर्देशन अनुसार गणना सुरु भएको छ। मंगलबार १ः०० बजेदेखि भएको मतगणना कार्य वडा नं. १ बाट थालिएको कोईरालाले बताए। त्रियुगामा १८ हजार ३ सय २० पुरुष र २० हजार ८५ महिला गरी ६० हजार ४६ मतदातामध्ये ३८ हजार ४ सय ५ मत खसेको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App