१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङको समन्वय प्रमुखका लागि शेर्पाको नाम चर्चामा, शंकर पनि आकाँक्षी

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा माओवादी केन्द्रका युवा नेता मिङ्माडण्डु शेर्पाको नाम चर्चामा देखिएको छ। समन्वय समितिको प्रमुखका लागि माओवादीकै गंगाराम शंकर पनि आकाँक्षी छन्।

माओवादीको प्रदेश कमिटी सदस्य शेर्पा वाइसिएल नेपालका केन्द्रीय कोषाध्यक्ष समेत भइसकेका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुख उनी माओवादी केन्द्र जिल्ला समन्वय समिति ताप्लेजुङका सहइञ्चार्ज समेत हुन्। शंकर माओवादी केन्द्रका फुङलिङ कमिटी अध्यक्ष हुन्। दुबैजना अहिलेसम्म गाउँ तथा नगरसभा सदस्य भने छैनन्।

गठबन्धन दलबीच यसअघि स्थानीय तहको निर्वाचनका क्रममा पदीय भागबण्डा मिलाउँदा जिल्ला समन्वय समितिको प्रमुख माओवादी केन्द्रले र उपप्रमुख नेकपा एसले पाउने गरी सम्झौता भएको थियो। आफूले मागेजति पद नपाएको भन्दै सहमति अघि नै बैठक छाडेर हिंडेको नेकपा एसले पनि सहमतिपत्रमा हस्ताक्षर नगरेपछि पदीय भागबण्डाको सहमति पत्रमा काँग्रेस र माओवादी केन्द्रले मात्र हस्ताक्षर गरेका थिए।

निर्वाचनमा जिल्लाभरनै सहमति कायम गरेका काँग्रेस, माओवादी र नेकपा एसको गठबन्धनमध्ये फुङलिङ नगर कार्यपालिकाको ८ पदमध्ये दलित वा अल्पसंख्यक कोटाबाट आउने ३ पदका लागि शंकरले उम्मेदवारी दर्ता गरेका छन्। यसो गर्दा उनी पनि नगरसभा सदस्य हुने छन्। उता गठबन्धन पक्षको बहुमत रहेको फक्ताङ्लुङ गाउँपालिकाबाट अल्पसंख्यक कोटाबाट गाउँसभा/गाउँ कार्यपालिका सदस्य बन्न शेर्पाले समेत उम्मेदवारी दिनेछन्।

गाउँ तथा नगरसभाको सदस्य समन्वय समितिको पदाधिकारी तथा सदस्यका लागि उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ। मतदान गर्न भने स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र पाउने छन्। सो अनुसार जिल्ला समन्वय समिति बनाउन १८ जनाले मतदान गर्नेछन्। त्यसमा काँग्रेस र एमालेका समान ६–६,माओवादी केन्द्रको ५ र नेकपा एसको १ मत रहेको छ। सहमति विपरित गतिविधि गरेको भन्दै काँग्रेसले नेकपा एसलाई समन्वय उपप्रमुख दिनमा आनाकानी गरिरहेको छ।

‘सहमतिको पालना भनेजस्तो गरी भएन, उहाँहरु सुरुबाटै सहमतिमा आउने भन्दा भाग्ने काममा बढी लाग्नुभयो,’ नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले भने, ‘भरसक समन्वय उपप्रमुख पद उहाँहरुले नमागे हुन्थ्यो भन्ने लागेको छ।' काँग्रेसले फुङलिङ वडा नं ४ को निर्वाचनमा नेकपा एसले पनि वडाध्यक्षमा उम्मेदवारी दिएर गठबन्धनलाई समस्यामा पार्ने काम गरेको अभियोग लगाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App