गोरखाको गण्डकी गाउँपालिकाले यस अघिको निणर्य उल्ट्याउँदै गाउँपालिकाले प्रशासकिय भवन र वडा कार्यालय भवन निर्माणका ठेक्का रद्ध गरेको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिएको भोलिपल्टै दुइ वडा वडा र प्रशासनिक भवनको ठेक्का रद्ध गरिएको हो।
गण्डकी गाउँपालिकाले आईतवार एक सुचना प्रकाशित गर्दै गाउँपालिकाको प्रशासकिय भवन, वडा नम्बर ६, ८ को वडा कार्यालय भबन निर्माण संम्बन्धी वैशाख ९ गते प्रकाशित ई विडिङ मार्फत आह्वान गरिएको ठेक्का रद्ध भएको जनाएको छ। जेठ ६ गतेको निर्णय अनुसार उक्त ठेक्का रद्ध गरिएको प्रमुख प्रशासकिय अधिकृत बेदहरि अधिकारीले बताए।
पहिलो पटक प्रकाशित सुचना अनुसार गाउँपालिका र वडा नम्बर ६, ८ को भबन निर्माण ठेक्का आईतबार खुल्नुपथ्र्यो। तर त्यसको ठिक उल्टो ठेक्का खुल्ने दिन ठेक्का रद्धको सुचना प्रकाशित भएको छ। ‘अध्यक्ष ज्यूको निर्देशनमा टिप्पणी उठाएर उहाँबाट सदर भएपछि ठेक्का रद्ध गरिएको हो’ प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने।
इ–विडिङ मार्फत कति जनाले ठेक्क दाखिला गरे भन्ने यकिन छैन। शुक्रबार नै इ–विडिङबाट उक्त ठेक्का हटाइएको छ। गाउँपालिकाको भवन निर्माणका लागि गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा हाल रहेको प्रशासनिक भवन सँगै जग्गा लिइएको छ। प्रमुख प्रशासकिय भवन निर्माण गर्ने भएपछि स्थानीयले करिब ८ रोपनी जग्गा दान दिएका थिए। उक्त जग्गा गाउँपालिकाको नाममा छ।
गण्डकी गाउँपालिकाको प्रशासनिक सँगै वडा नम्बर ६ को वडा कार्यालय भवन र ८ को वडा कार्यालयको भवनको ठेक्का पनि रद्ध भएको छ। वडा नम्बर ६ मा एक करोड ३८ लाख ३२ हजार र ८ मा एक करोड ३९ लाख ३९ हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो।
गाउँपालिकाको भबन निर्माणका लागि गाउँसभाले दुई करोड ५० लाख बजेट बिनियोजन गरेको थियो। उक्त बजेटले भवन निर्माण सम्पन्न नहुने र स्रोत पनि सुनिश्चित नदेखेपछि तत्कालका लागि ठेक्का रद्ध गर्नुपरेको अध्यक्ष दिपक तिमल्सिनाले बताए। ‘गाउँपालिकाको भवनको विषयमा कार्यपालिकामा र सर्वपक्षित छलफल आवश्यक छ’ उनले भने ‘अहिले बजेट के छ भनेर हेरेको ठेक्का लगाएझैँ पुग्ने बजेट देखिएन, त्यसैले रद्ध गरिएको हो।’ गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्ने गरी छिट्टै ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए। ‘वडा कार्यालय र गाउँपालिकाको प्रशासकिय भवन एउटै टेण्डरबाट आह्वान गरिएकाले वडाको पनि रद्ध भएको हो’ अध्यक्ष तिमल्सिनाले भने ‘वडाको छिट्टै ठेक्का प्रक्रिया अघि बढ्छ।’
गण्डकी गाउँपालिकाको प्रशासकिय भबन पाँच वर्षयता निर्माण हुन सकेन। गत महिना टेण्डर भएको भवनको ठेक्का रद्ध भएपछि प्रमुख प्रशासकिय भबन निर्माणमा अन्यौल बढेको छ। अहिले गाउँपालिका रहेको ठाउँमा भवन निर्माण गर्न पूर्व गाउँपालिका अध्यक्ष होमबहादुर रानाले प्रक्रिया अघि बढाएका थिए। त्यतीबेला उक्त ठाउँमा गाउँपालिकाको केन्द्र राख्न नहुने अडानमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि थिए।
कांग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधि बिचको बिवादले गाउँपालिकाको केन्द्र निर्धारणमा किचलो भएको थियो। अहिले माओवादी केन्द्रबाट अध्यक्षमा दिपक तिमल्सिना निर्वाचित भएपछि केन्द्रको स्थान हेरफेर गर्न ठेक्का रद्ध गरिएको चर्चा चलेको छ। ‘प्रशासनिक भवन सबैलाई सजिलो र पायक पर्ने ठाउँमा हुन्छ’ अध्यक्ष तिमल्सिनाले भने।
प्रकाशित: ८ जेष्ठ २०७९ ११:५४ आइतबार