२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छुः प्रकाश अधिकारी

टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन्।

दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएसँगै शुक्रबार साँझ पदभार ग्रहण गर्दै उनले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै सबै राजनीतिक दल र जनतालाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका हुन्।

'टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिको हो, यसको विकासका लागि म निरन्तर लाग्नेछु,' उनले भने। उनले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

'विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बित्यो, विकासको जग बसालेका छौँ, त्यसलाई पूरा गर्न अब हामी एकजुट भएर लाग्नेछौँ,' उनले भने। आगामी पाँच वर्षमा टोखा नगरपालिकाले ठूलो विकास गर्ने उनको भनाइ थियो। नगरप्रमुख अधिकारीले सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताए।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अधिकारीले नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १६६ मत प्राप्त गरेकी थिइन्।

यस्तै उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन्। विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरेकी थिइन्।

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो। काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन्। 

प्रकाशित: ७ जेष्ठ २०७९ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App