coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरा एमालेमा ‘घात–अन्तर्घात’

एमालेले सुरुमा पोखरा महानगरपालिकाको मेयरमा पोखरा–१९ पुरुञ्चौरका दीपक पौडेललाई उम्मेदवार तोक्यो। मेयर पदका लागि सिफारिसमा परेका १२ जनामध्ये केन्द्रीय कमिटीले पौडेललाई छानेको थियो। 

पौडेल एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङनिकट मानिन्छन्। पोखरामा एमाले उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चल्छ।

पोखरामा एमालेका यी दुई शीर्ष नेताबीचको टकरावको प्रभाव कस्तो पर्छ भन्ने उदाहरण स्थानीय तह चुनावलाई हेरे पुग्छ। एमालेले सुरुमा उम्मेदवार तोकेका पौडेलको टिकट २४ घन्टा नबित्दै खोसियो। कारण थियो, केही वर्षअघिको सुन चोरी काण्डमा पौडेल संलग्न भएको भन्ने आरोप। पौडेल संलग्न भनिएको उक्त चोरीको भिडियो उनले टिकट पाएलगत्तै सामाजिक सञ्जालमा भाइरल बनाइयो।

त्यो भिडियो बाहिर ल्याउन अधिकारी समूह संलग्न भएको दाबी गुरुङ समूहको छ। त्यही भिडियो सार्वजनिक भएपछि एमाले नेतृत्वले पौडेलको टिकट खोसेर अधिकारी समूहका कृष्ण थापालाई दियो। थापा प्रदेशसभा सदस्य थिए। टिकट पाएपछि उनले सो पदबाट राजीनामा दिएका थिए।

पार्टी नेतृत्वले त्यसअघि नै प्रदेशससभा सदस्यलाई स्थानीय तहको चुनावमा उम्मेदवार नबनाउने निर्णय गरेको थियो। तर पछि नेतृत्वले नै पौडेलको टिकट खोसेर प्रदेशसभा सदस्य रहेका थापालाई टिकट दिएपछि गुरुङ समूह रुष्ट भयो। गुरुङ थापासँग पहिलेदेखि नै रुष्ट थिए।

गण्डकी प्रदेशको मुख्यमन्त्री चयन गर्ने बेलामा पनि आफूलाई रोक्न थापाले किरण गुरुङलाई सघाएको भन्दै उनीसँग पृथ्वी सुब्बा रुष्ट थिए। यसैकारण पृथ्वी सुब्बाले आफू मुख्यमन्त्री भएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई प्रदेश सरकारको मन्त्री बनाउन पटकपटक निर्देशन दिँदा पनि बेवास्ता गरे।

पोखराको मेयरमा थापालाई टिकट नदिन पनि पृथ्वीसुब्बाले सक्दो प्रयास गरेको अधिकारी पक्षको दाबी छ। थापालाई रोकेर पौडेललाई टिकट दिने गुरुङको रणनीति सुरुमा सफल त भयो तर त्यो धेरै समय टिकेन। थापालाई रोक्ने पृथ्वीसुब्बाको रणनीति तब फेल भयो, जब पौडेल सुनचोरी काण्डमा संलग्न भएको भनिएको भिडियो सार्वजनिक भयो। त्यसपछि गुरुङले जे चाहेका थिएनन्, त्यही भयो।

पौडेलको टिकट खोसियो। थापालाई उम्मेदवार बनाइयो। पौडेलको टिकट खोसिए पृथ्वी सुब्बा समूहले थापालाई असहयोग गर्ने रणनीति बनाएको स्रोत बताउँछ। यही रणनीतिअनुरूप नै पौडेल एमालेको चुनावी कार्यक्रममा खासै देखिएनन्। उनले थापालाई सघाउनुको सट्टा उल्टै हराउन भूमिका निर्वाह गरेको आरोप अधिकारी समूहको छ। त्यसको नतिजा मतपरिणाममा देखिएको अधिकारी समूह सम्बद्ध स्रोतको भनाइ छ।

पोखरामा शुक्रबार बेलुकीसम्म ६९ हजार ९ सय ६८ मत गणना भइसकेको छ। गणनामा सत्ता गठबन्धनकाबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन्। एमाले गढका रूपमा हेरिने पोखरा महानगरमा यसअघि सोही पार्टीका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई करिब १४ हजार मतान्तरले पराजित गरेका थिए। यसपटक शुक्रबार बेलुकीसम्मको गणनामा आचार्यले २८ हजार ५ सय ६३ मत पाएका छन्।

एमाले उम्मेदवार थापाले २५ हजार ३ सय ५७ मत पाएका छन्। आचार्यले एमालेकै मत पाएर अग्रता लिएको चर्चा पोखरेलीबीच भइरहेको छ। एमालेको मत क्रस भएको प्रस्ट देखिएको गणनामा बसेका पार्टी प्रतिनिधिहरू बताउँछन्। ती प्रतिनिधिका अनुसार पृथ्वीसुब्बा समूहले मेयरमा आचार्य र बाँकी पदमा सूर्य चिह्नमा मत हालेका छन्। ‘मतको प्याटर्न हेर्दा अन्तर्घात भएको प्रस्ट देखिन्छ।

किनकि मेयरमा आचार्य र अन्यमा सूर्यमा मतदान गर्ने एमालेबाहेक अरू हुन सक्दैन,’ गणनामा खटिएका एक प्रतिनिधिले भने। एमालेको गढमै थापालाई कम मत आएको छ। पोखरा–५ एमालेको गढ क्षेत्र हो। त्यहाँ एमालेका मेयर उम्मेदवार थापाले १ हजार ४ सय ३४ मत पाए भने एमालेकै उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले १ हजार ७ सय ९२ मत पाइन्।

त्यस्तै एमालेको प्रभाव क्षेत्र मानिएको अर्को वडा १३ मा थापालाई मन्जुको भन्दा १९८, वडा ८ मा ३ सय ३६ र वडा २६ मा ३५० मत कम आएको छ। एमालेको प्रभाव क्षेत्र मात्रै होइन, अन्य क्षेत्रमा पनि मन्जुको भन्दा थापाको मत कम आएको परिणामले देखाउँछ। त्यसैले पार्टीभित्रबाट भएको अन्तर्घातकै कारण थापालाई कम मत आएको अधिकारी समूहको दाबी छ। अधिकारी समूहको दाबीलाई पुष्टि गर्नेगरी अहिले केही फोन वार्ताका अडियो सार्वजनिक भएका छन्।

दुई छुट्टाछुट्टै अडियो संवादमध्ये एउटामा पृथ्वी सुब्बा समूहका राजीव पहारीका अघोषित स्वकीय सचिव मनोज पहारी र धनराज आचार्यका भतिज पर्ने प्रकाश आचार्य तथा अर्को अडियो संवादमा यही समूहकै युवा संघका कार्यकर्ताबीच थापालाई हराउनेबारे कुरा भएको सुनिन्छ। दुवै संवादमा थापालाई हराउन वडावडामा कार्यकर्तालाई खटाएको दाबी गरिएको छ।

यसैलाई आधार बनाएर अधिकारी समूहले पृथ्वी सुब्बा समूहका भनिएका प्रदेशसभा सदस्य राजीव पहारी, एमाले केन्द्रीय सदस्य भीम कार्कीलगायतमाथि थापालाई हराउन अन्तर्घात गरेको आरोप लगाएको छ। आरोपको प्रतिवाद गर्दै राजिव र मनोजले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्। उनीहरूले आफूहरू एमालेका सिपाही भएकाले अन्तर्घात गर्ने कुरा सोच्नै नसक्ने प्रस्ट पारेका छन्। एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति निकालेर आरोपप्रत्यारोपमा नउत्रिन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने पनि मतको प्याट्रन हेर्दा अन्तर्घात भएको हो कि भन्न सकिने बताउँछन्। तर यसलाई अन्तिम निष्कर्षकै रूपमा बुझ्न नहुने न्यौपानेको भनाइ छ। ‘मतको प्याटर्न हेर्दा असन्तुष्टि पोखियो वा अन्तर्घात भयो भन्न सकिएला। तर पार्टीले छानबिन र चुनावी विश्लेषण नगरी अन्तर्घात भयो भनेर अन्तिम निष्कर्ष निकाल्नु जायज होइन,’ उनले भने, ‘तर अहिले पोखरामा मत क्रसको जुन बाढी नै आयो त्योचाहिँ खतरनाक छ।’ उनले पार्टीमा संगठनात्मक अराजकता रहेको र त्यो अहिलेको चुनावमा पोखरामा छरपस्ट भएको स्वीकार गरे।

एमाले कास्कीका अध्यक्ष मनबहादुर पनि चुनावको अन्तिम परिणाम नआईकन घात–अन्तर्घातको निष्कर्ष निकाल्नु बेकार हुने बताउँछन्। ‘चुनावको अन्तिम परिणाम आएको छैन। त्यसैले अहिल्यै यो भन्नु हतार हुन्छ। चुनावको अन्तिम परिणाम आओस्, त्यसपछि समीक्षा गरौंला र के भएको हो निष्कर्ष निकालौंला,’ उनले भने। उनले आफू कमजोर भएपछि अरूलाई दोष लगाउने, शंका–उपशंका गर्ने परम्परा नै भएकाले त्यसको पछि लाग्न नहुने बताए।

अन्तर्घात गरेको आरोप लागेका एमाले नेता राजीव पहारीले एमालेविरुद्ध पाँच दल लाग्दा त्यसको परिणामबारे पार्टीले पूर्वानुमान गर्न नसक्नु र सही पात्र चयन गर्न नसक्दा अहिलेको परिणाम आएको हुन सक्ने बताए। ‘पार्टीले सुरुमा एउटा पात्र चयन गरेर पठायो। पछि अर्कैलाई पठाउँदा त्यसको मनोवैज्ञानिक असर जनतामा परेकाले पनि मतमा असर परेको हुनसक्छ,’ उनले भने।

प्रकाशित: ७ जेष्ठ २०७९ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App