२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शंखरापुरमा कसरी उदायो राप्रपा?

लामो समयदेखि काठमाडाैँको पूर्वी भेगबाट अर्थात् शंखरापुर क्षेत्रमा नेकपा एमालेको सूर्य उदाउँदै आएको थियो। तर, यस पटकको स्थानीय तह निर्वाचनमा भने शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले ४ हजार ७ सय मत हासिल गर्दै राप्रपाको उदय गराएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार एलपी श्रेष्ठ (४ हजार २ सय दुई मत) लाई पराजित गर्दै राजधानीको पूर्वी भेगबाट यो उनको वा राप्रपाको उदयलाई धेरैले आश्चर्यका साथ हेरेका छन्।

नापित भने यो विजय विगतमा आफूले जितेको वडामा गरेका विकासनिर्माणका काम र सिंगो पार्टीले अगाडि सारेको नयाँ सोचका कारण सम्भव भएको बताउँछन्। ‘ऐतिहासिक नगरी साँखुका दुई वडा ६ र ७ मा हामीले गरेका कामको मूल्यांकन समग्र नगरले गरेको भान भएको छ,’ उनले भने, ‘सानै क्षेत्रमा भए पनि जनतामा विश्वास जगाउन सके विजय प्राप्त गर्न सकिन्छ।’

विगतमा स्थानीय निकायका साविक गाविसमा जिते पनि गणतन्त्र स्थापनापछि स्थानीय तहको निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलो पटक नगरपालिका प्रमुखमा विजय प्राप्त गरेको हो। समाजवादीका नेता माधव नेपालको चुनावी क्षेत्रसमेत रहेको सो नगरमा नापितको उदयले दीर्घकालीन असरसमेत पार्ने आँकलन गरिएको छ।

समाजवादीका स्थानीय नेता नवराज गुरुङ नेपाली कांग्रेससँग गठबन्धन गरी अन्तिम समयमा मेयर पदमा उठे पनि त्यो प्रभावकारी हुन नसक्नु आफ्नो पार्टीको पराजय भएको ठान्छन्। ‘कांग्रेसबाट संस्थागत रूपमै सहयोग भएन,’ गुरुङले भने, ‘हामीलाई आउनुपर्ने भोट हलोमा जाँदा पराजित हुनुप¥यो।’ उक्त नगरमा उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ ६ हजार ३ सय ६२ मतका साथ विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धीै राप्रपाकी विजयाकुमारी वाइबाले ३ हजार २ सय ९८ मत हासिल गरिन्। ‘हो यहीँ गठबन्धनको धोका झल्किन्छ,’ गुरुङले थपे, ‘कागजमा हामीसँग गठबन्धन गरेको कांग्रेसले मतपत्रमा भने राप्रपासँग मिलेको देखियो।’ मतदानअगाडि राप्रपा र कांग्रेसको मेयर र उममेयरमा अघोषित गठबन्धन रहेको उनको दाबी छ।

समाजवादीसँगको गठबन्धनका कारण अन्तिम समयमा मेयरको उम्मेदवारी फिर्ता लिएका नेपाली कांग्रेसका ओम कार्की ढिलो गठबन्धन हुनु नै पराजयको मुख्य कारण बताउँछन्। ‘अन्तिम समयमा समाजवादीसँग भएको गठबन्धनले कांग्रेसका कतिपय कार्यकर्ताले हलोमा भोट हालेको पायौं,’ उनले भने, ‘समाजवादीको पराजय र राप्राको विजयको मुख्य कारण यही नै हो।’  

यसबाहेक धेरै मत रहेका केही वडामा राप्रपाको पुरानो वर्चस्व रहेकाले पनि नापितको विजय सहज भएको उनको बुझाइ छ। ‘पदमा नरहे पनि जनताका समस्यामा साथ दिने भएकाले कतिपयले दलभन्दा नापितजस्ता व्यक्ति रोजेको भेटियो। बत्ती नपुगेको गाउँमा उनले आफ्नै खर्चले पनि बत्ती लगे,’ शंखरापुर–४ की रिना घलानले भनिन्, ‘पानीको समस्या समाधानमा पनि सहयोग पुर्‍याए।’

मेयरमा मात्र होइन, शंखरापुरमा राप्रपा तीनवटा वडासमेत जित्न सफल भएको छ। वडा नम्बर ३ मा सूर्य तामाङ, वडा नम्बर ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नम्बर ७ मा विष्णुकुमार श्रेष्ठले वडाध्यक्षमा प्यानलसहित जितेका छन्। ९ वटा वडा रहेको यस नगरमा ३० हजार जनसंख्या छ भने २२ हजार ५ सय मतदाता रहेका छन्।

राप्रपाले अघिल्लो निर्वाचनमा जितेका साँखु सहरका ६ र ७ वडामा भएका विकासनिर्माणका कामले पनि राप्रपाप्रति सर्वसाधारणको मोह बढेकाले नवनिर्वाचित मेयर थप उत्साही बनेका छन्। ‘हामीले सहरको मौलिकता जोगाउँदै विकासका काम अगाडि बढाएका थियौं,’ नवनिर्वाचित मेयर रमेश नापितले भने, ‘जनताले हामीलाई ती वडासँगै मेयर पदमा विजयी बनाए।’

आगामी दिनमा समग्र नगरको विकासमा लागिपर्ने उनले सुनाए। ‘कृषि, रोजागरी, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनेछौं,’ उनले भने, ‘प्राचीन नगरको सान जोगाउँदै नगरवासीको शिर उँचो राख्नेछौं।’

प्रकाशित: ५ जेष्ठ २०७९ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App