७ वैशाख २०८१ शुक्रबार
राजनीति

गठबन्धनप्रति अध्यक्ष नेपाल असन्तुष्ट

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूबीच भएको सहमति इमानदार ढंगले कार्यान्वयन नभएको संकेत गरेका छन्।

२९औं मदन–आश्रित स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र इमानदारी नदेखिएको बताएका हुन्।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एसले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको औंल्याए। यसबाट गठबन्धनभित्रका दलहरूले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको संकेत मिलेको उनको भनाइ थियो।

उनले यस विषयमा समीक्षा हुने बताए। ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामीले निर्वाचन परिणामको गम्भीर समीक्षा गर्नेछौं, गठबन्धनको पनि समीक्षा गर्नेछौं’, उनले भने, ‘समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटि गर्‍यौं भन्ने केलाउनेछौं। र, आगामी दिनमा हामीले के कुरामा ध्यान दिनुपर्ने हो भन्ने केलाउनेछौं। अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्नेजति छैन।’

स्थानीय तहको निर्वाचनमा पार्टीले झन्डै १५/२० पालिकामा प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको तर त्यस्तो नदेखिएको उनले बताए। ‘कतिपय ठाउँमा राम्रै अवस्था पनि छ। कतिपय ठाउँमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं। गठबन्धन दलका सदस्यले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरू पनि होलान्। अरूका आफ्नै गुनासा होलान्। यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्नेछ, जनताको माझमा क्रियाशील बनाउनुपर्नेछ,’ उनले भने।

नेकपा एसका नेता झलनाथ खनालले पनि स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको मत नआएको बताएका छन्। उनले पनि गठबन्धन दलभित्र भएका सहमति इमानदारीपूर्वक कार्यान्वयन नभएको दाबी गरे।

प्रकाशित: ४ जेष्ठ २०७९ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App