७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टीले दोहोर्‍याएकालाई जनताले चाहेनन्

भिमाद नगरपालिकामा नेकपा एमालले निकालेको विजय र्‍याली। तस्बिर विनोद /नागरिक

संघीयता कार्यन्वयनमा आएपछि पहिला २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाको बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख जित्दै आफ्नो पकडको स्थानीय तह प्रमाणित गरेको थियो। १० स्थानीय तहमध्ये माओवादीले प्रमुख उपप्रमुख अन्त कतै जितेको थिएन्। माओवादीबाट अध्यक्षमा निर्वाचित पुर्णसिंह थापा र उपाध्यक्ष करुण गुरुङको राम्रै चर्चा रहन्थ्यो जिल्लाभर।  

यसपाली पनि माओवादीले बन्दीपुरमा यिनै दुईलाई दोहोर्‍याउने निधो गरेर चुनावी मैदानमा उतार्‍यो। पार्टीले दोहोर्‍याएको यि दुवै जना अन्तिम मतपरिणाम प्राप्त हुदाँ पराजित भएका छन्। पार्टीले दोहोर्‍याएपनि यि दुईको नेतृत्व बन्दीपुरे जनताले चाहेनन्। बन्दीपुरको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।  गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका छन्। सुरेन्द्रले तीन हजार २२९ र पुर्णसिंले तीन हजार १६६ मत ल्याए।  

उपाध्यक्षमा करुणाले झिनो दुई मतान्तरमा पराजय भोग्नुपरेको छ। उपाध्यक्षमा नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन्। पञ्चमायाले तीन हजार २७ र  करुणाले तीन हजार २५ मत पाए। १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो।  

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले गिरबहादुर थापालाई दोहोर्‍याउँदै उम्मेद्वार बनाएको थियो। अघिल्लो पटक अध्यक्ष उपाध्यक्षसँगै अधिकांश वडा जितेको कांग्रेस यसपाली आँबुखैरेनीमा दुई वडामा खुम्चिएको छ।  

गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन्। अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिष्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे। उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनको निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी पवित्रा गौलीले दुई हजार १८३ मत ल्याइन्।

म्याग्दे गाउँपालिका कांग्रेसको पकड मानिन्थ्यो। म्याग्देको अध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी राना र बालकृष्ण घिमिरेले उपाध्यक्षमा दोहोरिएर उम्मेद्वारी दिएका थिए। नेकपा एमालले अघिल्लो पटक पराजित भएका श्रीप्रसाद श्रेष्ठलाई अध्यक्षमा र रत्नादेवी घिमिरेलाई उपाध्यक्षमा उठाएको थियो। मायादेवीलाई मतदाताले दोहोर्‍याएनन्। श्रेष्ठले ७१८ मतान्तरले जित दर्ता गराए। उनले चार हजार ९५०  मत प्राप्त गर्दा रानाले चार हजार २३२ मत पाईन्।  

उपाध्यक्षमा भने नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर फेरी दोहोरिएका छन्। उनका निटतम प्रतिद्वन्द्वी  एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाईन्। अघिल्लो पटक पनि उपाध्यक्षमा यिनै दुईको भिडन्त भएको थियो। तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ।  

देवघाट गाउँपालिकाको अध्यक्षमा दोहोरिनलाई नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिएका दुर्गबहादुर थापा पनि पराजित भएका छन्।  प्रमुख उपप्रखुममा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सफलता मिलेको छ। नेपाली कांग्रेसका थापाले चार हजार ३०६ मत पाएर गाउँपालिका अध्यक्षमा विजयी भए। एमालेका थापाले तीन हजार ४८३ मत ल्याए। थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए। दोस्रो कार्यकालका लागि जनपरिक्षणमा होमिएका उनी सफल हुन सकेनन्।

राजनीतिक विश्लेषक प्राध्यापक डा. ईश्वरचन्द्र वाग्ले तनहुँमा मात्र नभएर देशभर नयाँ नेतृत्वको खोजी भएको बताउँछन्। ‘युवा नेतृत्वको खोजी भएको छ। एक पटक टेस्टेड भएकालाई दोहोरिन चाहेपनि जतनाले रुचाएका छैनन्’, उनले भने, ‘जनताले बुझ्न थालको छन् डेट एक्सपाएर नेतृत्व। नयाँ र युवा खोज्न थालेका छन्।’ स्थानीय निर्वाचनमा पार्टी भन्दा व्यक्ति पनि हेरिएको उनको विश्लेषण छ। अगाडी थप्दै भने, ‘पार्टीको लगाम छाडेको छन्। दलभन्दा असल व्यक्तिलाई रोजेका छन्।’ 

उनले अब राजनीतिक दलले उम्मेद्वार चयन गर्दा जनताको चाहना बुझ्नुपर्ने उनको भनाई छ। दोहोरिएका जनप्रतिनिधि फेरी विजयी भएपनि पहिलाको जस्तो लोकप्रिय मत नपाएको उनको भनाई छ। प्राध्यापक वाग्लेको भनाईलाई पुष्टी गर्दछ ऋषिङ गाउँपालिकाको नतिजाले। ऋषिङमा अध्यक्ष उपाध्यक्ष दुवै दोहोरिएका छन्। नेपाली कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार ३३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत ल्याए। स्वतन्त्र उम्मेद्वारी दिएका श्रीराम आलेले तीन हजार ३३ मत पाए।  

उपाध्यक्षमा गिनुमाया थापा विजयी भएकी छन्। उनले चार हजार ४२९ मत पाएर विजयी भएकी हुन्। उपाध्यक्षका उम्मेद्वार माओवादी केन्द्रका मधुप्रसाद थापाले तीन हजार ४८९ मत पाए। अघिल्लो पटक दोब्बर बढी मतान्तरले विजयी भएका यि दुईले यसपाली लोकप्रिय मत भने पाउन सकेनन्। भिमाद नगरपालिकाको उपमेयरमा शारदा खनाल दोहोरिएकी छन्। व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई बैकुण्ठ न्यौपानेले उम्मेद्वारी दिएका छन्। यहाँको वडा नम्बर ८ रिस्तीको २ मतदान केन्द्रको बुधबार पुनः मतदान गरेपछि मात्र मतणना सुरु हुनेछ। बैकुण्ठलाई जनताले चाहान्छन् चाहदैनन् अबको केही दिनमा फैसला हुनेछ। 

प्रकाशित: ३ जेष्ठ २०७९ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App