१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले भत्कायो एमालेको गड

एमाले गढ भत्काउने कांग्रेस उम्मेदवारहरु लक्षुमन गुरुङ, रिता शाही, गणेशकुमार शाही, रक्षबहादुर शाही।

दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गड भत्काउँदै विजयी भएका हुन्।

२०७४ मा नेकपा एमालेले जितेको दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, ठाँटीकाध गाउँपालिकामा कांग्रेसले जित्यो। एमालेको गढका रुपमा चिनिएका ती पालिकाहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरु भारी मतसहित विजयी भएका हुन्।

त्यति बेला कांग्रेसले जितेको तीन ठाउँमा एमाले, माओवादीले जित हात पारे। यसरी हेर्दा पालिकामा दलहरुबीच अदलबदल हुँदा आफ्नो विरासत जोगाउन सकेनन् । जसले गदा आफ्नो पार्टीको गढ भएको पालिका भत्किएको हो।

ठाटीकाँध गाउँपालिकामा कांग्रेसका रक्षबहादुर शाहीले २५ सय ७१ मत ल्याएर विजयी भएका उनका प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मीदेवी शाह २२ सय ७९ मत ल्याइन्। उनी यसअघि जिल्ला समन्वय समितिको उपप्रमुख थिइन्। यसअघि एमालेको धिरबहादुर शाही पालिका अध्यक्षमा जितेका थिए।

महावु गाउँपालिकामा नेपाली कांग्रेसका लछुमण गुरुङले २९ सय ७१ मत ल्याएर विजय भए। उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २५ सय १९ मत ल्याए। यसअघि गाउँपालिका अध्यक्ष निर्वाचित एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२ सय ६८ मत ल्याएर तेस्रो भए।

उपाध्यक्षमा पनि कांग्रेसकै मञ्जु पाण्डे अत्याधिक मतसहित विजयी भइन्। भैरवी गाउँपालिकामा कांग्रेसबाट रिता शाहीले ३ हजार ९ सय ७६ मत ल्याएर विजयी भइन्। एमालेका सर्वराज महतराले ३ हजार ९ सय ६० मत ल्याए। महतारा यसअघि जिल्ला समन्वय समितिको सदस्य थिए।

भैरवीको उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी विजयी भइन्। उनी यसअघि वडाअध्यक्षमा निर्वाचित भएकी थिइन्। यसअघि नेकपा एमालेका प्रेमबहादुर बुढाले अध्यक्षमा जितेका थिए। चामुण्डाविन्द्रासैनी नगरपालिकामा कांग्रेसका गणेशकुमार शाहीले ४ हजार ७० ल्याएर विजयी भए। उनका प्रतिद्वन्दी एमालेका सुर्यबहादुर शाहीले ३९ सय ९२ मत ल्याए।

२०७४ को चुनावमा नगर प्रमुखमा गणेशकुमार शाही पराजित भएका थिए। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका मनसराकुमारी शर्माले ४ हजार ३८ मत ल्याएर विजयी भइन्। यसअघि नेकपा एमालेका सुर्यबहादुर शाही नगर प्रमुख थिए। दैलेखका ११ स्थानीय तहमध्ये कांग्रेस चार स्थान, एमालेले दुई र माओवादीले दुई स्थानमा विजयी भएका छन्।

डुगेश्वर, र गुरासमा एमाले, नौमुले र भगवतीमाईमा माओवादी केन्द्रले जितेको हो। नारायण नगरपालिका, दुल्लु नगरपालिका र आठबीस नगरपालिकाको मत परिणाम आउन बाँकी छ। दुल्लुमा कांग्रेस अगाडी छ भने नारायण र आठविस नगरपालिकामा एमालेको अगाडी रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App