१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागीको बहुमतले नेतृत्वलाई चिटचिट

धादिङमा दुईजना स्वतन्त्र उम्मेदवारले मारे बाजी

वडा अध्यक्षमा निर्वाचित: राजकुमार श्रेष्ठ, कृष्ण बहादुर गुरुङ, विशाल भट्टराई।

धादिङमा नेपाली कांग्रेसबाट बागी बनेका ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। टिकट वितरणमा असन्तुष्टी जनाउँदै आफ्नै पार्टीविरुद्ध बागी बनेका उम्मेदवारहरुले बहुमतसहित चुनाव जितेपछि ठूला भनिएका दलका नेताहरु अताल्लिएका छन्।

नेतृत्वको नजिक हुन नसक्दा बागी बनेर चुनाव जित्नेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा राजकुमार श्रेष्ठ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा कृष्णबहादुर गुरुङ हुन्। धुनिवेसी नगरपालिका वडा नम्बर ५ मा पनि गठबन्धनविरुद्ध बागी बनेका कांग्रेसकै विशाल भट्टराईले पनि चुनाव जितेका छन्।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनाव जित्ने तीनैजना नेपाली कांग्रेसका बागी उम्मेदवार हुन्। नीलकण्ठ–३ मा निर्वाचित श्रेष्ठ नेपाली कांग्रेस क्षेत्रीय समिति सदस्य हुन् भने ज्वालामुखी–४ मा निर्वाचित गुरुङ २०७४ को निर्वाचनमा कांग्रेसबाटै टिकट लिएर जितेका वडा अध्यक्ष हुन्। धुनिवेसी–५ का भट्टराई पनि कांग्रेसकै क्रियाशिल सदस्य हुन्।

मतदाताको नजरमा लोकप्रीय भएपनि नेताको नजिक हुन नसक्दा उनीहरुले टिकट पाएनन् । ‘आफ्नै पार्टीका नेताले पत्याएनन्, तर जनताले चुप बस्न दिएन’, नीलकण्ठ नगरपालिका–३ को वडा अध्यक्षमा निर्वाचित श्रेष्ठ भन्छन्, ‘यो जित मेरो व्यक्तिगत होइन, पार्टीभित्र आफूखुसी गर्ने र नातावाद कृपावाद गर्नेहरुविरुद्धको हो।’

पार्टीबाटै टिकट पाउने चर्चामा रहेका नीलकण्ठ नगरपालिका–३ का स्वतन्त्र बागी उम्मेदवार राजकुमार श्रेष्ठले नेपाली कांग्रेसकै आधिकारिक उम्मेदवार गोपीकृष्ण भण्डारीलाई दोब्बर मतले पराजित गरेका छन्। प्रमुख प्रत्यासी कांग्रेसका आधिकारिक उम्मेदवार भण्डारीसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार श्रेष्ठ वडा अध्यक्ष्यमा विजयी भएका हुन्।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि गुलाबको फुल चुनाव चिन्हमा बागी उठेका नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्षमा निर्वाचित राजकुमार श्रेष्ठ विजय र्‍यालीमा सहभागी।  

जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–३ मा गुलावको फुल चिन्ह लिएर उठेका श्रेष्ठले १३ सय ३९ मत प्राप्त गरेका छन्। प्रमुख प्रतिस्पर्धी कांग्रेसका भण्डारीले ६ सय २९, नेकपा माओवादीले ३ सय ३४ र नेकपा एमालेले २ सय ४१ मत पाएका जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए।

कांग्रेसले आफ्नो पकड मानेको वडामा कांग्रेसबाटै बागी उठेर चुनाव जितेका श्रेष्ठले वडा अध्यक्ष बनेर पाउने सरकारी सेवा सुविधा नलिने बताएका छन्। तलब भत्तामा आउने रकम शिक्षा, स्वास्थ्य र सरसफाइमा खर्च गर्ने उनले बताएका छन्। डनका आरोप खेप्दै आएका भण्डारीले पार्टी नेतृत्वलाई दवावमा पारेर टिकट लिएकोले पनि आफूहरु विद्रोहमा उत्रिएको मतदाताहरुले नै प्रतिकृया दिएका छन्।

प्रत्यासी भण्डारी गुण्डा नाइकेका रुपमा परिचित राधाकृष्ण भण्डारी (राधे)का भाइ हुन्। यद्यपी उनी पहिलो स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन्। कांग्रेसले टिकट नदिएपछि खरायो चिन्हमा चुनाव लडेका ज्वालामुखी–४ मा निर्वाचित गुरुङले ११ सय ३० मत ल्याएका छन्। यो कांग्रेसका आधिकारिक उम्मेदवार श्रेष्ठको भन्दा ५ सय ९१ मत बढी हो।

कांग्रेसबाट टिकट पाएका उम्मेदवार कृष्णलाल श्रेष्ठले ५ सय ३९ मत मात्र पाए। गुरुङका अर्का प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर अर्यालले ५ सय ९४ मत प्राप्त गरे। अहिले स्वतन्त्रबाट विजयी भएका गुरुङ २०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाटै टिकट लिएर विजयी भएका वडा अध्यक्ष हुन्।

पार्टीमा टिकट माग्दा नदिएपछि जनताको माग अनुसार नै स्वतन्त्र उम्मेदवार बनेको उनले बताए। टिकट वितरणकै समयमा पनि नेपाली कांग्रेस धादिङमा ठूलै विवाद देखिएको थियो। उम्मेदवारी दर्ता गर्ने दोश्रो दिनको अन्तिम समयसम्म पनि जिल्लाको आधाजसो वडामा उम्मेदवार टुंग्याउन सकेको थिएन।

त्यतिबेला पार्टीले आधिकारिक टिकट दिन नसकेपछि बागी बनेका उम्मेदवारले अहिले चुनाव जितेपछि नेतृत्व पनि झस्किएको छ। आकांक्षी धेरै र समन्वय गर्ने अवधी कम हुँदा टिकट वितरणमा समस्या परेकोले अहिले यो परिणाम भोग्नु परेको कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिकृया दिए।

प्रकाशित: २ जेष्ठ २०७९ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App