१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अधिकांश पालिकामा मतगणना जारी

स्थानीय तह निर्वाचन सकिएपछि मतगणना धमाधम भइरहेको छ। धेरै ठाउँमा मतगणना सुरु भइसकेको छ। जिल्लास्थित नागरिक संवाददाताहरूले केही ठाउँको नतिजा सार्वजनिक भइसकेको, केही ठाउँको मतगणना सकिने चरणमा रहेको र कतिपय ठाउँमा सुरु नै हुन नसकेको जानकारी दिएका छन्।

पोखरा संवाददाता धन बस्नेतका अनुसार पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्। थापाले ६१ मतसहित अग्रता लिएका छन्। पाँचदलीय गठबन्धनका धनराज आचार्यले ५० मत प्राप्त गरेका छन्। नौ बजेसम्म सार्वजनिक गरिएको मतपरिणामअनुसार गठबन्धनबाटै नेपाली कांग्रेसकी उपप्रमुख उम्मेदवार कोपिला रानाभाटले ६० मत प्रप्त गरेकी छन्।

नेकपा एमालेकी मन्जुदेवी गुरुङले ६० मत पाएकी छन्। उपप्रमुखमा दुवैको मत बराबर रहेको छ। थापा पूर्व नगर प्रमुख हुन भने मञ्जुदेवी गुरुङ वर्तमान उपप्रमुख हुन्। पोखरा महानगर देशकै ठूलो महानगर हो। ३३ वटा वडा छन्। कुल मतदाता २ लाख ७ हजार ७ सय १२ मा शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाता मतदानमा सहभागिता जनाएका थिए। निर्वाचन कार्यालय कास्कीका अनुसार ६८.९६ प्रतिशत मत खसेको जनाएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा झन्डै १३०० मत गणना हुँदा कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर भएको छ। केही समय अघिसम्म नेकपा एमालेका विष्णु केसीले अग्रता लिए पनि पछि दुवैको मत बराबरी आएको हो। उनले कांग्रेसका प्रतिस्पर्धी युवराज कुँवर र नेकपा एमालेका विष्णु केसीले समान ६४१ मत प्राप्त गरेका छन्।

कास्कीकै माछापुच्छ्रे गाउँपालिकाका कांग्रेसका मिनबहादुर गुरुङ १९८९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रत्यासी नेकपा एमालेका विक्रम गुरुङ एमले १७७७ मत ल्याएका छन्। उपाध्यक्षतर्फ कांग्रेसकी सीता अधिकारीले १८३४ मत पाउँदा एमालेकी सीता तिवारीले १७०२ मत प्राप्त गरेकी छन्।

रूपा गाउँपालिकामा भने कांग्रेसकी गीमाया गुरुङले ९८३ मत पाउँदा एमालेका नवराज ओझाले ८०७ मतसहित पछ्याइरहेका छन्। उपाध्यक्षतर्फ कांग्रेसका नारायण श्रेष्ठले १००७ मत पाउँदा एमालेकी लालसुबा गुरुङले भने ७५४ मत प्राप्त गरेकी छन्। ओझा र गुरुङ रूपा गाउँपालिकाका वर्तमान अध्यक्ष र उपाध्यक्ष समेत हुन्।

त्यसैगरी कास्कीकै मादी गाउँपालिकामा नेकपा एमालेका शिव गुरुङ (मेहन्द्र) ले २८७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन्। उपाध्यक्षतर्फ एमालेकी कल्पना गुरुङले २९८ मतसहित अगाडि रहँदै गठबन्धनका लालबहादुर गुरुङ २१४ मत प्राप्त गरेका छन्। गत २०७४ को स्थानीय तह निर्वाचनमा कास्कीमा चारवटा गाउँपालिकामध्ये एमालेले तीन र एक गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको थियो।

रोल्पा संवाददाता दिनेश सुवेदीका अनुसार रोल्पाका सबै तहमा मतगणना जारी छ। १० स्थानीय तह रहेको रोल्पामा यो समाचार तयार पार्दासम्म अधिकांश पालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ। पश्चिम रोल्पाको गंगादेव गाउँपालिकामा सुरुवातीदेखि नै कांगे्रसले अग्रता लिइरहेको छ भने त्रिवेणी गाउँपालिकामा एमालेले अग्रता लिएको छ। यहाँका मुसिकोट नगरपालिका र र चौरजहारी नगरपालिकामा कांगे्रसको अग्रता छ भने बाँकी ४ स्थानीय तहमा माओवादीको अग्रता छ।

त्यसैगरी तीन स्थानीय तह रहेको पूर्वीरुकुमका सबै पालिकामा माओवादी अग्रता छ। रोल्पा, पश्चिम रुकुम र पूर्वी रुकुम तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाका सबै पालिकामा शान्तिपूर्ण वातावरणमा मतगणना चलिरहेको बताएका छन्।ताप्लेजुङ संवाददाता खगेन्द्र अधिकारीका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका बाहेक ८ स्थानीय तहको मतगणना भइरहेको छ।

फुङलिङ नगरपालिकासहित ५ स्थानीय तहमा गठबन्धन पक्षका उम्मेदवारले अग्रता लिएका छन्। फुङलिङ नगरपालिकामा गठबन्धनतर्फ कांग्रेसका उम्मेदवार अमिर मादेनले प्रतिश्पर्धीलाई ठूलो मतान्तरले पछि पारेका छन्।

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बमबहादुर भट्टराई अघि छन्। मैवाखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कृष्णकुमारी लिम्बुको ३ सय ९५ र एमालेका उम्मेदवार कौशिला थत्लुङको ३ सय ३६ मत रहेको छ। यस्तै मिक्वाखोला गाउँपालिकामा गठबन्धन उम्मेदवार कांग्रेसका भक्तबहादुर कार्कीको १ सय ४७ मत रहेको छ।

यस्तै उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार डण्डु शेर्पाको १ सय ४१ मत रहेको छ। एमालेका मीनाकुमारी लिम्बुको १ सय ३८ मत रहेको छ। आठराई त्रिवेणी गाउँपालिकामा गठबन्धन पक्षका कांग्रेसका उम्मेदवार विश्वनाथ सिटौलाको ४ सय ५१ र एमालेका दीपेन्द्र पोमुको ४ सय ६२ मत रहेको छ। उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रका प्रजिन ४ सय ३८ मत र एमालेका उम्मेदवार शान्ता आङ्बुहाङको ४ सय ४८ मत रहेको छ।

यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमबाट सुरु भएको मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार प्रदीपकुमार राईले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार राईको १ सय ४९ मत तथा प्रतिस्पर्धी एमालेका मानबहादुर राईको १ सय २२ मत रहेको छ। उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमारी कडरियाको १ सय ४१ मत र एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङको ८७ मत रहेको छ।

वडा नं १ नाङखोल्याङबाट सुरु भएको पाथिभरा याङ्वरक गाउँपालिकामा एमाले उम्मेदवार केशरकुमार सुब्बाको १ सय ९९ र गठबन्धन कांग्रेस उम्मेदवार रामकुमार थेबेको १ सय ६४ मत रहेको छ। उपाध्यक्षमा एमालेकी रनमाया गुरुङको २ सय ४३ र गठबन्धन पक्षधर माओवादी केन्द्रका कुमार मेन्याङ्बोको ९२ मत रहेको छ। सिरिजङ्गा गाउँपालिकामा एमाले उम्मेदवार सन्तोष चाम्लिङले प्रारम्भिक अग्रता लिएका छन्।

वडा नं १ सिनामबाट सुरु भएको मतगणनामा चाम्लिङको १ सय १९ र गठबन्धनका कांग्रेस उम्मेदवार लालकृष्ण चौहानको ६८ मत रहेको छ। उपाध्यक्षमा एमालेकी तुलसा बस्नेतको १ सय १५ र गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार डाक्टर चित्र मावोको ६२ मत रहेको छ। यता मेरिङदेन गाउँपालिकामा एमालेका केदारजंग लिम्बुले ८ सय ८६ मत ल्याएका छन्।

गठबन्धन पक्षका कांग्रेस उम्मेदवार युकहाङवीर (डम्बर) हाङगामको ७ सय ५५ मत रहेको छ। यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङको ६ सय १८ र एमालेको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाको ५ सय २५ रहेको छ। फक्ताङलुङ गाउँपालिकाको मतपेटिका संलनको अन्तिम चरणमा पुगेकाले राति १० बजेपछिबाट मतगणना सुरु गर्ने तयारी रहेको बुझिएको छ।

बागलुङ संवाददाता संगम घर्तीमगरका अनुसार बागलुङका विभिन्न पालिकामा मतगणना भइरहेको छ। शनिबार बिहानदेखि जिल्लाको ताराखोला गाउँपालिका र गलकोट नगरपालिका, निसीखोला गाउँपालिकामा मतगणना सुरु भएको छ। काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकामा दिउँसोदेखि मतगणना सुरु भएको छ।

जिल्लाको ढोरपाटन नगरपालिकामा मतगणना प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडपसमेत भएको छ। झडपमा परी दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका ९ का भीमबहादुर विक र वडा नम्बर १ का खिमबहादुर विक घाइते भएका छन्। गम्भीर घाइते भीमबहादुरलाई हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगिएको छ।

वडा नम्बर ४ जलजलाको विषयलाई लिएर विवाद भएपछि एमाले सर्वदलीय बैठकमा बसेको छैन। जलजलामा पाँचदलीय गठबन्धनका कार्यकर्ताले मतदानका बेला बुथमा जबर्जस्ती गरेको भन्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। त्यसपछि एमाले सर्वदलीय बैठक बोलाउँदा सहभागी नै नभएपछि मतगणना हुन सकेको छैन। तमानखोला गाउँपालिकामा मतगणना सुरु भएको छ।

पालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक हिमाल र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका अगाडि छन्। गलकोट नगरपालिका ११ मा एमालेका वडाध्यक्ष उम्मेदवार डम्बर श्रीस जिततर्फ अगाडि बढेका छन्। गलकोट नगर प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार भरत शर्मा गैरे र उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरेले अग्रता लिएका छन्। जैमिनी नगरपालिका १० राङ्खानीबाट गणना सुरु भएको छ।

रौतहट संवाददाता मदन ठाकुरका अनुसार रौतहटको मौलापुर र वृन्दावन नगरपालिकाको मतगणना कहाँ र कसरी गर्ने भन्ने विषयमा सर्वदलीय सहमति हुन सकेको छैन।

पटकपटक सहमतिका लागि प्रयास गरिए पनि मौलापुरमा मतगणनाको विधि र प्रक्रियाका साथै स्थानको विषयमा दलहरूबिच सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो।

मौलापुर नगरपालिकामा मतगणनाका लागि सर्वपक्षीय सहमति बनाउन नसकेपछि पालिकाको निर्वाचन अधिकृत खिमबहादुर भुजेलको आलोचना हुन थालेको छ। निर्वाचन सकिएको भोलिपल्ट दिउँसोसम्म पनि मौलापुरमा मतगणना सुरु हुन अनिश्चितता रहेपछि निर्वाचन अधिकृत भुजेलको आलोचना बढेको हो।

नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहको गृहनगर मौलापुरमा एमाले विजयी हुने सुनिश्चित भएपछि गठबन्धन दलहरूले मतगणनाको लागि सहमति हुन नदिएको आरोप साहले लगाएका छन्।

यसैगरी वृन्दावन नगरपालिकाको पनि मतगणना सर्वपक्षीय सहमतिको अभावमा हुन सकेको छैन। शुक्रवार फतुवा विजयपुर, गढीमाई, गरुडा, देवाही गोनाही, बौधिमाई नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका केही स्थानमा मतदान रद्द भई जेठ ३ मा निर्वाचन हुने भएकाले मतगणना हुन सकेको छैन भने माधव नारायण नगरपालिका २ मा पनि मतदानकै क्रममा विवाद भएको थियो। जिल्ला सदरमुकाम गौर, ईशनाथ, राजदेवी, राजपुर, कटहरिया र चन्द्रपुर नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकामा मतगणना सुरु भइसकेको छ।

चितवन संवाददाता वसन्त ढुंगानाका अनुसार चितनवमा अधिकांश पालिकामा मतगणना भइरहेको छ। खैरहनी, राप्ती, कालिका, माडी नगरपालिका र इच्छाकामना नगरपालिकामा मतगणना सुरु भएको छ। स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७२ प्रतिशत मत खसेको थियो।

टीकापुर संवाददाता योगेश रावलका अनुसार कैलालीको टीकापुर नगरपालिकामा गठबन्धनलगायतलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। अहिलेसम्मको मत गणनाअनुसार सो पार्टीका सबै उम्मेदवारले अग्रता लिएका छन्।

प्राप्त मतपरिमाणअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौरा थारूले १३७ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले १२४ मत प्राप्त गरेका छन्।

त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेका मेयर पदका उम्मेदवार श्याम खत्रीले ६८ मत र उपमेयर उपमा केसीले ४१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले ५५ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खड्क शाहले ५३ मत प्राप्त गरेका छन।

हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले थारू र दलित समुदायको मुद्दा अघि सारेर राजनीति गरिरहेको छ। उसले मेयरमा थारू र उपमेयरमा दलित समुदायबाट उम्मेदवार अघि सारेको छ।

यस पार्टीको केन्द्रीय अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन्। उनी २०७२ मा भएको टीकापुर घटनाका दोषी निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती हुन्। चौधरीको नेतृत्वमा रहेको सो पार्टीले कैलाली र बर्दियाका केही पालिकामा चुनावी प्रतिस्पर्धा गरेको छ। पार्टीले केही पालिकाको नेतृत्वमा जित हात पार्ने दाबी गर्दै आएको छ।

यस्तै टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिकामा मत गणना सुरु भएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App