८ वैशाख २०८१ शनिबार
राजनीति

सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान

निर्वाचन सम्पन्न भएपछि धरानको एक मतदानस्थलबाट मतपेटिका सुरक्षित रूपमा सिल गरेर लैजाँदै सुरक्षाकर्मी तथा कर्मचारीहरू। तस्बिर: रोहित राई

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।

सुनसरीका जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार शनिबार रातिसम्म मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन भइरहेकाले निर्वाचन अधिकृतहरूबाट खसेको मत संख्या यकिन गर्न सकिएको छैन। यद्यपि उनले प्रारम्भिक रूपमा जिल्लामा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको जानकारी दिए। उनले भने,‘मतपेटिका मतदान केन्द्रबाट संकलन भइरहेको छ। पाँच बजेसम्मको तथ्यांकको आधारमा मोटामोटी ६५ प्रतिशतभन्दा बढी नै मत खसेको देखिन्छ।’

अधिकृत पौडेलले जिल्लामा शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भएको पनि बताए। मतपेटिका भण्डारण भइसकेपछि स्थानीय तहहरूमा निर्वाचन अधिकृतले सुरक्षा प्रमुख, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक बसेर मतगणना सुरु गर्नेबारे निर्णय गर्ने पनि उनले बताए। ‘कतै आजै पनि मतगणना सुरु हुनसक्छ, कतै भोलि शनिबारदेखि मात्र हुनसक्छ,’उनले भने। सुनसरीमा १२ स्थानीय तहमा कुल ५ लाख ३४ हजार ७ सय ६५ मतदाता छन्। सुनसरीमा १६६ मतदानस्थलमा ५८१ मतदान केन्द्र रहेको थियो।

धरानमा शनिबार बिहानदेखि मात्र मतगणना हुने

धरानमा शनिबार बिहानदेखि मात्र मतगणना शुरु हुने भएको छ। शुक्रबार मतदान सम्पन्न भए पनि राति अबेरसम्म मतपेटिका संकलन र भण्डारण गर्न समय लाग्ने भएकाले शनिबार बिहान ८ बजेदेखि मात्र मतगणना हुने भएको छ।

धरानस्थित निर्वाचन अधिकृत पुष्करराज नेपालले मतगणनाबारे बिहीबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले निर्णय गरेको थियो। उक्त बैठकले शनिबार बिहान ८ बजेदेखि गर्ने निर्णय भएको र सोही निर्णय अनुसार नै हुने पनि उनले बताए। उनले भने,‘आज राति गणना सुरु गर्न सम्भव छैन। मैले बिहान ७ बजे सबैलाई बोलाएको छुँ।’

प्रकाशित: ३१ वैशाख २०७९ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App