६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

इन्द्रावतीमा लामा की नेपाल?

निवर्तमान पार्टी प्रमुख आमने-सामने

प्रमुख दुई दल कांग्रेस र एमालेका निवर्तमान जिल्ला पार्टी प्रमुखबीचको प्रतिस्पर्धाले इन्द्रावती गाउँपालिकाको चुनावी माहौल रोचक बनेको छ। पालिका प्रमुखको नेतृत्व लिन यहाँ कांग्रेसबाट विकास लामा र एमालेबाट झम्क नेपाल चुनावी मैदानमा आमने-सामने भएका छन्।

माओवादीले प्रमुखको उम्मेदवारमा ठूलोबाबु श्रेष्ठलाई अघि सारेको छ। लामा कांग्रेसका निवर्तमान जिल्लाव सभापति हुन्। त्यस्तै नेपाल एमालेका निवर्तमान जिल्ला अध्यक्ष। लामाले गत फागुन र नेपालले माघमा मात्र नेतृत्व हस्तान्तरण गरेका थिए।

यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेसका लामा र एमालेका नेपालबीच नै हुने देखिएको छ। जिल्ला पार्टी अध्यक्ष रहेकै बखत नेपाल अघिल्लो निर्वाचनमा प्रमुखको उम्मेदवार बनेर पराजित भएका थिए। उक्त चुनावमा नेपाललाई २ सय मतले हराउँदै कांग्रेसका बंशलाल तामाङ विजयी भएका थिए।

तामाङले ५ हजार ३ सय ६५ मत ल्याउँदा नेपालले ५ हजार १ सय ६५ भोट पाएका थिए। २ हजार ५ सय ८९ मत ल्याएर माओवादी तेस्रो बनेको थियो। अमेरिकी ग्रीन कार्ड त्यागेर आएका तामाङले जिल्ला अध्यक्षलाई पराजित गरेको विषय त्यतिबेला मुलुकैभर चर्चाको विषय बनेको थियो।

एमालेको पकड मानिएको यो पालिकामा नेपालले जित्ने ठानिएको थियो। साविक भोटसिपा गाउँपालिकाको अध्यक्ष हुँदै जिल्ला एमाले र एकीकृत नेकपाको समेत नेतृत्व गरेका नेपाल र जिल्ला सभापति भएकै बखत १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बनेर पराजित लामा जिल्लामै स्थानीय तह निर्वाचनका प्रतिस्पर्धीमध्ये ‘हेभिवेट’ उम्मेदवार हुन्।

१२ वटा वडा रहेको इन्द्रावती जिल्लामा गाउँपालिकामध्ये सबैभन्दा ठूलो हो। यहाँ २५ हजार ६ सय ७० मतदाता छन्। चौतारा र मेलम्ची नगरपछि धेरै मतदाता यही छन्। बहुमत वडा जितेर पनि एमालेले अघिल्लो निर्वाचनमा प्रमुख पद गुमाएको थियो। प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेसले बाजी मारेको थियो।

साविक सात गाविस मिलेर बनेको इन्द्रावती २०५६ को मध्यावधि चुनावसम्म एमाले गडको रुपमा चिनिन्थ्यो। पुरानो गडमा यसपटक फेरी कम्युनिष्टको झण्डा फहराउने दाउमा एमाले कस्सिएर लागेको छ। कांग्रेस भने अघिल्लो चुनावको उपलब्धि जसरी पनि जोगाउने रणनीतिमा छ। माओवादी मत बढाएर प्रतिस्पर्धीभन्दा कमजोर नरहेको सन्देश दिन चाहान्छ।

यहाँ कांग्रेस एक ढिक्का छ। २०५१ को मध्यावधी निर्वाचन जितेर गृहराज्यमन्त्रीसमेत बनेका राप्रपा नेता विष्णुविक्रम थापा अहिले कांग्रेसमा छन्। उनी इन्द्रावतीकै भएकाले कांग्रेसलाई केही फाइदा छ। एमालेलाई भने पार्टी फुटले केही धक्का पुर्‍याएको छ। तर एमालेबाट फुटेर बनेको समाजवादीका यहाँका नेता, कार्यकर्ता भने अहिलेसम्म मौन छन्।

समाजवादीले यहाँ कसैसँग गठबन्धन गरेको छैन भने उम्मेदवारी पनि दिएन। यहाँ समाजवादीसँग केही सय मत रहेको अनुमान गरिँदै आएको छ। इन्द्रावतीमा राप्रपालेसमेत उम्मेदवारी दिएको छ। तर राप्रपाको मत सँधै अस्थिर रहने पहिचान स्थापित नै भइसकेको छ। त्यसैले मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस मौन समाजवादी र अस्थिर राप्रपाको मत लिने कसरतमा छन्। जुन उम्मेदवारले यी दुई पार्टीको बढीभन्दा बढी मत लिन सक्छ, उसैको पल्लाभारी हुने विश्लेषण राजनीतिक बृतमा छ।

प्रकाशित: २७ वैशाख २०७९ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App