coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दक्षिणकालीमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

काठमाडौंको दक्षिणकाली नगरपालिकामा पाँच दलीय गठबन्धनबाट कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

दक्षिणकालीमा यसअघि कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित मोहन बस्नेत पुनः नगर प्रमुखको उमेदवारमा उठेका छन्। उनले स्थानीय तहको निर्वाचन २०७४ मा ४ हजार ६ सय ९८ मत ल्याएर विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शशी शर्मा अर्यालले ४ हजार २ सय ६८ मत ल्याएका थिए।

माओवादीका उम्मेदवार सञ्जीव लामाले २ हजार ४ सय ८१ मत ल्याएका थिए। अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट कांग्रेसका उमेदवार बनेकाले कांग्रेसले जित हासिल गर्ने आधारहरू देखिएका छन्। अघिल्लो निर्वाचनमा छुट्टाछुट्टै लडेको अवस्थामा पनि कांग्रेसले ४ सय २६ मतले जितेको थियो।

माओवादीले मात्रै दुई हजारभन्दा बढी मत ल्याएकाले अब त्यो मत कांग्रेस उम्मेदवारमा जाने देखिन्छ। तर, जित्ने आधार देखिए पनि एमालेले पनि आफ्नो प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेकोले यसै भन्न सक्ने अवस्था देखिँदैन। तर यति हुँदाहुँदै पनि नगर प्रमुखका कांग्रेस उम्मेदवार मोहन बस्नेतको जित हाँसिल हुने प्रवल सम्भावना भने छ। उनले ५ वर्षसम्म गरेको काममा प्रशंसनीय रहेकाले पनि उनले यसपटक विजयी हुनसक्ने कतिपयको विष्लेषण छ। दक्षिणकालीमा गठबन्धनबाट उमेदवारी मिलाए पनि उपमेयर पनि कांग्रेसले नै पाएको छ।

स्थानीय तहको निर्वाचन २०७४ मा ४ हजार ७ सय ४९ मत ल्याएर विजयी भएकी कांग्रेसकी वसन्ती तामाङलाई नै पुनः उपप्रमुखमा उम्मेदवार बनाएको हो। तामाङकी प्रतिद्वन्द्वी एमालेकी मिरा आचार्य महर्जनले नगरको उपप्रमुखमा ४३ सय ३० मत ल्याएकी थिइन्। माओवादीबाट उपमेयरकी उम्मेदवार कमला शर्मा बोहोराले १ हजार ९ सय ३८ मत ल्याएकी थिइन्। यसबाट पनि उपमेयरमा पुनः उम्मेदवारी दिएकी तामाङले नै जित्ने निश्चित देखिएको छ।

एमालेले यसपटक दक्षिणकालीमा नगर प्रमुखको उम्मेदवारमा अघिल्ला उम्मेदवार शशी शर्मा अर्याललाई नदोहोर्‍याएर स्थानीय नेता श्रीराम आचार्यलाई उठाएको छ। दक्षिणकाली नगरपालिकामा नगर प्रमुख र उपप्रमुख र वडाहरूको समिक्षा गर्दा गठबन्धन नभए पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा देखिन्छ। स्थानीय तहको निर्वाचन २०७४ मा वडा १ मा एमाले वडा २ मा कांग्रेसले वडा अध्यक्ष सहित सबै सदस्य जितेको थियो।

वडा ३ मा वडा अध्यक्ष एमाले र बाँकी सदस्य सबै कांग्रेसले जितेको थियो। वडा ४ मा महिला सदस्यमात्रै एक पद एमालेले जितेको थियो। वडा ५ मा वडाअध्यक्ष कांग्रेसले जितेको थियो भने बाँकी सदस्य एमालेले जितेको थियो। वडा ६ मा वडाअध्यक्ष सहित सबै सदस्य एमालेले जितेको थियो। वडा ७ मा वडाध्यक्ष एमालेले जितेको थियो।

एक सदस्य कांग्रेसले जितेको थियो भने दलित महिला सदस्यमा उमेदवारी परेको थिएन। बाँकी सबै एमालेले जितेको थियो। वडा ८ मा एक सदस्य कांग्रेसले जितेको थियो भने वडाध्यक्ष सहित बाँकी सबै सदस्यमा एमालेले जितेको थियो। वडा ९ मा वडाध्यक्ष सहित सबै सदस्यमा कांग्रेले जित हासिल गरेको थियो। कुल ९ वटा बडा रहेको यो नगरपालिकामा १७ हजार भन्दा बढी मतदाता रहेका छन्।

स्थानीयत तहमा निर्वाचित भएपछि दक्षिणकाली नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने अभियानमा लागेपनि त्यो हुन भने सकेको छैन। कोभिडको महामारीका कारण कतिपय राम्रा काम गर्दा गर्दै सम्पन्न हुन नसकेको अवस्था दक्षिणकाली नगरपालिकामा पनि रहेको स्थानीयको भनाई छ।

फोहोर व्यवस्थापनका लागी आफ्नै ल्यान्डफिल साइट पनि त्यहाँ राखिएको छैन। दुईवटा केबलबार राख्ने नीति त्यहाँ देखिन्छ। वडा नम्बर १ को बोसनबाट चम्पादेवीसम्म संचालनमा आउने केबलकारको शिलान्यास भने भइसकेको छ। होटल, रिर्साटहरू निर्माण हुने र पर्यटनको आवगन वृद्धि हुनेहो भने दणिकालालीको विकास हुनसक्छ।

दक्षिणकाली भवगतीको मन्दिरमा हजारौं भक्तजनको दर्शन हुने गर्दछ। यसलाई अझ व्यवस्थित बनाउनका लागि बाटो र अन्य पूर्वाधारको आवश्यकता रहेको छ। स्थानीय तहलाई सीमामा बाँध्न कानुन बनाउने कामलाई यो नगरपालिकाले प्राथमिकता दिएको थियो। पाँच वर्षमा दलिक्षणकाली नगरपालिकाले ४३ वटा कानुन बनाएको छ। सुशासन कायम गर्दै स्रोत परिचालन गर्न आफैँलाई सीमामा राख्न कानुन आवश्यक छ। तर, निर्माण गर्न सजिलो भने छैन।

स्थानीय तहका कानुन संघीय कानुनसँग बाझिन हुँदैन। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार दफा १०२ बमोजिम गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा ऐन कानुन बनाउन सक्ने स्पष्ट उल्लेख छ। हरेक स्थानीय तहमा हेर्ने हो भने ५ वर्षमा पनि चाहिने महत्वपूर्ण कानुन बन्न सकिरहेका छैनन् जसबाट स्थानीय तह स्रोत परिचालन गरी र नतिजा दिन कमजोर बनेका छन्।

प्रकाशित: २७ वैशाख २०७९ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App