११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेलाई बिरासत जोगाउने चुनौती

यसअघिको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा नेकपा एमालेले नेपाली कांग्रेसलाई १९ हजार ६ सय मतले पराजित गरेको थियो। त्यतिबेला एमालेलाई राप्रपा नेपालले पनि सघाएको थियो। तर अहिले एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ।

एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावी मैदानमा होमिएको छ। यसपालि एमालेले २२ भन्दा बढी वडासहित महानगरपालिकामा जित हासिल गर्ने दाबी गरेको छ। २५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका केशव स्थापितलाई एमालेले मेयर उम्मेदवार बनाएको छ। उपमेयरमा सामाजिक अभियन्तासमेत रहेकी पूर्वमिस नेवाः सुनिता डंगोललाई उम्मेदवार बनाएको छ।

तर एमाले र स्थापितका लागि पहिलाको जसरी सहज जित निकाल्न भने कठिन हुने विश्लेषण हुने गरेको छ। एकातर्फ पाँचदलीय गठबन्धन र अर्कोतर्फ स्थापित आफैं अस्थिर पात्र भएका कारण एमालेका लागि यो निर्वाचन चुनौतीपूर्ण हुने देखिएको हो।

एमाले केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला कमिटीका पूर्वअध्यक्ष कृष्ण राईका अनुसार एमालेले काठमाडौं महानगरपालिकामा जित हासिल गर्ने विषयमा समस्या छैन। तर केही कठिनाइ भने रहेको उनको भनाइ छ। ‘असर गर्ने केही विषय छन् तर त्यसलाई हामीले व्यवस्थापन गरेका छौं,’ सांसद राईले भने। यसअघि राई काठमाडौं जिल्ला अध्यक्ष हुँदा विद्यासुन्दर शाक्यले महानगर मेयरमा जित हासिल गरेका थिए। ‘अहिले पनि पार्टी कमजोर छैन। सहरको भित्री क्षेत्रबाट करिबकरिब सबै मत आउने विश्वास छ, किनकि एमालेले सहरको भित्री क्षेत्रलाई चिढ्याएर कुनै पनि काम गरेको छैन। साथै, अहिले पार्टीका कार्यकर्ता र स्वतन्त्र मतदाताले पनि एमालेलाई मतदान गर्नेछन्,’ राईले भने।अहिलेको अवस्थामा एमाले उम्मेदवार नै सबैभन्दा बलियो उम्मेदवार भएको उनको दाबी छ।

असन, न्युरोड, नरदेवी, झोछें, क्षेत्रपाटी, कालिमाटी, बागबजार, त्रिपुरेश्वर, टेकुलगायत क्षेत्रमा एमालेको अवस्था राम्रो रहेको पनि राईको दाबी छ। एमालेबाट माधव नेपाल समूह अर्कै पार्टी बनाएर बाहिरिँदा र गठबन्धनले साझा उम्मेदवार उठाउँदा एमालेलाई केही घाटा पुगेको छ। ‘यसपालि हाम्रो पार्टीभित्र केही असन्तुष्टि छन् तर चुनाव लक्षित असन्तुष्टि भने होइन,’ राईले भने।

राईको भनाइलाई मेयर दाबेदारसमेत रहेका केन्द्रीय सदस्य रामवीर मानन्धर पनि स्वीकार गर्छन्। पार्टीभित्र असन्तुष्टि भएकै कारण वडा ३ का वडाध्यक्षले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट टिकट लिएर सोही पदमा उम्मेदवारी दिएको उनले बताए। ‘यसअघि राम्रो मत ल्याएका एकदुई ठुला वडामा असन्तुष्ट नेताहरू माधव नेपालको पार्टीबाट वडाध्यक्ष उठेका छन्। वडा ३, १४ र १५ मा विवाद भए पनि अहिले समाधान भइसकेको छ,’ केन्द्रीय सदस्य मानन्धरले भने।

त्यसैगरी वडा १५ को उम्मेदवार एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। वडा १६ मा पहिले कांग्रेसले जितेको थियो र १४ मा राम्रो काम गरेकी वडाध्यक्षलाई फेरि टिकट नदिएको गुनासो पार्टीमा उठेको छ। यो विषयले एमालेका लागि केही अप्ठेरो परिस्थिति निम्त्याएको बताइएको छ।

एमालेबाट प्रतिनिधित्व गर्ने वडा उम्मेदवारहरूले मेयरका उम्मेदवारलाई खासै नरुचाएको पाइएको छ। उनले विगतमा वडाध्यक्षलाई राजा र रैतीको जस्तो व्यवहार गरेको भन्दै सन्तुष्टि व्यक्त नगरे पनि चुपचाप मत मागिरहेका छन्। ‘अहिलेको अवस्थामा मेयर उम्मेदवार स्थापितबाट पहिलाको जस्तो व्यवहार हुँदैन, सबैको सहमतिमा काम गर्ने भन्नुभएको छ। अब पुरानो व्यवहार दोहोरिन्न,’ महानगर कमिटीका एक सदस्यले भने। उनका अनुसार महानगरपालिकामा २०७४ सालको तुलनामा २० हजार ९ सय ३३ मतदाता थपिएका छन्।

त्यतिबेला २ लाख ७९ हजार ३ सय ९ मतदाता रहेकामा यसपालि ३ लाख २ सय ४२ पुगेका छन्। जितहारमा नयाँ मतदातको भूमिका पनि उल्लेखनीय रहने भएकाले स्थापितका लागि त्यो विषय चुनौतीपूर्ण रहेको बताइन्छ। ‘स्थापित २५ वर्ष पुरानो उम्मेदवार हुनुहुन्छ। पहिले र अहिलेको अवस्था निकै फरक छ। सपना बाँड्दा पनि कुन पूरा हुन्छन् कुन हुँदैनन् भनेर छुट्याउने पुस्ता आइसकेका कारण पनि केही चुनौती छ,’ ती सदस्यले भने।

अहिलेको निर्वाचन पहिलेको भन्दा निकै पेचिलो हुने देखिएको छ। उम्मेदवार पनि बढेका छन्। २०७४ सालको निर्वाचनमा मेयरका लागि स्वतन्त्रसहित २८ जनाले उम्मेदवारी दिएका थिए भने २०७९ सालका लागि ५६ जना उम्मेदवार छन्। यसअघि १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएकोमा अहिले ३५ जना छन्। उपमेयरमा पनि यसपटक २०७४ सालको भन्दा बढी उम्मेदवारी देखिन्छ। २०७४ सालमा १३ जनाले उपमेयरमा उम्मेदवारी दिएकोमा यसपटक ३३ जना छन्। २०७४ सालमा उपमेयरमा ६ जना स्वतन्त्र उम्मेदवार थिए भने अहिले १८ जना छन्। यस्तो अवस्थामा एमालेका लागि मेयर र उपमेयर दुवैलाई चुनौती थपिएको छ।

मेयरका प्रत्यासी स्थापित नयाँपुराना सबै पुस्ताले आफूलाई भोट दिने दाबी गर्छन्। ‘मूलतः जनताको आधारभूत आवश्यकतामा देखिएको समस्या समाधानको कुरा छ, सुन्दर सहर निर्माण, बाटोघाटो, सडक, पुलपुलेसालगायत पूर्वाधार बनाउने कार्य, फोहोर व्यवस्थापन, खानेपानी समस्या निवारण, स्मार्ट सिटीलगायत धेरै विषय छन्। त्यस्तै सम्पदाको विषय पनि प्रमुख हो। एमालेसँग यसको भिजन, मिसन र गोल तीनवटै चिज छ, जुन अरूसँगै छैन,’ स्थापित भने, ‘हामी अहिले पनि घरदैलो अभियानमा छौं। निर्वाचन जित्नेमा कुनै शंका छैन, कति मतान्तरले जित्ने भन्ने मात्रै हो।’

उनले नयाँ मतादाताले पनि आफूलाई नै भोट हाल्ने विश्वास व्यक्त गरे। ‘महानगर बनाउने सयौं भिजन तयार छन्। त्यसैले मलाई काठमाडौंको योजना बनाएर र तत्काल कार्यान्वयन गर्न कुनै समस्या छैन,’ उनले भने। आफू पहिलोपटक मेयर हुँदा जन्मिएका बच्चा अहिले मतदाता बनिसकेको बताउने स्थापितले ती नयाँ मतदाताले एमाले र आफूलाई मतदान गर्नेमा ढुक्क देखिए। ‘वैशाख ३० गते हुने निर्वाचनमा उनीहरूले सूर्य चिह्नमै भोट हाल्नेछन्। ती युवाहरूको मत खेर जान दिइनेछैन। युवाहरूको योजनाअनुसार महानगरपालिकाको विकास गर्नेछु, स्मार्ट काठमाडौं बनाउने प्रण गर्छु,’ उनले भने। सहरको सुरक्षाका लागि एकीकृत सुरक्षा प्रणालीको विकासदेखि शिक्षा तथा स्वास्थ्यमा गुणात्मक सुधार ल्याउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उपमेयरका लागि पनि एमालेले युवा पुस्ताको प्रतिनिधित्व गर्दै सुनीता डंगोललाई उठाएको छ। एमालेका लागि अर्को एउटा सकारात्मक पक्ष भनेको डंगोलको उम्मेदवारी पनि भएका कारण मत परिणाम आफ्नो पक्षमा हुने जनाइएको छ। पूर्व मिस नेवाः र सामाजिक अभियन्ता रहेकी कारण उनी नेवार समुदायमा भिजेका पात्र भएकाले उनका लागि सहज हुने अनुमान गरिएको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App