४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन २०७९ः कांग्रेससँग गठबन्धनकै दुई दल असन्तुष्ट

देशभर पाँच दलीय गठबन्धन हुने भनिए पनि सोचेजस्तो तालेमेल नहुँदा गठबन्धन दलहरूबीच दरार उत्पन्न भएको छ।

चितवनको भरतपुर महानगरपालिकामा कुन पार्टीको उम्मेदवार हुने भन्ने विषयमा सबैभन्दा बढी छलफल र बहसले उत्पन्न गराएको दरार निर्वाचन हुने पाँच दिनअघिसम्म उस्तै छ । केही दिनअघि भरतपुरमा भएको गठबन्धन दलहरूका तर्फबाट गरिएको संयुक्त आम सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले त्यसलाई झनै पुष्टि गर्‍यो।

माओवादीको आन्तरिक बैठक र छलफलहरूमा कांग्रेसले साह्रै हेपेको तर सम्झौता गरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका दाहालले कांग्रेस भरतपुरमा एक्लै हिँड्न खोजेको र त्यो सकारात्मक बाटो नभएको बताएका थिए।

भरतपुरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई मनाउन नसकेको र कांग्रेसभित्रै दुई धार रहेको अवस्थामा गठबन्धन दलहरूले कांग्रेसको आन्तरिक समस्याका कारण आफूहरू मर्कामा परेको गुनासो गरिरहेका छन् । यो क्रम देशभर नै रहेकाले कांग्रेसप्रति माओवादी सकारात्मक बन्न सकिरहेको छैन । ‘एमाले विभाजन भएको अवस्थामा देशभर एक्लै चुनाव जित्न सकिन्छ भन्ने मानसिकतामा कांग्रेस पुग्यो ।

आवश्यक परेको स्थानमा मात्रै मुस्किलले गठबन्धन गर्‍यो । त्यो पनि जहाँ आफूले मेयर पाउँछ, त्यहाँ मात्रै गबठन्धन गरेको छ,’ माओवादी केन्द्रका एक नेताले भने । ती नेताका अनुसार गठबन्धनभित्रको सबैभन्दा ठुलो दल कांग्रेसभित्र पाँच दलभित्र मात्रै गठबन्धन गर्ने विषयमा धेरै ठुलो प्रश्न उठ्यो, जसले गर्दा कांग्रेसभित्रबाट गठबन्धन दल माओवादी र नेकपा एकीकृत समाजवादी (नेकपा एस) विरुद्ध बागी उम्मेदवार खडा भए ।

‘२०७८ चैत १५ गते केन्द्रीय कमिटीले पाँच दलभित्र मात्रै चुनावी तालमेल गर्ने नीतिगत निर्णय गर्‍यो तर त्यस दिन कांग्रेस केन्द्रीय समितिले ८ बुँदे निर्णयको ६ नम्बरमा स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीति लियो ।

त्यतिबेला नै हामीले धोका हुने महसुस गरेका थियौं र हाम्रा नेताहरूलाई कांग्रेसले धोका दिने सम्भावना बढ्यो । ध्यान दिनुहोला भनेका थियौं, अहिले त्यही भयो,’ माओवादीका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार भरतपुरमै तालमेल गरिएको छ तर त्यही सकस देखिएको छ । पोखरामा तालमेल गरिएको छ, त्यही नै सकस देखिएको छ । ‘कांग्रेस इमानदार हुन निकै कठिन छ,’ उनले भने । भरतपुरको सभामा पनि माओवादी अध्यक्ष दाहालले त्यहीखालको अभिव्यक्ति दिएका थिए।

कांग्रेस इमानदार हुने संकेत नपाएकै कारण आफूले विगतमा कांग्रेससँगको गठबन्धन टुटाउनुपरेको दाहालको अभिव्यक्ति थियो । अहिले पनि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा कांग्रेसले सहमति उल्लंघन गरेको माओवादी बुझाइ छ ।

त्यसैगरी देशभर सत्तारूढ गठबन्धनमा हुँदा नेकपा एस अध्यक्ष माधवकुमार नेपालको चुनावी क्षेत्रमा भने गठबन्धन हुन सकेन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरि चुनावी तालमेलको अन्तिम कसरतमा गठबन्धनका दलहरू सक्रिय भए पनि अध्यक्ष नेपालको निर्वाचन क्षेत्र कागेश्वरी मनोहरि नगरपालिकामा भने गठबन्धनको अन्तिम कसरत काम लागेन। त्यहाँ अहिले त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको । त्यहाँ गठबन्धन हुने अवस्था देखिएको छैन । पुरानै उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्। समग्रमा माधवकुमार नेपालले आफ्नो दललाई कम स्थान दिएकोमा असन्तुष्टि व्यक्त गरिसकेका छन्।  

नेपालले लामो समय आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन कायम राख्ने निकै प्रयास गरे पनि कांग्रेस र माओवादीले अलग्गै गठबन्धन गरेपछि अहिले त्रिपक्षीय भिडन्तको चरणमा छ । गठबन्धन दलहरूले तालमेल हुन नसकेको स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी केन्द्रमा सहमति गरेपछि नेकपा एसले कागेश्वरी मनोहरामा कांग्रेस र माओवादीसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने भयो । दुई दल एक ठाउँमा उभिए, नेकपा एस एक्लै पर्‍यो ।

त्यो कुरा अध्यक्ष नेपालका लागि निकै पेचिलो बन्यो । २०७४ सालको निर्वाचनमा कागेश्वरी मनोहराकै लागि नेपालले बुढानीलकण्ठ नगरपालिकालाई ‘कुर्बानी’ गरेका थिए। अर्थात्, त्यतिबेला नेपालनिकट नेताले पाएको टिकट खोसेर कागेश्वरी मनोहरामा ल्याएका थिए। अहिले कांग्रेस र माओवादी दुवैले नेपालको आग्रहलाई अस्वीकार गरे । खासगरी माधव नेपाललाई देशभर नै कांग्रेस र माओवादी मिलेर एक्लो बनाइरहेका छन्।

त्यति मात्र होइन, माधव नेपालकै कारण सरकार सत्ता सम्हालिरहेका कांग्रेस–माओवादी दुवै मिलेर स्थानीय निर्वाचनमा पोखराबाहेक सबै ठाउँमा पाखा लगाउने कोसिस गरे। पोखरा महानगरपालिकामा पनि कांग्रेसका नेता–कार्यकर्ताहरूले विरोध गरिरहेको अवस्था छ। केन्द्रमा पाँच दलीय गठबन्धन भने पनि स्थानीय तहमा कांग्रेस–माओवादीको सहकार्यपछि नेपाल चिढिएका छन् । उनले आइतबार पोखरामा त्यसको छनक दिए । ‘कांग्रेस एक्लै हिँड्न खोजे केपी ओलीको जस्तै हालतमा पुग्नेछ,’ नेपालले चेतावनीयुक्त भाषामा भनेका थिए।

पोखराका कांग्रेस नेताकार्यकर्ताले नेकपा एसको संगठन कमजोर रहेको र मतदाता पनि कम भएका कारण जिताउन कठिन हुने भएकाले एसलाई मेयर दिन नहुने धारणा राखेका थिए । अहिले पनि पोखरामा त्यसको आभास भइरहेको नेपाललाई रिपोर्टिङ रहेको छ । ‘खासगरी कांग्रेस र माओवादी मिलेर हामीलाई पन्छाउन खोजे । कांग्रेसले माओवादीको मत मिलाउँदा आफू सहजै जित्न सकिने अनुमान लगायो र नेकपा एसलाई उपेक्षा गर्‍यो,’ नेकपा एसका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार जेठ १ पछि गठबन्धनमा नयाँ किसिमको बहस सुरु हुनेछ र त्यसले नेपालको राजनीतिमा नयाँ तरंग पनि ल्याउन सक्नेछ ।

गठबन्धन दलको बैठकमा अघिल्लो निर्वाचनमा जहाँजहाँ अघिल्लोपटक निर्वाचन जितेका छन्, तिनीहरूलाई यथावत् छाडेर एमालेले जितेको स्थानमा भागबन्डासहित तालमेल गर्ने सहमति गरिएको थियो । कांग्रेस र माओवादीले भने त्यसलाई शतप्रतिशतले कार्यान्यवन गरेको तर नेकपा एसको हकमा भने कार्यान्वयन नभएको गुनासो गरेका छन् । उता जसपा र राजमोले पनि स्थान विशेषलाई लिएर गठबन्ध टुटेको घोषणा गरिसकेको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App