८ वैशाख २०८१ शनिबार
राजनीति

‘उमेर परिपक्वताको परिभाषा होइन’

उमेरले झण्डै तेस्रो दशक मात्र छोएको छ। राजनीतिक अनुभव उमेरले नै पुष्टि गर्छ। यो उमेरमा युवा जोस र जाँगर उर्वर हुनु स्वभाविक हो।    

तर पनि औपचारिक शिक्षा र उमेरगत भोगाइले उनलाई साथ दिएको छ। सायद त्यही भएर होला उनी स्थानिय निर्वाचनमा उम्मेदवार भएर मत माग्दै छिन्। उनको नाम हो, रजनी थापा। उनले काठमाडौ महानगरसँगै जोडिएको उत्तरमा पर्ने टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएकी छिन्। देश निर्वाचनमय भइरहेका बेला सबै उम्मेदवारले आ–आफ्ना एजेण्डा आफ्ना मतदाता सामु प्रस्तुत गरिरहेका छन्। तिनै उम्मेदवार मध्येकी एक हुन्, रजनी।  

उनी आफूलाई सबैभन्दा कम उमेरकी मेयर उम्मेदवार भनेर चिनाउँछिन्। कम उमेरले परिपक्वताको परिभाषा नबोक्ने रजनीको जिकीर छ। ‘उमेर परिपक्वताको परिभाषा होइन। किनभने म एउटा महिला हो। छोरी मान्छे भनेको सानै उमेरदेखि परिपक्व हुन्छ। म नर्स पढेर आको दुख सुख देख्या छु। विभिन्न संघसंस्थामा काम गरेको छु। भोगेको छु’ उनी भन्छिन्, ‘बरु मभन्दा धेरै उमेर हुनेले म जतिको भोग्नु भएकाे छ जस्तो लाग्दैन।’

रजनीको विगत खोतल्ने हो भने उनी पीसीएल नर्स हुन्। कानूनमा स्नातक गरेकी छन्। राजनीतिशास्त्र, जनप्रशासनमा स्नात्तोकरसम्मको अध्ययन गरेकी छन्। एमबीएको नतिजाको पर्खाइमा रहेकी रजनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधि गरिरहेकी छन्। सीटीईभीटीको नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेकी थापाले नेपाली कांग्रेस टोखा नगरसमितिको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन्। यस्तै, महिला संघ टोखा नगर सभापति तथा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागको प्रशिक्षकको रूपमा कामको अनुभव पनि थापासँग छ। विभिन्न विषयमा अध्ययन र कार्यगत अनुभव लिएकी रजनी टोखा नगरपालिकाको मेयर किन बन्न चाहन्छिन त?  

‘मैले अन्य काम गर्दा जनताको सेवा थोरै ढङ्गले गर्न पाउँन्थे। राजनीति यस्तो ठूलो क्षेत्र हो कि मैले एउटा राम्रो एजेण्डा लिएर आउँदा, त्यो अजेण्डा सबैसँग राख्छु र त्यसले सबैलाई फाइदा हुन्छ। तपाईँ आँफै भन्नुस् थोरै व्यक्तिको सेवामा लाग्ने कि धेरै व्यक्तिको सेवामा लाग्ने’, रजनीले प्रष्ट्याइन्।

छोरीलाई पहिलो स्थानमा राखेको परिवारमा जन्मेकी रजनी नर्सिङको विद्यार्थी रहँदा १५/१६ वर्षको उमेरमा पहिलो पटक घर बाहिर गइन्। बोल्न असहज मान्दै उनले भनिन्, ‘पहिलो रातमै एउटा यस्तो केस आयो, बुवाले छोरीको रेप गर्नुभयो रे। डाक्टरको मुखबाट त्यो कुरा सुन्दै गर्दा म एकदमै टुटेकी थिएँ।’

राजनीतिप्रति आकर्षण बढ्नुको कारण खोतल्दै रजनीले सुनाइन्, ‘नर्सहरुले डेलिभरी केस सिक्ने क्रममा मैले पहिलो पटक छोरी जन्मेको डेलिभरी गरेकी थिएँ। हाम्रो घरमा छोरी जन्मे लक्ष्मी आयो भन्ने गरिन्छ। मैले पनि त्यही सोचेर हल्ला गरेँ। तर हल्ला गरेको आधी घण्टापछि त्यहाँ भएका हजुरबुवा हजुरआमा पनि गायब, हुँदा हुँदा बुवा पनि गायब हुनुभयो।’  

त्यस दिनको घटनालाई यसरी सम्झिन्छिन् उनी, ‘घर फर्किने बेला बच्चा हेरेको त बच्चालाई हिटर मुनि सुताइएको थियो। बच्चाको आधा अनुहार डढेको थियो। जुन कुरा मैले सुन्न र सोच्न पनि सक्दिनँ एउटा आमाले संसार छोड्न सक्छ एउटा बच्चाको लागि, तर त्यो आमाले बच्चा छोडेको पाएँ। त्यो दिन म टुटेँ र त्यही दिन उठेँ पनि।’

रजनीले थपिन्, ‘त्यसपछि हरेक ठाउँमा आवाज उठाएँ। घरमा बुबालाई सोधेँ यसको सुधारका लागि के गर्नु गर्नुपर्छ। बुबाले भन्नुभयो तिमीले सर्वप्रथम सकारात्मक भएर समाज सेवा गर्नुपर्छ। त्यहाँबाट समाजसेवामा लागे। त्यसपछि धेरै सेवा गर्न पाउने भएका कारण राजनीति रोजें।’

रजनीले २०७४ को स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखमा आफ्नो उम्मेदवारी दिएकी थिइन्। ज्ञानमायाँ डंगोलसँग ५१ मतको झिनो अन्तरले पराजित भइन्। पराजित भएपश्चात पनि निरन्तर राजनीतिक क्रियाकलापमा सक्रिय भएको उनले बताइन्। ‘त्यति बेला मन जितेको थिएँ, मत जित्न बाँकी थियो। विगत पाँच वर्ष मैले विभिन्न कामहरु गरेको छु र टोखा नगरपालिकाको हरेक घरघरमा पुगेको छु’ आफूले गरेको समाज सेवा स्मरण गर्दै उनी भन्छिन्, ‘उहाँहरुको सुख दुखमा उभिएकी छु। उहाँहरुको आवाज बनेर म धेरै ठाउँमा उभिएकी छु। हिजोका कर्मलाई लिएर आज मेयरमा उम्मेदवार भएकी छु।’

टोखामा अपुग र अधुरा विकास निर्माणका कामलाई निरन्तरता, सुन्दर र सफा टोखा, भ्रष्टाचार मुक्त टोखा, शिक्षा, स्वास्थ्यमा निम्न वर्गका मानिसको पहुँच पुर्‍याउने लक्ष्य रजनीले लिएकी छन्। ‘मैले गर्ने विकास यस्तो विकास हुनेछ। जुन आँखाले दीर्घकालिन देख्न पाउँनेछ। कानले सधैँभरि त्यो विकासले गरेको फाइदा सुन्न पाउनेछ र जीवनभर सहज र सरल तरिकाले बाँच्नका निमित्त चाहिने पूर्वाधार टोखा नगरपालिकाले नगरबासीलाई दिनेछ’, आफ्नो सपना यसरी सुनाइन् रजनीले।

उनीसँगै टोखामा १४ जनाले मेयरमा उम्मेदवारी दिएका छन्। तथापी आफ्नो प्रतिस्पर्धी कोही नरहेको रजनीको दाबी छ। ‘यस पटक मेरो मुख्य प्रतिस्प्रर्धा म आफैसँग हुन्छ किनभने हिजो म उपमेयरमा लड्दै गर्दा जम्मा ५१ मतले पराजित भएकी थिएँ। र आज त्यो ५१ मतका अगाडि कम्तिमा पनि चार अंक थप्ने मेरो योजना छ।’

प्रकाशित: २६ वैशाख २०७९ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App