गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कसैलाई पनि विस्थापित हुनु नपर्ने बताएका छन्। मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा सरकार प्रतिबद्ध रहेपनि त्यस क्षेत्रका जनतालाई विस्थापित नगराइ आयोजना अगाडी बढाइने गृहमन्त्री खाँणले बताएका हुन्।
बुटवल १७ मा रहेको मुक्तेश्वर मन्दिरमा आज वैदिक परम्परा अनुरुप पूजा अर्चना गरेपछि भएको कार्यक्रममा खाँणले जनतालाई घरबार बिहिन बनाउन नहुँने भन्दै उचित पुनस्थापनाको व्यवस्था पनि गरिने बताए। देश विकासमा सबै जातजाती भाषा, धर्म, संस्कृतिको समान महत्व हुने भन्दै उनले एकले अर्कालाई सम्मान गर्दै राष्ट्र हितका लागि हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए।
‘धर्म, जातजाती, लिङ्ग, भाषा, क्षेत्रीयताको आधारमा गरिने राजनीतिले समाजलाई विभाजन गर्छ त्यसैले एकले अर्काको अस्तित्व स्वीकार गरेर सम्मानका साथ अगाडी बढ्नु पर्छ’ गृहमन्त्री खाँणले भने। गृहमन्त्री खाँणले वैशाख ३० को निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी गरीएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह पनि गरे।
‘निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध छ। सिमित साधन श्रोतको उपयोग गरेर निर्वाचन सुरक्षाको प्रबन्ध गर्न सुरक्षा निकायर प्रशासन तयारी अवस्थामा छन’ गृहमन्त्री खाँणले भने।
प्रकाशित: २६ वैशाख २०७९ १०:१३ सोमबार