५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

झलनाथ खनालको क्षेत्रमा चुनावी सरगर्मी: सांसद र मेयरबीच नेतृत्वको टक्कर

इलामको सूर्याेदय नगरपालिकाका मेयरका उम्मेदवार काजीमान कागते र अर्का उम्मेदवार रणबहादुर राई।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको नेतृत्व कसको हातमा पुग्ला भन्नेमा अहिले जिल्लाभित्र र बाहिरसमेत चौतर्फी चासो छ।

सूर्याेदयमा खनालकै पूर्वपार्टी नेकपा (एमाले) आफ्नो विरासत कायम राख्न प्रयत्नशील छ भने त्यसैबाट फुटेर बनेको नयाँ दल नेकपा (एस) चाहि नेपाली कांग्रेससमेतको सहयोगमा एमालेलाई नै पाखा लगाएर आफ्नो ‘अस्तित्व’ बचाउने दाउमा छ।

जिल्लाका स्थानीय तहमध्ये नेकपा (एस)को सबैभन्दा बढी प्रभाव रहेको क्षेत्र मानिएको सूर्याेदयको नेतृत्व हत्याउन अहिले निवर्तमान सांसद, सांसदका उम्मेदवार, निवर्तमान मेयर र उपमेयर नै होडबाजीमा छन्।

२०७४ सालको निर्वाचनमा एमालेबाटै मेयरमा निर्वाचित रणबहादुर राई नेकपा (एस) प्रवेश गरेपछि अहिले सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार छन्। उनका मुख्य प्रतिस्पर्धीका रूपमा छन्, प्रदेश नम्बर १ को सभासद्बाट राजीनामा दिएका एमालेका काजीमान कागते।

एमालेबाटै चुनाव जितेकी निवर्तमान उपमेयर दुर्गादेवी भट्टराई पुनः एमालेको तर्फबाट उपमेयर उम्मेदवार छिन्। गठबन्धनको तर्फबाट कांग्रेसका दुर्गाकुमार बराल उपमेयरको उम्मेदवार छन्। बराल कांग्रेसका अगुवा नेता हुन्। उनी २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा चाहि अहिलेका मेयर उम्मेदवार कागतेसँगै पराजित भएका थिए।

एमाले विभाजन भएपछि मेयर राईसहितका ५७ जनप्रतिनिधि नेकपा (एस)मा प्रवेश गरे। नेता खनालनिकट मानिने राईसहित ठूलो संख्याका जनप्रतिनिधि नयाँ दलमा गएपछि सूर्याेदय एमालेलाई जिल्लामै सबैभन्दा बढी ‘धक्का’ लागेको स्थानीय तह बन्यो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘हेभिवेट’ नेता खनालको प्रभाव र सूर्याेदय नगरको मेयरका रूपमा आएका राईले गरेका दर्जनौं नयाँ अवधारणासहितका कामले नेकपा (एस)ले यहाँ बढी प्रभाव पार्न सफल भएको स्थानीय नेता–कार्यकर्ताको विश्लेषण छ। पार्टी विभाजन भइ नयाँ बन्ने बित्तिकैदेखि मेयर राईसहितका जनप्रतिनिधि वडा–वडामा पुगेर पार्टी विस्तारमा लागेका थिए।

उनीहरूले एमालेमात्र नभई कांग्रेसलगायत अन्य दलका नेता–कार्यकर्तासमेत आफ्नो पार्टीमा प्रवेश गराए। राईले नगरको शिक्षा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा नवीन अवधारणासाथ काम गरेर चर्चा कमाएका छन्।

‘अब नयाँ योजनासहित अहिलेसम्म गरिआएका कामलाई नै निरन्तरता दिन पुनः म मेयर उम्मेदवार भएको छु,’ राई भन्छन्, ‘बितेको ५ वर्षमा हाम्रो नेतृत्वले सूर्योदयमा सबैथोक गर्न त सकेको छैन तर धेरैथोक गरेको सबैले देख्नुभएकै छ।’ उनले आउँदो ५ वर्षमा सूर्याेदयलाई समृद्ध नगरका रूपमा विकास गर्ने आधार तयार गर्नेगरी आफूले योजना बनाएको बताए।

नेकपा (एस)का जिल्ला अध्यक्ष भक्त केसी आउँदो ३० गतेको निर्वाचनमा सूर्याेदय नगरमा आफ्ना उम्मेदवार विजयी हुने दाबी गर्छन्। ‘सूर्याेदयका जनप्रतिनिधिले यसअघि पनि राम्रा काम गरेकाले पुनः मतदाताले उहाँहरूलाई मौका दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘अहिले कांग्रेससहितको गठबन्धन पनि भएकाले हाम्रा उम्मेदवारले नेतृत्व लिनुहुन्छ भन्ने लाग्छ।’

उनले सूर्याेदयमा नेकपा (एस)को संगठन राम्रो बनेको दाबी पनि गरे। एमालेबाट मेयर उम्मेदवार बनेका काजीमान कागते सूर्याेदय नगरका सबैजसो घरसँग परिचित नेता मानिन्छन्। तत्कालीन कन्याम गाउँ विकास समितिको वडाध्यक्षदेखि उपाध्यक्ष भएर लामो समय कार्यबाहक अध्यक्षकै भूमिका निर्वाह गरेका कागते नगरभरका सर्वसाधारणसँग भिजेका नेताका रूपमा चिनिन्छन्।

अधिकतर किसान चियामा आबद्ध रहेको सूर्याेदय नगरका उनी पनि अगुवा चिया किसान नै हुन्। केही वर्षअघि राष्ट्रिय चिया तथा कर्फी विकास बोर्डको सदस्य भएका बेला उनले किसानका समस्या समाधानमा महत्वपूर्ण योगदान गरेकाले पनि उनी ती किसानबीच अहिलेसम्म प्रिय बनेको किसान नै बताउँछन्।

‘देशले यहाँको चिया, चियाको महत्व र किसानका समस्यामा चासै नगरेका बेला काजीमानले आफूले सकेजति प्रयास गर्नुभएको हामीलाई थाहा छ,’ सूर्याेदय नगरपालिका–१० का एक किसान भन्छन्, ‘हुन त म काजीमान दाइको पार्टीको मान्छे होइन तर म र मेरो परिवारले भोट चाहिँ उहाँलाई नै हाल्नेगरी गुन लगाउनुभएको छ।’ साधारण जीवनशैली अपनाउने उम्मेदवार काजीमानको बोलीचाली, लबज र मतदाताप्रतिको लगाबले पनि उनलाई प्रिय मान्ने मतदाताको जमात सूर्याेदयमा सानो छैन।

‘मलाई पार्टीले र यहाँका मतदाताले तैंले सांसद छाडेर सूर्याेदयको मेयर भएर हामीलाई सहयोग गर्नुपर्छ भनेर उम्मेदवार बनाउनुभएको हो,’ कागतेले भने, ‘म पार्टीको सिपाही र मेरा हजारौं मतदाताको सेवक हुँ। ती मतदाता र मेरो पार्टीले जहाँ आवश्यक देख्यो, मैले त्यहाँ जानुपर्छ र यसरी अह«ाउँदा मेयरमात्र होइन, वडा सदस्यमा बस्न पनि मलाई कुनै समस्या छैन।’

उनले सूर्याेदयको प्रत्येक टोल र घर आफूले पहिलेदेखि नै चहारिसकेकाले सूर्याेदयको मुहार फेर्ने योजना लिएर मतदातामाझ गएको बताए। एमाले जिल्ला सचिव उमेश गुरुङ सूर्याेदय नगरमा एमालेको विजय सुनिश्चित रहेको दाबी गर्छन्।

‘सूर्याेदय नगर एमालेको आधारभूमि नै हो। पार्टीको संगठन सूर्योदयको टोल–टोलमा छ, ग्राउन्ड लेभलका मतदाता सबै एमालेकै हुनुहुन्छ,’ गुरुङले भने, ‘मेयर उम्मेदवार काजीमान कागते आफैं पनि भुइँसम्म बुझेको व्यक्ति र मतदाताले राम्रोसँग चिनेको नेता भएकाले हामीलाई सूर्याेदयमा नेतृत्व लिन कुनै समस्या छैन।’

गुरुङले यसअघिका जनप्रतिनिधिलाई जिताउने पनि एमालेकै मतदाता भएको र केही नेता ‘अवसरका लागि’ अर्काे पार्टीमा जाँदैमा एमालेलाई असर नपर्ने बताए। मेयरका उम्मेदवारद्वय राई र कागते आफ्नोमात्र नभइ अन्य दलका मतदाताबाटसमेत मत ‘चोर्न’ सक्ने क्षमता भएका नेता हुन्। काजीमान पहिल्यैदेखि चिनिएका नेता थिए, रणबहादुर मेयर भएपछि उनका कामले चिनिए।

‘२०७४ को चुनाव लड्दा आरबी (रणबहादुर)लाई नगरमा कसैले चिन्दैनथे तर उनी विजयी भएपछि सबैले चिन्नेगरी काम गरेका छन्,’ स्थानीय एक बुद्धिजीवी अगुवा भन्छन्, ‘काजीमान कागते चाहिँ ०७४ कै चुनावदेखि अहिलेसम्म विपक्षी दलका मतदातासमेतले सूर्याेदयको मेयरकै रूपमा खोजिरहेका लोकप्रिय व्यक्ति भएकाले यो पटकको विजय कसको पक्षमा जान्छ भनेर आँकलन गर्नसक्ने अवस्था छैन।’

०७४ को निर्वाचनमा सूर्याेदय नगरको मेयरमा एमालेका राईले १२ हजार ९ सय १९ र निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रेमलाल राईले १० हजार ३ सय २९ मत ल्याएका थिए। पूर्वीपहाडकै ठूलो सूर्याेदय नगरपालिकामा २१ हजार ९ सय ३७ महिला र २३ हजार २ सय ५७ पुरुष गरी ४५ हजार १ सय ९४ मतदाता छन्। अघिल्लो निर्वाचनभन्दा यो पटक मतदाताको संख्या बढेको छ।

प्रकाशित: २६ वैशाख २०७९ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App