२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अधिकृतकाे जागिर छाडेर वडाध्यक्ष उम्मेदवार

अधिकृतको जागिर छाडेर वडाध्यक्षको उम्मेदवार बनेका इलामको सूर्याेदय नगरपालिका–१३ का तीर्थराज आचार्य।

अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले सूर्याेदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

आचार्य आइतबारेस्थित मेची आयुर्वेद अञ्चल अस्पतालको वरिष्ठ कविराज निरीक्षक अधिकृत (सातौं) पदमा कार्यरत थिए। ‘समाजसेवा गर्ने चाहना पहिल्यैदेखि थियो र सकेसम्म गरिरहेको पनि छु,’ उनले भने, ‘अबचाहिं जागिर नै छाडेर सेवा गर्ने बाटोमा लागेको छु।’ उनले २०५८ सालमा वैद्य (चौथो तह)बाट जागिर सुरु गरेका थिए।

सूर्याेदय नगरपालिका १३, लक्ष्मीपुर नै घर भएका आचार्यले नेकपा (माओवादी) केन्द्रबाट उम्मेदवारी दिएका हुन्। ‘बिरामीको उपचार गर्दा पनि सेवा त भयो होला तर मलाई त्यसमा मात्रै चित्त बुझेन, यहाँका किसानको समस्या देखेर दिनहुँ मन कुँडियो,’ उनले भने, ‘अबचाहिं पूर्ण रूपमा गाउँ र किसानको सेवामा लाग्ने अठोट गरेको छु।’

किसानले बालीनालीमा मलजल नपाएको, दुःखले उत्पादन गरेको बाली बेच्न नपाई बारीमै कुहिएकोजस्ता समस्याले आफूलाई उनीहरूको सेवामा लाग्न प्रेरित गरेको आचार्य बताउँछन्। ‘म राजनीति गर्न, राजनीतिको ठूलो खेलाडी बन्न वडाध्यक्षको उम्मेदवार भएको होइन,’ उनले सुनाए, ‘वडाका किसान र व्यवसायीको समस्या समाधान गरिदिन पाए मेरो सपना पूरा हुनेछ।’

माओवादी नेता गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री हुँदा उनको सचिवालयमा रहेका आचार्यले देशको स्वास्थ्य अवस्थाबारे त्यतिबेला बुझ्ने मौका पाए। उनी आयुर्वेद स्वास्थ्यकर्मीको छाता संगठन नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा महासचिव, उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष समेत बने। उनले उम्मेदवारी दिएको वडा १३ मा माओवादी केन्द्रसँग नेकपा (एकीकृत समाजवादी)को तालमेल छ। नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै चुनावी मैदानमा छन्। ‘मलाई यहाँका मतदाताले माया गरेर जिताउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।

प्रकाशित: २६ वैशाख २०७९ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App