१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘चुनाव जितेपछि कसैले पनि गद्धारी नगरोस्’

बाँकेको राप्ती सोनारी ४ बैजापुरमा चुनावी गफ चुट्दै गरेका स्थानीय। तस्वीर: अर्जुन ओली,नागरिक

स्थानीय निर्वाचन नजिक आइरहँदा ‘कस्तो व्यक्तिलाई छान्ने?’ भनेर स्थानीय ६८ वर्षीय खलबहादुर भण्डारीको मनमा अचेल अनेक प्रश्न उठिरहन्छ। अहिलेसम्म धेरै जना उम्मेदवार घरमा आएर भोट मागे पनि कस्तो उम्मेदवारलाई जिताउने भन्ने सोच्न भ्याएका छैनन्।

‘कसलाई भोट हाल्ने भनेर सोच्न भ्याएको छैन, तर जसले विकास गर्न सक्छ, त्यसलाई नै भोट हाल्ने विचार गरेको छु,’ नागरिकसँग उनले भने। राप्ती सोनारी गाउँपालिकामा यसपटक कांग्रेस, माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा हुने उनको बुझाइ छ।

राप्ती सोनारी भौगोलिक रूपले ठूलो र टाढा रहेको गाउँपालिका हो। आसन्न निर्वाचनका लागि कांग्रेसबाट तप्तबहादुर पौडेल, नेकपा (माओवादी केन्द्र)का पट्टु थारू, नेकपा एमालेका रामदास थारू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भुपेन्द्र ओलीलगायत उम्मेदवार अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्।

कुल ९ वटा वडा रहेको उक्त गाउँपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्रीसहित ५ वटा वडा जितेको थियो। यसपटक चुनावी प्रतिस्पर्धा कांग्रेस, माओवादी केन्द्र र एमालेबीच हुने देखिए पनि कसले जित्छ भन्नेमा अहिले नै एकिन गर्न गाह्रो भएको स्थानीय बताउँछन्।

राप्ती सोनारी ४ बैजापुरका स्थानीय खलबहादुर विगतमा गाउँपालिका अध्यक्षले अगाडि बढाएका विकास योजनालाई निरन्तरता दिन सक्ने व्यक्ति अब निर्वाचित भएर आउनुपर्ने तर्क गर्छन्। ‘हाम्रो लागि त लाहुरामले पनि राम्रै काम गर्नुभएको थियो, उहाँले टिकट नपाए पनि अब जितेर आउने गाउँपालिका अध्यक्षले विकासका कामलाई निरन्तरता दिनुपर्यो,’ उनले थपे।

राप्ती सोनारी गाउँपालिकालाई राप्ती नदीले बीचबाट अलग गरिदिएको छ। स्थानीयका अनुसार राप्तीपारि माओवादीको बलियो पकड मानिन्छ भने राप्तीवारि क्षेत्रमा कांग्रेसको जनाधार बलियो छ। राप्तीपारि क्षेत्रमा विशेषगरी थारु समुदाय र राप्तीवारि पहाडी समुदायको बढी बसोबास छ। हरेक चुनावमा थारू मतदाता निर्णायक मानिन्छन्। राप्तीपारि र राप्तीवारि दुवै क्षेत्रमा एमालेले पनि आफ्नो बलियो उपस्थिति देखाएको छ।

२०७४ को निर्वाचनमा दोस्रो स्थानमा आएको एमाले यसपटक जित्ने दाउमा छ। कांग्रेस आफ्नो पुरानै विरासत जोगाउने रणनीतिमा छ भने विगतमा तेस्रो स्थानमा आएको माओवादी केन्द्र पनि माथि उक्लिने प्रयासमा छ। २०७४ को निर्वाचनमा हारेका एमालेका तुलसीराम थारूले यसपटक टिकट पाएनन् भने २०७४ को निर्वाचन हारेका पट्टुलाई माओवादी केन्द्रले यसपटक पुनः उम्मेदवार बनाएको छ। माओवादी नेता पट्टु २०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट सभासद् भएका थिए।

निर्वाचनका सन्दर्भमा खलबहादुरले भनेझै राप्ती सोनारी ४ का अर्का स्थानीय मनिराम थारूको बुझाइ पनि उस्तै छ। राप्ती सोनारीमा यसपटक मुख्य प्रतिस्पर्धा कांग्रेस, माओवादी केन्द्र र एमाले बीच नै हुने ठोकुवा गर्छन् उनी। ‘अहिले चर्चामा कांग्रेसका तप्त पौडेल, माओवादीका पट्टु थारू र एमालेका रामदास थारू हुनुहुन्छ, तर मेरो विचारमा यी तीन जनाबीच कडा प्रतिस्पर्धा हुन्छ,’ उनले भने। यो चुनावमा पार्टी, जात र धर्म नहेरी काम गर्ने क्षमतावान् व्यक्तिलाई जनताले भोट दिने मनिराम बताउँछन्। ‘अहिलेसम्म जातीयता र भूगोलको नारा कसैले पनि लगाएको छैन, उम्मेदवारी पाइसकेपछि व्यक्ति हेर्ने, वास्तविक जनताले मागेका विकास पुर्‍याउन सक्नेलाई यसपटक भोट दिन्छौं,’ उनले थपे।

निर्वाचित भएर अब आउने व्यक्तिले पैसा हुँदाहुँदै पनि विकास बजेट फ्रिज गराउन नहुने उनको आग्रह छ। यसका साथै बाटो निर्माण र सुकुम्वासीका समस्या समाधान गर्न पहल गर्न सक्ने व्यक्तिको खाँचो रहेको मनिरामले सुनाए। राप्ती सोनारीका सार्वजनिक चौतारा, चियापसल जस्ता सार्वजनिकस्थलमा अचेल स्थानीय निर्वाचनकै चर्चापरिचर्चा हुने गरेको छ।

राप्ती सोनारी ४ बैजापुरस्थित एक चियापसलमा कुम्भर गाउँका नरबहादुर थारु भन्दै थिए, ‘पार्टीभन्दा व्यक्ति चिन्नुपर्ने कन्डिसन छ अहिले, जो नेता जितेर आए पनि हाम्रो ठाउँको विकास गरिदिने हुनुपर्‍यो, चाहे जोसुकै पार्टीको किन नहोस्, हाम्रो यत्ति चाहना छ, चुनाव जितेपछि कसैले पनि गद्धारी नगरोस्।’ जसले चुनाव जिते पनि विकास निर्माण हुनुपर्ने र सबैको साझा जनप्रतिनिधि भएर काम गर्नुपर्ने अधिकांश स्थानीयको सुझाव छ।

प्रकाशित: २६ वैशाख २०७९ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App