८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

दलहरूको चुनाव प्रचारप्रसार उत्कर्षमा

उदयपुरगढीमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै माओवादी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल)। तस्विरः महेश्वर

आसन्न स्थानीय तह निर्वाचन आउन साता दिन मात्र बाँकी रहँदा दलहरूले प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन्। दलहरूले माइकिङ, घरदैलो, आमसभा र कोणसभाजस्ता गतिविधि गरेर मतदाताको ध्यान आफूतिर तान्ने कोसिस गरिरहेका छन्।

सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को गठबन्धनले चुनावी प्रचार अभियानलाई गाउँगाउँ पुर्‍याएको छ भने प्रतिपक्षी दल नेकपा (एमाले) र अन्य ससाना दलदेखि स्वतन्त्र उम्मेदवारहरूसमेत प्रचारप्रसारको दौडमा तँछाडमछाड छन्।

केन्द्रमा गठबन्धनभित्रै परेको तर, उदयपुरमा केही वडाबाहेक प्रमुख र उपप्रमुख तहमा तालमेल बाहिर रहेको जनता समाजवादी पार्टीले पनि प्रचार अभियानलाई तीव्र बनाएको छ। त्यस्तै पहिलो पटक चुनावी अभियानमा सहभागी मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, नेशनल मंगोल अर्गनाइजेसन (एमएनओ) र सचेत नेपाली पार्टीले पनि उम्मेदवारी दिएको ठाउँमा प्रचार अभियानलाई तीव्रता दिंदै छन्।

ठूला दलहरू बजार केन्द्रित प्रचार अभियान छेडिरहेका छन् भने गाउँमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। दलहरूले आफ्नो उम्मेदवारलाई बाक्लो बस्ती रहेका ठाउँ, पालिका केन्द्र बजार र मतदाता बढी रहेका स्थानमा बढी प्रचारप्रसार केन्द्रित गर्दैछन्। जसअनुसार सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची र नेपालटार लगायत बजारमा प्रचारप्रसारले वातावरण र ध्वनि प्रदूषण भइरहेको अवस्था छ।

गाउँघरतिर पनि प्रचार अभियानमा दलहरू उत्तिकै लागिरहे पनि त्यतातिर भने बढीजसो घरदैलो कार्यक्रमले स्थान पाएको छ। गठबन्धन दलहरू एकले अर्कालाई धोका नदिने सर्तमा एकताबद्ध भएर चुनावी अभियानमा लागेका छन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादीका केन्द्र र जिल्लास्तरका नेताहरू मिलेर चुनावी प्रचार अभियानमा एकठ्ठा प्रचारमा लागिरहेका छन्।

माओवादीका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल) साता दिन यता गठबन्धनको प्रचार अभियानमा छन्। उनी जिल्लाका ८ वटै पालिका स्तरीय चुनावी प्रचार अभियानमा सहभागी भइरहेको पार्टीले जनाएको छ। साता दिन यता चुनावी प्रचार अभियानमा निस्केका राई गठबन्धन टोली लिएर कटारी नगरका विभिन्न वडा, ताप्ली, लिम्चुङबुङ, रौतामाई हुँदै उदयपुुरगढी गाउँपालिका स्तरीय चुनावी सभा र घरदैलोमा पुगिसकेका छन्। प्रचारप्रसारको मौन अवधि सुरु नहुँदै उनलाई सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरको प्रचार अभियान भ्याइसक्नुपर्ने चटारो छ।

त्यसैगरी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश अध्यक्ष बलदेव चौधरी, कांग्रेस जिल्ला सभापति हिमाल कार्की, एकीकृत समाजवादीकै जिल्ला अध्यक्ष राममणि पोखरेल र माओवादी जिल्ला समन्वय संयोजक विनोद कटुवाल र सचिव किरण राई तथा संविधानसभा सदस्यत्रय मोहन खत्री, मणि खम्बु र भेषकुमारी राउतलगायत प्रदेश सदस्यहरू, विभाग सदस्यहरू, जिल्ला समन्वय सदस्यहरू सबै परिचालन भइरहेका छन्। चौधरी र कटुवाल भने उम्मेदवार भएकाले आफ्नै चुनावी क्षेत्रमा बढी केन्द्रित छन्। चौधरी त्रियुगा नगरप्रमुखमा गठबन्धनबाट मेयरका उम्मेदवार हुन् भने कटुवाल कटारी नगरमा गठबन्धनबाटै उपप्रमुखका प्रत्यासी हुन्।

उता गठबन्धनभन्दा बाहिर रहेर उम्मेदवारी दिएको कांग्रेसले पनि प्रचार अभियानलाई गति दिएको छ। त्रियुगामा कांग्रेसका वसन्त बस्नेतको प्रचार अभियान आक्रामक छ भने चौदण्डीगढीमा पनि एक्लै लडेको कांग्रेसले नगरप्रमुख खगेन्द्र राईलाई जिताउ अभियानलाई तीव्र पारेको छ। यता कतैकतै राप्रपासँग र बढीजसो एक्लै चुनावी मैदानमा होमिएको एमालेको प्रचार अभियान पनि उत्तै तीव्र छ।

बग्रेल्ती ‘बागी’ र स्वतन्त्र उम्मेदवारी परेको उदयपुरमा उनीहरूको प्रचारप्रसारमा पनि कुनै कमी छैन। कटारी नगरप्रमुख र लिम्चुङबुङ गाउँपालिका प्रमुखमा बागी उम्मेदवारी दिएका माओवादीका प्रदेश सदस्य केपी बराल र पूर्व गाउँ अध्यक्ष होम किरातीको प्रचार अभियान पनि उत्तिकै उत्कर्षमा छ। कटारी नगरप्रमुखमा बागी दिएकी एमालेकी भीमकुमारी राउत र चौदण्डीगढी प्रमुखमा बागी दिएका प्रशान्त राईको प्रचार अभियान पनि उत्कर्षतिरै छ। कटारीमा गठबन्धनका मेयर उम्मेदवार राजेशचन्द्र श्रेष्ठविरुद्ध माओवादीका बराल र एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठविरुद्ध भीमकुमारी राउतको बागी परेको हो।

लिम्चुङबुङमा किरातीले माओवादीका मेजरकुमार राईविरुद्ध, चौदण्डीगढीमा प्रशान्त कांग्रेस उम्मेदवार खगेन्द्र राईविरुद्ध र कटारीमा कांग्रेसका कृष्ण थापा र लिम्चुङबुङकी रमिला राईले गठबन्धनबाट उठेका उपप्रमुखविरुद्ध बागी हालेका हुन्। प्रमुख, उपप्रमुख र वडाध्यक्षमा दर्जनौले बागी उम्मेदवारी दिएर प्रचारप्रसारलाई तीव्रता दिइरहेका हुन्। मौन अवधि सकिनु ३६ घण्टा मात्र बाँकी रहँदासम्म उम्मेदवारहरुले कतै टोली परिचालन गरेर र कतै एक्लौटी चुनावी प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन्।

यसैबीच धेरै ठाउँमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिउँसो एक विज्ञप्ती प्रकाशित गर्दै विभिन्न स्थानीय तहमा आचारसंहिता उल्लंघन भएको खबर आएकाले त्यसो नगर्न सुझाएको छ। आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै कार्यालयले अन्यथा स्थानीय तह निर्वाचन ऐनअनुसार उम्मेदवारी खारेजीसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रकाशित: २६ वैशाख २०७९ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App