१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: दैलोदैलोमा दल

आइतबार नेपालगन्ज उपमहानगरपालिका १९ स्थित कन्ठीपुरमा अमृता शाह घरायशी काममा व्यस्त थिइन्। त्यहीबेला नेकपा एमालेको चुनाव प्रचारप्रसार टोली मत माग्दै उनको दैलोमै पुग्यो। एमाले समर्थकको लावलस्करसहित गएको उक्त टोली आइतबार वडा नम्बर १९ का बस्तीबस्ती पुग्यो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले वडा कमिटीले उक्त वडामा चुनाव प्रचारप्रसारलाई तिव्रता दिएको छ। वडा नम्बर १९ का १० वटा बस्ती छन्। सबै बस्तीमा घरदैलो अभियान जारी राखिएको नेकपा एमाले वडा नम्बर १९ की इन्चार्ज पार्वती सिंहले बताइन्। ‘गाउँगाउँमा चुनाव प्रचारप्रसारमा जाँदा जनताको राम्रो उत्साह छ,’ उनले भनिन्, ‘जनता पनि चुनावी गतिविधिमा सक्रिय भएका छन्।’ वडा नम्बर १९ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा धनराज कुर्मी (चौधरी) चुनावी मैदानमा छन्। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका विषयलाई प्राथमिकता दिइएको उनले बताए।

त्यस्तै एमालेको  घरदैलो अभियान चलिरहेका बेला नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को टोली पनि दैलोदैलो अभियानमै थियो। केही जिल्लामा दलीय कार्यकर्ताबीच मुडभेडको अवस्था सिर्जना भए पनि यहाँ मित्रवत् भावना देखिन्थ्यो। एक दलको प्रचारप्रसार टोलीलाई अर्काे दलले अवरोध गरेन। एमालेको प्रचार टोलीले जसपाको घरदैलो अभियान सुरु भएको स्थानबाट अर्काे बस्ती गयो। जसपाले उक्त एमालेको प्रचार टोलीलाई अवरोध सिर्जना गरेन। अन्य दलहरुले पनि यसरी नै मित्रवत् ढंगले चुनाव प्रचारप्रसार गरिरहेका छन्।

स्थानीय तहको चुनाव नजिकिएसँगै दलहरुले प्रचारप्रसार शैलीलाई अझ बढवा दिएका छन्। जनताले दलका प्रचारप्रसारलाई सकारात्मक ढंगले सहयोग पुर्‍याइरहेको देखिन्छ।

प्रकाशित: २५ वैशाख २०७९ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App