१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव आफैसँग प्रतिस्पर्धा: प्रत्यासी

निर्वाचन प्रचारप्रसार क्रममा एक पार्टीका नेता–कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई प्रतिस्पर्धी मान्दै व्यंग्य गरेको धेरै सुनिन्छ। तर टोखा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका प्रकाश अधिकारी भने आफैंलाई प्रतिस्पर्धीका रूपमा हेर्छन्।

उनी विगतका अधुरा काम पूरा गर्ने आफ्नो योजना रहेको सुनाउँछन्। उनले आफ्नाबारेमा आफूले गरेका कामले नै बोल्ने बताए। ‘जनताले मेरो काम हेरेर मत दिऊन्,’ उनले भने, ‘मैले म आफैंसँग प्रतिस्पर्धा गर्ने हो।’ अधिकार नगरका निवर्तमान मेयर पनि हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा ८ हजार ८ सय ९५ मत पाएर विजयी भएका उनले कोभिडको कठिन परिस्थितिमा पनि विभिन्न योजना अगाडि सारेको बताए।

त्यसैको निरन्तरताका लागि पनि नगरवासीले आफूलाई फेरि जिताउनेमा उनी विश्वस्त छन्। ‘शिक्षा, स्वास्थ्य र विकासको सन्दर्भमा थुप्रै पूर्वाधार तयार भएका छन्,’ उनले भने, ‘त्यसैको निरन्तरता र थप विस्तार गर्ने योजना छ।’ यसबाहेक टोखाका युवालाई लक्षित गरेर रोजगारीका अवसर सिर्जना गर्नु आफ्नो पहिलो दायित्व हुने उनले बताए। ‘तालिम र सीप सिकेर मात्र भएन, काम पनि पाउनुपर्‍यो,’ उनले भने, ‘त्यसका लागि आगामी समयमा हामी युवा लक्षित विभिन्न रोजगारीका अवसर सिर्जना गर्नेछौं।’

नगरवासी अधिकारीको मुख्य  प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई हेर्छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा ५१ मतले पराजित थापा अहिले मेयरको प्रत्यासी छिन्। उनी आफ्नो बोल्ने कला र स्पष्ट अजेन्डाका कारण यतिबेला चर्चित छिन्। 

सडक बन्नुलाई मात्र विकास नमान्ने थापा समग्र क्षेत्रको विकास गर्दै अगाडि बढ्नुपर्ने बताउँछिन्। ‘सडकसँगै खानेपानी र ढल निकासका समस्या पनि समाधान हुनुपर्छ,’ उनले भनिन्, ‘त्यतिमात्रै होइन, समृद्धिका लागि पाइला चाल्दै युवा जमात अघि बढ्ने वातावरण सिर्जना हुनुपर्छ।’

विकास देखावटी मात्र नभई दीर्घकालीन र दिगो हुनुपर्ने उनको मान्यता छ। नगरलाई आत्मनिर्भर र समृद्धिको बाटोमा डोर्‍याउन स्थानीय सीप र साधनको प्रयोग गर्नुपर्ने उनको बुझाइ छ। ‘हाम्रै क्षेत्रमा रहेका प्रविधि र सीप प्रयोग गरेर विकासका काम अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘नागरिकको सीप विकासमा नगरले ध्यान दिनु जरुरी छ।’

त्यस्तै नगरको शिक्षा र स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको उनले बताइन्। टोखामा १५ जना मेयरका उम्मेदवार भए पनि थापाले पनि अरु कसैलाई प्रतिस्पर्धी ठानेकी छैनन्। ‘म  आफैंसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्दैछु,’ उनी भन्छिन्, ‘नगरवासीको मन जितेर विजयी हुनेछु।’ अघिल्लो चुनावमा यस नगरमा २८ हजार १ सय ७१ मतदाता थिए।

त्यसबेला थापाले उपमेयरमा ९ हजार ४ सय मत ल्याएकी थिइन्। उनले पाएको त्यो मत जितका लागि निर्णायक भएन। अहिले टोखा नगरपालिकामा ३४ हजार मतदाता छन्। थापाले पहिलाभन्दा अहिले बढी मत ल्याएर मेयरमा विजयी हुने दाबी गरिन्। ‘म स्पष्ट योजना राखेर अगाडि बढेकी छु,’ उनले भनिन्, ‘यसमा मतदाता आकर्षित हुँदै गएको पाएकी छु।’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का तर्फबाट मेयरको उम्मेदवार बनेकी कविता घिमिरे टोखाको विकास र समृद्धिका लागि आफू जनतामाझ उभिएको बताउँछिन्। ‘नगरका समस्या समाधान गर्न अगाडि बढेकी छु,’ उनले भनिन्, ‘यसका लागि जनताले साथ दिने विश्वास लिएकी छु।’

उनी पनि आफ्नो प्रतिस्पर्धी अरुलाई ठान्नुभन्दा आफ्नो धारणा राखेर अगाडि बढ्नुपर्ने बताउँछिन्। ‘नगरमा कामै नभएको त होइन,’ उनले भनिन्, ‘तर जनताको मन जित्ने काम भएको छैन।’ जनताको भावना नबुझीकन गरिने विकास दिगो र फलदायी हुन नसक्ने उनको बुझाइ छ।

विगतमा कुनै ठूलो पदमा नबसे पनि समाजका हरेक तप्कासँग नजिकिएर काम गरेको अनुभव उनीसँग छ। नगरका समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने योजना आफूसँग रहेको उनले बताइन्। ‘मलाई नगरका समस्या पहिचान र समाधानका उपाय मलाई प्रस्टसँग थाहा छ,’ उनले भनिन्, ‘जनताले मौका दिए नगरलाई समृद्धिको बाटोमा लैजानेछु।’

एमाले टुक्रिए पनि टोखामा त्यसको खासै ठूलो असर नपरेको सो पार्टीको पंक्तिको बुझाइ छ। अघिल्लो स्थानीय निर्वाचनमा एमालेबाट मेयर बनेका प्रकाश अधिकारी र उपमेयर बनेकी ज्ञानुमाया डंगोल नै फेरि उही पदमा उठेका कारण उनीहरूको मनोबल बढेको छ। अझ त्यसमा पनि गठबन्धन गर्ने भनेका नेकपा एस र माओवादी केन्द्रले पनि मेयरमा आआफ्ना उम्मेदवार उठाएपछि एमाले पंक्ति जितमा थप ढुक्क देखिएको छ।

माओवादी केन्द्रले मेयरमा शेखर श्रेष्ठलाई उठाएको छ। तर, अघिल्लो निर्वाचनमा उपमेयरमा ८ हजार ३६ मत (जितका लागि अपुग) प्राप्त गरेकी कांग्रेसकी थापा यसपटक मेयरको उम्मेदवार भएकाले एमालेका उम्मेदवार अधिकारीका लागि विरासत कायम राख्न चुनौती देखिएको छ।

नगरवासीलाई बोलीले प्रभावित पार्न सक्ने खुबी र निरन्तर जनतासँगको भेटघाटका कारण थापाको आत्मविश्वास बढेको देखिन्छ। एमाले पंक्तिले भनेजस्तै पार्टी फुटको ठुलो असर यस नगरमा नरहे पनि थापाको उम्मेदवारीका कारण विगतको नतिजा उल्टिन सक्ने अनुमान पनि मतदाताको छ।

चुनाव सच्चिने अवसर: मतदाता

टोखा–१ का केदारप्रसाद बिडारी पञ्चायतकालदेखि नै मतदानमा सहभागी हुँदै आएका छन्। जतिपटक चुनावमा सहभागिता जनाए पनि सोचेजस्तो नेता र चाहेजस्तो विकास नभएको उनको बुझाइ छ। तर उनलाई चुनावप्रति वितृष्णा भने पटक्कै छैन। ‘चुनाव हामी सच्चिने अवसर पनि त हो नि, ‘उनले भने, ‘नेता त सच्चिएनन् तर हामी सच्चिने सुनौलो अवसर खेर फाल्नेछैनौं।’

गहुँ र मकैको खेतीपातीमा व्यस्त उनलाई चुनावको चटारोले छोइसकेको छ। यस्तै धारणा राख्छन झोरका मतदाता मदन अधिकारी पनि। अरू समयमा राजनीतिबारे खासै चासो नराख्ने अधिकारी चुनावको रौनकलाई भने नजिककैबाट नियाल्दै छन्। ‘राजनीतिबाट जतिसुकै पर भागे पनि जीवनका हरेक पाटोमा यसले प्रभावित पार्दोरहेछ,’ उनले भने, ‘हिँड्ने बाटो राम्रो बनाउन पनि राम्रै नेतालाई भोट दिनु जरुरी रहन्छ।’

राम्रो नेतालाई जिताउन सके भोलिदेखि राम्रोले टिकट पाउने उनको बुझाइ छ। ‘गलत निर्णयले गलत प्रवृत्ति हाबी हुँदै जान्छ,’ अधिकारीले भने, ‘गलतको क्रमभंगताका लागि पनि यसपटक सहीलाई चुन्नु जरुरी हुन्छ।’ सहीलाई चुन्न नसक्दा एउटा उम्मेदवारले जिते पनि मुलुक हार्ने उनको बुझाइ छ।

प्रकाशित: २५ वैशाख २०७९ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App