२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कसले बाजी मार्ला सूर्यविनायक नगरपालिकाको मेयरमा?

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार भएका बासुदेव थापा १२ हजार एक सय ३५ मत ल्याई विजयी हासिल गर्न सफल भएका थिए।

त्यसबेला काँग्रेसबाट मेयरमा विष्णुराज कार्की १० हजार एक सय ६५ मत मत ल्याएर दोस्रो स्थानमा सिमित हुन बाध्य भएका थिए।

यो पटकको निर्वाचनमा यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एसको गठबन्धन बनेको छ। यस अनुसार कांग्रेसका निशान ढुंगेल मेयरमा उठेका छन् भने नेकपा एसबाट श्याम वस्नेत उपमेयरमा उठेका छन्। यता एमालेबाट भने पहिला मेयरमै विजयी हासिल गर्न सफल बासुदेव थापालाई नै दोह्याइएको छ।

पहिला नै एक दुई हजारको फरकले मात्रै एमाले विजयी हुन सफल भएकोमा अहिले गठबन्धनका कारण आफूहरूको विजयी सुनिश्चित हुने दावी गर्छन् कांग्रेसका जिल्लास्तरीय नेताहरु। एमालेको भोट एसले काट्ने मात्रै नभई गठबन्धनका कारण नेपाली कांग्रेसमा थपिन आउने भएकोले आफूहरूको जित सुनिश्चित भएको दावी छ जिल्ला कांग्रेस नेताहरुको। ‘यो पटक हाम्रो जितमा कुनै शंकै छैन, सतारुढ गठबन्धनकोतर्फबाट उम्मेदबारी दिएका नेपाली कांग्रेसका मेयरका उम्मेदबार निशान ढुंगेल भन्छन्, ‘हामी भारी मतले विजयी हासिल गर्नेछौ।’

ढुंगेल नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति पनि हुन्। उनी स्थानीय स्तरमा चिनाइरहनुपर्ने नाम पनि होइन।

यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन्। २०७४ सालको निर्वाचनमा बहुमत वडा अध्यक्षहरू पनि एमालेले नै जितेको थियो। एमालेले सात वटा वडामा वडा अध्यक्ष जितेको थियो। एमालेले सूर्यविनायक नगरपालिका वडा नं १,४,५,७,८,९ र १० मा वडा अध्यक्षमा जित हासिल गरेको थियो। कांग्रेसले वडा नं २,३ र ६ मा वडा अध्यक्षमा विजयी हासिल गरेको थियो। वडा सदस्यहरू भने कांग्रेस एमालेको मिश्रित पनि थियो।

यो नगरपालिकामा सतारुढ गठबन्धन र एमाले नै मुख्य प्रतिस्पर्धी हुन्। यसबाहेकको नेपाल मजदुर किसान पार्टीको यस नगरपालिकामा अवस्था कमजोर छ।

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा यस नगरपालिकामा उपमेयरमा एमालेकै जुना बस्नेत १२ हजार आठ सय ३२ मत ल्याएर विजयी भएकी थिइन्। कांग्रेसका उपमेयर कल्पना राजथला ८ हजार नौ सय सात मत ल्याएर दोस्रो भएकी थिइन्। यस्तै नेमकिपाबाट मेयरका उम्मेदवार मनशोभा सुवालले दुई हजार दुई सय ८० मत र उपमेयरमा महेन्द्र बखुन्छे दुई हजार ६ सय सात मत ल्याएका थिए। नेमकिपाले यसपटक मेयरमा श्याम विसुन्केलाई उठाइएको छ भने उपमेयरमा चनमती खुलिमुलीलाई उम्मेदबार बनाइएको छ।

यस पटक यो नगरपालिकामा कांग्रेसबाट उपमेयरमा कल्पना भटराईलाई उठाइएको छ। उनी झापाकी हुन्। हाल उनी सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा विवाह गरी यतै वस्दै आएकी छिन्। उनी केपी ओली निकटकी हुन्।

भक्तपुरमा चार वटा नगरपालिकाहरु छन्, भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक। यी चार वटा नगरपालिकाहरुमा मुख्य गरी सतारुढ गठबन्धन, एमाले, नेमकिपा र राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा छन्।

प्रकाशित: २४ वैशाख २०७९ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App