३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धनभित्र ‘खेल्दै’ विपक्षी दल

सत्तारुढ गठबन्धनविरुद्ध एकल रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले चुनावी प्रचारका क्रममा आफ्नो चुनावी घोषणा पत्रलाई प्राथमिकतामा राखेको छैन। जिल्लाका १० स्थानीय तहमध्ये दुई उपमहानगर, एक नगरसहित तीन गाउँपालिकामा जित हात पारेको उसको चुनावी घोषणापत्र पनि अघिल्लो निर्वाचनको भन्दा खासै अन्तर छैन।  

फलतः पुरानै एजेन्डालाई मतदातासमक्ष लैजाँदा खासै प्रभाव नपर्ने बुझेको एमालेले अहिले आफ्नो बलियो प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको ‘फाटो’ लाई चुनावी अस्त्रका रूपमा प्रयोग गरिरहेको छ। गठबन्धनभित्रको मत ‘एक’ भएको खण्डमा हार्न सकिने मनस्थितिमा रहेको एमाले कसरी गठबन्धनमा फाटो ल्याउन सकिन्छ र गठबन्धनको मत आफूतिर तान्न सकिन्छ भन्ने रणनीतिमा छ। फलतः उसले सत्तारुढ गठबन्धनलाई ‘अपवित्र गठबन्धन’ रूपमा मतदातासामु प्रचार गरिरहेको छ। कांग्रेस र माओवादी एकै ठाउँमा उभिन नसक्ने र एकअर्काका विगतका शत्रु रहेको भन्दै गरिएको प्रचारबाजीले गठबन्धनको मत तान्न सकिने र पुनः निर्वाचनमा जित हासिल गर्न सकिने रणनीति बनाइरहेको छ।  

त्यसो त, गठबन्धनभित्रका कांग्रेस र एमालेले चुनावमा एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भन्दै असन्तुष्ट मत पनि प्रकट भइरहेका छन्। फलतः गठबन्धनभित्रको यो असन्तुष्टिलाई विकराल बनाएर गठबन्धनको ठूलो हिस्सा आफूतिर खिच्ने प्रयत्नमा एमाले रहेको छ। घोराही उपमहानगरपालिकाको मेयरमा दोहोरिन खोजिरहेका एमालेका नरुलाल चौधरीले पनि आफ्नो जितको आधार गठबन्धनभित्रको असन्तुष्टिलाई मात्रै देखिरहेका छन्। सत्तारुढ गठबन्धन व्यवहार नमिल्नेहरूबीचको घाँटीको जोडका रूपमा अर्थ्याएको उनको बुझाइ छ ‘गठबन्धन अब आफैंबाट टाढिँदै गएको छ, कार्यकर्ता र शुभेच्छुकले गठबन्धन नचाहे पनि नेताहरू जसरी पनि पद हत्याउन विचार नमिल्नेहरूसँग घाँटी जोडिरहेका छन्।’ यो उपमहानगरमा गठबन्धनका तर्फबाट माओवादीका हेमराज शर्मा मेयरमा र कांग्रेसका भूपबहादुर डाँगी उपमेयरका उम्मेदवार बनेका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित एमालेले पाएको मतभन्दा कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा ७ हजार बढी हुन आउँछ। अहिले यो उपमहानगरमा थपिएको मत संख्या ३५ हजार छ। यो मत संख्यामा गठबन्धनले एकतिहाइ मत आफ्नो रहेको दाबी गरिरहेको छ। तर एमाले र गठबन्धनको आधा/आधा मत रहे पनि एमालेलाई जितका लागि सहज हुने देखिन्न। फलतः एमालेका लागि गठबन्धनभित्रको ‘चलखेल’ जितका लागि अपरिहार्य जस्तै बनेको छ।  

उता सत्तारुढ दलहरूको बलियो गठजोड बनेको जिल्लाको अर्को प्रमुख स्थानीय तह तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेले गठबन्धनभित्रको मत तान्ने कसरत गरिरहेको छ। गठबन्धनभित्रको मत तान्न सकिए सहज जित हुने आकलनमा रहेको एमालेले यो उपमहानगरमा पनि गठबन्धनभित्रका गठबन्धनविरोधी मत पछ्याइरहेको छ। यो उपमहानगरमा एमालेका तर्फबाट टीकाराम खड्का मेयरमा र स्यानी चौधरी उपमेयरका उम्मेदवार हुन्। यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका पूर्वसांसद गेहेन्द्र गिरी मेयर र नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उपमेयरको उम्मेदवार बनेका छन्।  

साना दललाई मत बढ्ने आशा

गठबन्धनमा रहेका दलका कार्यकर्ताहरूले फरक दलको अस्तित्व स्वीकार्न नसके त्यसको सबैभन्दा बढी फाइदा आफूलाई हुने राप्र्रपाले देखिरहेको छ। गठबन्धनमा रहेका दलहरूमध्ये कांग्रेसमा असन्तुष्ट बढ्ने र त्यो असन्तुष्ट मत आफ्नो ‘बाकस’ मा खस्नेमा राप्रपा पुरापुर आशावादी छ। यो अवसरले राप्रपालाई जितको नजिक पुर्‍याउने लख राप्रपा वृत्तमा काटिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुखमा १ हजार १ सय ३६ मत पाएको राप्रपाले अहिले भने गठबन्धनभित्रको असन्तुष्टिका कारण यो मत संख्या धेरै उकालो लाग्ने अपेक्षा गरिरहेको छ।

यस्तै तुलसीपुर उपमहानगरमा ४ सय ९५ मत प्राप्त गरेको राप्रपाले अहिले भने बलियो प्रतिस्पर्धीका रूपमा आफूलाई दाबी गरिरहेको छ। ‘स्वाभाविकै रूपमा अहिले अन्य प्रमुख भनिएका दलहरूप्रति आमनागरिकको आस्था एवं विश्वास कमजोर बनेको र त्यो जनमत अहिले राप्रपाप्रति ढल्किएको छ,’ राप्रपाका एक जिल्ला नेताले भने, ‘त्यसमाथि अहिले गरिएको गठबन्धनप्रति गठबन्धन दलको ठूलो हिस्सा असन्तुष्ट छ, स्वाभाविकै रूपमा त्यो असन्तुष्ट मत राप्रपाको पक्षमा नै खस्छ।’ फलतः राप्रपा पनि सार्वजनिक रूपमै गठबन्धनभित्र खेलिरहेको छ। उसले पनि गठबन्धनको खिलापमा रहन र राप्रपालाई मतदान गर्न भन्दै आग्रह गरिरहेको छ।  

अघिल्लो स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा ५ सय मत प्राप्त गरेको नेकपा एमालेले पनि यो यो मत संख्या उकालो लाग्ने विश्लेषण गरिरहेको छ। प्रमुख दलहरूले गरेका ‘गलत कदम’ मतदातासमक्ष प्रस्तुत गरिरहेको मालेले यसको प्रतिफल आफूलाई राम्रै मिल्ने आशा गरिरहेको छ। यस्तै गठबन्धनभित्रकै बेमेलले पनि आफूलाई फाइदा पुग्ने दाबी उसको छ। ‘प्रमुख दलहरूले गरेको एमसीसी सम्झौतादेखि उनीहरूले गरेका विभिन्न गलत कदमलाई हामीले मतदातासमक्ष सूक्ष्म ढंगबाट प्रस्तुत गरिरहेका छौं, यसको प्रतिफल हाम्रा लागि राम्रो आउँछ,’ नेकपा मालेका जिल्ला अध्यक्ष तथा घोराही उपमहानगरका मेयर पदका उम्मेदवार नेत्रप्रकाश पाण्डेले भने, ‘यससँगै गठबन्धनमा रहेका दलहरूको आन्तरिक विरोधले पनि हामीलाई फाइदा पुग्छ।’

मत बचाउमा कांग्रेस/माओवादी  

विपक्षीलगायत साना दलहरूले गठबन्धनभित्रको मतलाई फाइदाका रूपमा हेरिरहेको भए पनि गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीले भने गठबन्धनभित्रको मत एकत्रित पार्न सक्रिय भएर लागेका छन्। उनीहरूले गठबन्धनभित्र असन्तुष्ट मतलाई फकाइरहेका छन्।

फलतः गठबन्धनको मत अन्यत्र कतै बाहिर नजाने तर्क उनीहरूको छ। ‘अहिलेको गठबन्धन राष्ट्रिय हितका निम्ति हो र यो नितान्त आवश्यकता हो भनेर हामीले आम साथीलाई बुझाइरहेका छौं,’ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले भने, ‘यो आवश्यकता कांग्रेसका आम साथीहरूले बुझिसक्नु भएको छ। फलतः कांग्रेसको मत गठबन्धन बाहिर जाने कुरै हुँदैन।’

सुरुवाती चरणमा गठबन्धनप्रतिको असन्तुष्टि केही बढी देखिएको भए पनि अहिले गठबन्धनका दलहरूसँगैको आपसी सहकार्यले त्यो असन्तुष्टि मत्थर बनिसकेको उनको भनाइ छ। ‘सुरुमा असन्तुष्टि केही बढी नै थियो,’ न्यौपानेले भने, ‘तर अहिले त्यो असन्तुष्टि मेटिइसकेको छ, केही साथीहरूको बाँकी असन्तुष्टिलाई पनि हामी मेट्छौँ। यसर्थ गठबन्धनको मत गठबन्धन बाहिर कतै पनि जान्न।’

प्रकाशित: २४ वैशाख २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App