सत्तारूढ पाँच दलका शीर्ष नेताहरूले संविधानसभाबाट जारी संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन निर्माण भएकाले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनअन्तर्गत शुक्रबार काठमाडौंमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रको रक्षासहित मुलुकमा स्थायित्व, आर्थिक समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका हुन्।
नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले जनमत र संविधानमाथि प्रहार गर्दै पटकपटक प्रतिनिधिसभा विघटन गरेको स्मरण गराउँदै पाँच दलका शीर्ष नेताहरूले अहिले परिवर्तन पक्षधर र विरोधीबीच निर्वाचन भइरहेको दाबी गरे। नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन परिवर्तन पक्षधर रहेको भन्दै नेताहरूले केपी ओली नेतृत्वको एमाले गठबन्धनलाई परिवर्तन विरोधी र प्रतिगामीको संज्ञा दिए। प्रतिगामी समूहका उम्मेदवारले चुनाव जिते परिवर्तनका उपलब्धि गुम्ने दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले काठमाडौं महानगरपालिकासहित देशभर गठबन्धनका उम्मेदवारलाई जिताउन जनतालाई अपिल गरे।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन गठबन्धनका उम्मेदवार सिर्जना सिंहलाई जिताउन आग्रह गरे । उनले गठबन्धनका तर्फबाट दुई महानगरपालिकामा नेतृत्वका लागि महिलालाई उम्मेदवार बनाइएको बताए। भरतपुरमा रेणु दाहाल र काठमाडौंमा सिर्जनाले चुनाव नजिते दुनियाँले के भन्ला भन्ने प्रश्न देउवाले गरे। उनले कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुँदैमा सिर्जना महानगरपालिकाको प्रमुख हुन पाउने अधिकारबाट वञ्चित हुन नहुने बताए। देउवाले भने, ‘काठमाडौंमा फोहोरको समस्या छ, सिर्जनालाई मेयरमा जिताउनुस्, ६ महिनाभित्र त्यसको व्यवस्थापन हुन्छ।’
धरान उपमहानगरपालिकाले फोहोरबाट ग्यास निकालेको सुनाउँदै देउवाले काठमाडौंमा पनि फोहोरबाट ग्यास र बिजुली निकाल्न सकिने बताए। उनले काठमाडौंमा रहेको ट्राफिक समस्या पनि समाधान गरिने बताए। संविधानको व्यवस्थाअनुसार पनि प्रदेश र प्रतिनिधिसभामा कुनै पनि एक दलको बहुमत आउन नसक्ने जिकिर गर्दै देउवाले अहिलेको गठबन्धनलाई सफल बनाउँदै देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने औंल्याए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रतिगमन वा प्रगतिशील कुन कित्तामा उभिने भन्ने निर्णय जनताले गर्नुपर्ने बताए। उनले यो निर्वाचन प्रतिगमनकारी र परिवर्तन पक्षधरबीच एक प्रकारको लडाइँ भएको बताए। केपी ओली नेतृत्वको एमाले गठबन्धनलाई प्रतिगामी र दक्षिणपन्थी भन्दै दाहालले कांग्रेस नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन परिवर्तनकारी र प्रगतिशील भएको दाबी गरे।
परिवर्तनका पक्षमा मतदान गर्न सबैलाई आग्रह गर्दै दाहालले भने, ‘परिवर्तनका पक्षमा उभिने हो भने रुख, हँसिया हथौडा र कलमलाई सहज रूपमा लिनुपर्छ। एकले अर्काको चुनाव चिह्नमा मतदान गर्नुपर्छ।’ कांग्रेस र कम्युनिस्ट मिलेपछि मात्र नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गर्दै दाहालले भने, ‘आफ्नो चिह्नबाहेकमा भोट हाल्दिनँ भनेर लकिरको फकिर भएर हुँदैन। आजको आवश्यकता एकता र सहकार्य हो।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी र दक्षिणपन्थीबाट परिवर्तनका उपलब्धि जोगाउन गठबन्धनलाई निरन्तरता दिन आवश्यक रहेको दाबी गरे। अहिले देशमा पाँच दलले प्रगतिशील पक्षधर र एमालेले प्रतिगामी दक्षिणपन्थी समूहको नेतृत्व गरेका बताउँदै नेपालले भने, ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले र केपी ओलीले गरेका छन्। राप्रपाजस्ता दक्षिणपन्थी शक्तिहरू, राजावादी शक्तिहरू त्यहाँ सामेल छन्।’
विदेशीहरूसँग लम्पसार पर्नेहरू ओली नेतृत्वको गठबन्धनमा सामेल रहेको आरोप लगाउँदै नेपालले परिवर्तनलाई संस्थागत गर्न सत्ता गठबन्धन निर्माण भएको जिकिर गरे। ‘उपलब्धि रक्षा गर्नेहरू, संविधान जोगाउनेहरू, समाजवादको बाटोमा अघि बढ्नेहरू, गणतन्त्रका हिमायतीहरू हामी प्रगतिशील गठबन्धनमा छौं,’ नेपालले भने, ‘प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरूको पक्षमा मतदान गर्नुस्। प्रतिगामीलाई मत हालेपछि पछुताउनुपर्नेछ। सन्तानले दुःख पाउनुपर्ने हुन्छ, पछुताउने काम नगरौं।’
कांग्रेस नेता रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउनुपर्ने बताए। उनले भने, ‘यो गठबन्धनको मिसन परिवर्तन र अग्रमनलाई बचाउने हो। यो प्रगतिशील गठबन्धन हो।’ राजनीतिक स्थायित्व दिन गठबन्धन बनेको जिकिर उनले गरे।
जसपा नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा प्रजातन्त्र मास्न खोज्नेहरूले अहिले पाँचदलीय गठबन्धनको विरोध गरिरहेको आरोप लगाए। गणतन्त्र जोगाउन पनि हम्मेहम्मे परेको बताउँदै अध्यक्ष केसीलले विगत पाँच वर्षमा जनप्रतिनिधिले कतैकतै मात्र राम्रो काम गरेकाले आगामी दिनमा गल्ती सच्याएर जानुपर्ने धारणा राखे। सभालाई काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंहसहितका विभिन्न तहका नेताले सम्बोधन गरेका थिए। सभामा जनसहभागिता भने उत्साहजनक थिएन। गठबन्धन दलले भरतपुर, काठमाडौंसहितका विभिन्न सहरमा स्थानीय चुनावकेन्द्रित सभा गरिरहेका छन्।
प्रकाशित: २४ वैशाख २०७९ ००:५३ शनिबार





