coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इनरुवामा कांग्रेसको तरकारी उत्पादन चुनावी संकल्प

निर्वाचित पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सुनसरी इनरुवाबाट निर्वाचन जितेका थिए। दिंवगत नेता गिरिजाप्रसाद कोइरालाले दुई पटकसम्म इनरुवा क्षेत्रबाट निर्वाचन लडे अनि जिते। एकताका सुनसरी सदरमुकाम इनरुवा लोकप्रिय थियो।

कोइराला परिवारको बसाइ विराटनगर भएपनि राजनीतिक थलो भने इनरुवा नै थियो। राजनीतिक, व्यापारिक र सरकारी कार्यालय धेरै भएकाले इनरुवा राम्रो जमघटस्थल भएको थियो। व्यापारिक आधारमा २००७ पछिको १८ वर्षसम्म चम्केको थियो।

धरानपछिको जिल्लामै सबैभन्दा बढी व्यापारिक चहलपहल इनरुवामा हुने गथ्र्यो। पूर्वका अन्य स्थानका व्यापारी पनि सामान खरिद गर्नका लागि इनरुवा आउँथे। व्यापार–व्यवसायका लागि त्यो समय स्वर्णीम युग नै थियो। त्यही समयमा इनरुवाका तत्कालीन जमीनदार धनबहादुर का छोरा होमबहादुर श्रेष्ठ (ठूले बाबु) र दिलबहादुर श्रेष्ठ (सानेबाबु) को राजा महेन्द्रसँगको सोझै सम्पर्कले २०१९ सालमा सदरमुकाम घोषणा भयो।

राजनीतिक महत्व बोकेको इनरुवा आसपासका ठाउँमा विकासले फड्को मारेपनि अहिले गाउँकै नियती भोगीरहेको छ। आसन्न वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारले भने अब इनरुवालाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाएर विकास गर्न सकिने मुद्दालाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा छन्।

मेयर केदार भण्डारी र उपमेयर विनिताकुमारी मेहताले शुक्रबार आफ्नो संकल्प पत्र सार्वजनिक गर्दै यहाँका किसानलाई उन्नत जातको बीउ र मल उपलब्ध गराएर तरकारी उत्पादन गरी आम्दानीमा वृद्धि गराउन बताए। भण्डारी र मेहताले खेतियोग्य जमीनलाई सदुपयोग गरेर तरकारी खेती गर्दा युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न पनि सकिने बताए।

‘इनरुवाका नागरिकलाई आर्थिक रुपले सवल बनाउन खेतीयोग्य जमीनमा तरकारी लगाउन अनुदान दिने र विद्युतीकरणमार्फत सिचाईं गर्ने व्यवस्था गर्दा ठूलो परिवर्तन ल्याउन सकिन्छ,’ संकल्प पत्र सार्वजनिक कार्यक्रममा भण्डारीले भने। यहाँका किसानले अन्नबाली भन्दा तरकारी नै खेती गर्ने गरेका छन्। अन्नबालीभन्दा बढी मिहीनेत गर्न परेपनि तरकारीबाट दोब्बर आम्दानी हुने गरेकाले गर्दा अधिकतर किसान खेतियोग्य जमिनलाई सुदपयोग गरेर तरकारी लगाउँने गरेका छन्।

तरकारी खेतीले ग्रामीण क्षेत्रका किसानको आर्थिक अवस्थामा आमूल सुधार ल्याएको छ। तरकारी खेतीको ‘पकेट’ क्षेत्र मानिएको इनरुवा क्षेत्रका अधिकतर किसानले व्यवसायिक रुपमा खेती गर्ने गरेका छन्। तरकारीको पकेट क्षेत्रमा किसानले हिउँदे तरकारीको रुपमा काउली, बन्दा, मुला, भण्टा, मटरकोसा, टमाटर, खुर्सानी, प्याज, गाजर, तरबुजा र  खरबुजा लगाउने गरेका छन्। घ्यू सिमी, तमे बोडी, काक्रो, भिन्डी, फर्सि, भण्टा,  घिरौला लगायतका तरकारी बर्खाको सिजनमा लगाउने गरेका छन्।

यहाँका किसानले उत्पादन गरेको तरकारी इनरुवाको थोक बजारबाट पूर्वका नाम चलेका प्रायः सबै बजारमा पुग्ने गर्छ। पूर्वका बजारबाहेक राजधानी काठमाडौं पनि यहाँको तरकारी जाने गरेको छ। तरकारीबाहेक किसानले अन्नबाली मकै, धान, गहुँ, कोदो, नगदेवालीमा दलहन, तेलहन, उखु र  जुटबाली लगाउँने गरेको छन्।

कांग्रेस मेयरका उम्मेदवार भण्डारीले इनरुवालाई तरकारीको पकेट क्षेत्रसँगै शिक्षा र स्वास्थ्यका मुद्दालाई समेत प्राथमिकतामा राखेर चुनावी अभियानमा सक्रिय रहेको बताए। इनरुवामा दल तथा साना राजनीतिक दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

२०७४ सालको निर्वाचनमा इनरुवा नगरमा प्रमुख र उपप्रमुखसहित चारवटा वडाअध्यक्ष र १६ जना सदस्य कांग्रेसले जितेको थियो। एमालेले ६ जना वडाअध्यक्ष र २४ जना सदस्य जितेको थियो। त्यो बेला मतदाताको संख्या ३६ हजार १४५ थियो। यसपटक मतादाताको संख्या बढेर ४२ हजार सात सय ४८ पुगेको छ।

प्रकाशित: २३ वैशाख २०७९ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App