१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदाताको गुनासोः आज सम्म कहाँ थियौ?

चुनावी कार्यक्रम

अघिल्लो स्थानीय तह निर्वाचन रोल्पाका १० पालिका मध्य ७ माओवादी केन्द्र, २ एमाले र १ नेपाली कांग्रेसले जितेको थियो। यतिबेला फेरि दल र उनका उमेद्वारहरु गाउँ छिरेका छन्। मत माग्न गाउँ छिर्ने सत्ता पक्ष र प्रतिपक्ष दुबैसँग मतदाताको एउटै प्रश्न छ आज सम्म तिमीहरू कहाँ थियौ?

सत्ता पक्ष अर्थात निर्वाचितहरू गाउँको सरकार चलाउन व्यस्त थिए भने प्रतिपक्ष पनि कहिल्यै जनता माझ फर्केनन्। ‘हाम्रा समस्याका बारेमा कसैले कहिल्यै चासो नै दिएनन्। चुनाव जितेर काम गर्नेले कार्यकर्ताकै मागका आधारमा गरे भने हार्नेले पनि कुनै भुमिका खेलेनन्।’ रोल्पा नगरपालिकाका एक कांग्रेस कार्यकर्ताले भने।

कांग्रेस र एमालेले जितेका स्थानमा प्रतिपक्ष भएको माओवादी नेता कार्यकर्ताले पनि गतिलो प्रतिपक्षको भुमिका नखेलेको स्थानीयहरू बताउँछन्। जित्नेलाई सबै सुम्पेर अर्को निर्बाचनका बेला मतदाताको अनुहार देखाउने संस्कृति पुरानो भने हैन। माओवादी जिल्ला स्तरीय एक नेताका भन्छन् ‘जिल्लाका कुनै पनि पालिकामा बिपक्षले सकारात्मक भूमिका खेल्न नसकेका कारण सुशासनमा असर गरेकै हो।’  

कांग्रेसबाट चुनाव जितेका लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले आफ्नो कार्यकालमा प्रतिपक्षले गतिलो भुमिका नखेलेको बताउछन्। ‘बिपक्षले असहयोग मात्र गरे। सकारात्मक रोल कहिल्यै भएन। गतिलो प्रतिपक्ष भए काम गर्न सजिलो र सर्तकता हुन्छ तर त्यसो भएन। विरोधका नाममा विरोध बाहेक केहि भएन।’  

माओवादीबाट चुनाब जितेर एक कार्यकाल सकाएका गंगादेव गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले प्रतिपक्षले रचनात्मक भुमिका खेल्न नसकेको बताए। ‘प्रतिपक्षले आफ्नो गतिलो भूमिका खेलेको भए सुनमा सुगन्ध हुन्थ्यो। जहिले विरोधका लागि बिरोध भन्दा अरू केही भएन।’

एमालेबाट निर्बाचन जितेका रुन्टीगढी गाउँपालिकाका प्रमुख बालाराम बुढाले पनि प्रतिपक्षले रचनात्मक मुमिका नखेलेको बताउछन्। ‘प्रतिपक्ष बलियो भए पनि रचनात्मक भएनन्। उनीहरूले आफ्नो भूमिका खेल्ने हो भने कार्यसम्पादनमा सजगता पनि आउँछ। सबैलाई राम्रो हुन्थ्यो।’

अघिल्लो स्थानिय तह निर्वाचनमा मुख्य पदमा निर्बाचन लडेर जितेकाहरुले गाउँको सरकार चलाए भने पराजित हुने प्राय उमेद्वारहरु कोहि पनि गाउँमा बसेनन्। पेशा व्यवसायका लागि बाहिरिएका उनिहरु पाचँ बर्ष फछि फेरि गाउँ फिरेका हुन्। अब जित्नेले सत्ता चलाउन हार्नेले प्रतिपक्षको भूमिका खेलेर गाउँको मुहार फेरुन मतदाताको अपेक्षा रहेको छ। 

प्रकाशित: २३ वैशाख २०७९ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App