१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पुरानाभन्दा नयाँ उम्मेदवारको नारामा आकर्षित मतदाता

स्थानीय तह निर्वाचन

नेपाली कांग्रेसबाट २०७४ को स्थानीय तह निर्वाचनमा लहान नगरको मेयर लड्ने तयारीमा थिए– महेश चौधरी। उनी चुनाव जितेर नगरमा विकास र सम्वृद्धिको पाइडल चलाउन चाहन्थे। तर, उनले त्यो निर्वाचनमा मेयरको टिकट पाएनन्।

त्यो अवसर पाउन उनले पाँच वर्ष कुर्नुपर्‍यो । २०७९ को स्थानीय निकाय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उनले लहानको मेयरमा प्रतिस्पर्धा गर्दै छन्। राजनीतिक खेल मैदानमा चौधरी पहिलो ‘इनिङ’ का लागि मुनि साहसँग प्रतिस्पर्धा गर्दै छन्। साह तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दै छन्।  

मेयरका नयाँ उम्मेदवार महेश चौधरीले लहानको रुप फेर्न विभिन्न योजनाहरू अघि सारेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा जनता समाजवादी पार्टी(जसपा), नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको साझा उम्मेदवार महेश चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, कृषि, पर्यटनलगायतका योजनाको फेहरिस्त प्रस्तुत गरेको छ। गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार जसपाका राम चलितर महतो हुन। उनी पनि नयाँ अनुहार हुन्।

गठबन्धनले घोषणा पत्रमा लहानबासीको साझा समस्या बाल विटौरी, गाउँ ब्लक र टाउन प्लानिङ्ग जग्गालाई सुल्झाउने उल्लेख गरेको छ। सँगै व्यवसायिक करमा ५० प्रतिशत छुट, सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने सरकारी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उल्लेख छ। सामुदायिक विद्यालयहरुमा समेत अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने,  विद्यालय कर्मचारी, बाल विकास शिक्षक र कार्यालय सहयोगीको तलब नेपाल सरकारले घोषणा गरे बमोजिम प्रदान गर्ने योजना अघि सारेको छ।  

शिक्षक/कर्मचारीहरुको तलब मासिक रुपमा दिने व्यवस्था गर्ने। नगरमा एक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ।  

दलित तथा विपन्न समुदायका नागरिकहरुको निःशुल्क स्वास्थ्य वीमा गर्ने, विपन्न नागरिकका लागि निः शुल्क एम्बुलेन्स सञ्चालन गर्ने, सार्वजनिक स्वास्थ्य संस्थाको भौतिक संरचना र सेवामा सुधार गर्ने घोषणा पत्रमा उल्लेख छ। क्यान्सर, ब्रेन र मुटुको शल्यक्रिया गराउनु पर्ने अवस्थाका विरामीका लागि एक लाख रुपैयाँको आर्थिक सहयोग गर्ने उल्लेख छ। आङ खस्ने महिला पहिचान गरेर निःशुुल्क उपचारको व्यवस्था गर्ने समेत घोषणा पत्रमा उल्लेख छ।

कृषिमा आत्मनिर्भरता बढाउन भूमि बैँकको स्थापना गरी भूमिहीन, सुकुम्बासी एवं कृषि श्रमिकहरुलाई जग्गा भाडामा लिई खेती गर्ने व्यवस्था मिलाउने घोषणा पत्रमा उल्लेख छ। खेती जमिन सिँचाईका लागि खेत–खेतमा निःशुल्क विजुली उपलब्ध गराउने, बाली, पशु, माछापालन, फलफुल खेतीको बीमा गर्न सरकारले अनुदान दिने ८० प्रतिशतमा नगरपालिकाले २० प्रतिशत थपेर सबै किसानलाई बीमाका लागि प्रोत्साहन गर्ने गठबन्धनका उम्मेदवारले घोषणापत्रमर्फत प्रतिवद्धता जनाएको छ।      

सिंचाईको अभाव र विपद्का कारणले उत्पादनमा कमी आएको बखत किसानको स्थानीय भूमिकर मिनाहा गर्ने तथा किसानलाई  खेतीका लागि २५ हजारदेखि १ लाख रुपैयाँसम्म निव्र्याजी सापटीको व्यवस्था गर्ने प्रतिवद्धता घोषणपत्रमार्फत गरिएको छ।  

आईटी सम्बन्धी तालिम तथा लोक सेवा तयारीका लागि कक्षा, पर्यटन, उद्योग, कलकारखाना, शिक्षण, सवारी चालक, पाइपलाइन, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिकर्मी, डकर्मी जस्ता रोजगारीमुलक सीप विकास तालिमको व्यवस्था गरि रोजगारीका लागि दक्ष जनशक्ति तयार गर्ने योजना अघि सारेको छ । आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्दै उद्यमशीलता र उद्योग विकासबाट कम्तिमा वर्षेनी १ हजार जना दक्ष जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिने घोषणापत्रमा उल्लेख छ।  

सबै बृद्धबृद्धालाई घरमै बृद्धभत्ता उपलब्ध गराउने बन्दोबस्त मिलाइने भनिएको छ। विपन्न एवं अपांगता भएकाहरुलाई घरघरमा गएर नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा घुम्ती शिविरहरु प्रत्येक बर्ष सञ्चालन गर्ने उल्लेख छ। गर्भवती पोषण भत्ता दश हजार रुपैंया र एकल महिलालाई वार्षिक  पाँच हजार भत्ता उपलब्ध गराउने उल्लेख छ।

मर्यादित महिनाबारीको लागि वातावरण मैत्री जैविक प्याड उत्पादन गरी किशोरी र महिलाहरुलाई सहज र सुलभ रुपमा उपलब्ध गराउने। स्थानीय स्तरमा प्याड उत्पादन गर्न अपाङ्ग तथा पिछडिएका महिलाहरुलाई सीप लिएर रोजगारी दिने प्रतिवद्धता जनाइएको छ। न्यायिक समितिलाई चुस्त र क्रियाशील बनाई छुवाछुत, बालबिवाह लगायत समाजमा विद्यमान कुरीति र लैंगिक, जातीय लगायतका सामाजिक विभेद अन्त्यका लागि कानुनको कार्यन्वयनलाई क्रियाशील बनाइने उल्लेख छ।  

अपाङ्गता भएका बालबालिकाहरुको विशेष शिक्षा तथा आवासको व्यवस्था गर्ने र घरबिहीन महिला, दलित, अपाङ्ग तथा पिछडिएका नागरिकहरुको लागि आवासका व्यवस्थाको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ।  

लैंगिक तथा जातीय विभेदका पिडितहरुका लागि व्यवस्थित सुरक्षा घरको व्यवस्था गर्नुका साथै टोल फ्रि वा आधुनिक प्रविधिको प्रयोगबाट तत्काल रिपोर्ट गर्ने र सम्बोधन गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएको छ। फुसको घरलाई टिनको बनाउन सहयोग गर्ने। बस्तीमा बार्षिक रुपमा हुने डुवानलाई रोकथाम गर्न बाँध, ढल, कुलो निर्माण गर्ने। प्रत्येक बस्तीका पाहुनाहरु बस्न, छलफल गर्न, बालबालिकाहरुलाई ट्यूशन पढनका लागि बस्ती पिच्छे एउटा सूचना केन्द्र बनाउने घोषणा पत्रमा उल्लेख छ।  

चत्रपथ, क्याम्पस, वडा पिच्छे ज्येष्ठ नागरिक र बालबालिका विश्राम स्थलहरु निर्माण गर्ने । सल्हेशको गाथासँग जोडिएको स्थानहरुलाई जोडेर ‘सल्हेश सर्किट’ निर्माण गर्ने। २० हजार दर्शक अटाउने रंगशाला निर्माण गर्ने । ५ हजार जना अटाउने आधुनिक एवं व्यवस्थित ‘लहान सभागृह’ निर्माण गर्ने। लहान बजार क्षेत्रमा भूमिगत नाला निर्माण गर्ने घोषणा पत्रमा उल्लेख छ।

प्रत्येक वर्ष प्रत्येक वडामा पाँच किलोमिटर सडक पक्की गर्ने। चौकचौकमा लाइटको व्यवस्था गर्ने । नगर भित्र फोहोर व्यवस्थापनका लागि डम्पिङ्साइड व्यवस्थापन गर्ने। प्रत्येक वडामा एक खेलमैदान र योग भवन निर्माण गर्ने। सार्वजनिक ऐलानी पर्ती जग्गाको अध्यावधिक गरी अभिलेख राखी आवश्यकता अनुसार बन, पार्क, पोखरी निर्माण गर्ने। बजार क्षेत्रमा बढ्दो अव्यवस्थित सवारीको चाप व्यवस्थापन गर्न पार्किङ्ग स्थल निर्माण गर्ने घोषणा पत्रमा उल्लेख छ।  

लहान नगरलाई दुई पटक नेतृत्व प्रदान गरिसकेर तेस्रो पटकका लागि प्रतिस्पर्धा गरिरहेका मुनि साह सुडीले आफ्नो कार्यकालमा भएको कामको फेहरिस्त प्रस्तुत गर्दै मतदातालाई आफ्नो पक्षमा पार्ने कसरत गर्दै छन्।

साहले लहान नगरपालिका– १ साविकको तरकारी बजारमा  सलहेश दिनाभर्दी सपिङ कम्प्लेक्स निर्माण गरेको, लहान नगरपालिका–७ मा विद्यापति भानुभक्त वाचनालय निर्माण गरेको उल्लेख गरेको छ।

खुट्टी खोला सिँचाई नहर निर्माण, लहान बजारमा घन्टाघर निर्माणलाई साहले आफ्नो कार्यकालको मुख्य कामको रुपमा प्रस्तुत गरेका छन्।

नगर विकास टाउन प्लानिङ अन्तर्गत पहिलो फेजको कम सम्पन्न र दोस्रो फेजको कार्य शुरुवात, नगरबस संचालन,झन्डा पार्क निर्माणलाई पनि साहले मुख्य काममै समावेश गरेको छ।

रिङरोड निर्माण कार्यको सिलान्यास, लहान बजारमा मल्टीमेडिया सूचनापाटी जडान र किसानलाई विद्युत महसुलमा सहुलियतलाई साहले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिको रुपमा प्रस्तुत गर्दै मतदाताको दैलोमा पुगिरहेका छन्।

लहान नगरपालिकामा २४ वटा वडा छन् । यस नगरमा ५६ हजार मतदाता छन् । जसमा करिब ८ हजार थारुको जातीय मत छ । एकल जातीय हिसावले थारुको मत अरु जातीभन्दा बढी छ ।

मधेसको चुनावी ‘फ्याक्टर’

मधेसमा चुनाव जिताउन नातासम्बन्ध, धन र जातिको मतले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विगतमा पैसाले पनि यहाँको चुनावी नतिजा पल्टाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव छ। स्थानीय अगुवाले पैसा लिएपछि आफ्नो पकड क्षेत्रको मत चाहेको उम्मेदवारको पक्षमा ल्याइदिन सक्छन्। यो मत हासिल गर्न उम्मेदवारले समाजका अगुवालाई रिझाउन पैसा खर्च गर्छन्। कुन टोलमा कुन अगुवासँग कति मत प्रभावित पार्न सक्ने पकड छ, त्यसै आधारमा उम्मेदवारले एकमुष्ठ रकम दिएपछि चुनाव आफ्नो प्रभावमा पर्ने गरेको छ।

अहिले छनोटमा परिसकेका उम्मेदवारले ‘धन’ जुटाउन थालिसकेका छन्। यसका लागि उम्मेदवारले आफ्ना पकडका व्यापारीसँग अप्रत्यक्ष रूपमा चुनावी सहयोग माग्न थालिसकेका छन्। ‘उम्मेदवार बनेको छु, सहयोग चाहिन्छ है’ भन्न सुरु भएको लहानका एक व्यापारीले सुनाए।

मधेसमा पार्टीको सांगठनिक मतले त्यति ठूलो प्रभाव नपार्ने स्थानीयको भनाइ छ । स्थानीय चुनावमा जात र नातासम्बन्ध हेरेर मत खसाल्ने चलन छ, मधेसमा। भोट जस्तो महत्वपूर्ण कुरा नाता सम्बन्धलाई नै दिन्छु भन्न रुचाउँछन् यहाँका मतदाता।

चुनावी परिणाममा उम्मेदवारको व्यक्तित्व पनि महत्वपूर्ण पक्ष मानिन्छ । स्थानीय चुनावका लागि पार्टीका भन्दा स्थानीयस्तरमा भिजेका नेतालाई बढी रुचाइन्छ।

चुनावमा जातीय प्रभावले पनि नतिजा उलटपुलट पार्न भूमिका निर्वाह गर्छ। त्यसैले दलहरू जातीय समीकरण मिलाएर उम्मेदवार उठाउँछन्।

अन्तिम समयमा मधेसको चुनावी नतिजा अनुमानबाहिर पनि जान सक्ने खतरा हुन्छ। आफूले नजित्ने भएपछि प्रतिस्पर्धामा दोस्रो नम्बरको उम्मेदवारलाई सघाएर पहिलो नम्बरलाई हराउने चलन पनि छ। एउटा पदमा सघाएर अर्को पदमा त्यो दल वा उम्मेदवारको समर्थन लिने चलन छ। यसलाई मत साटासाट भनिन्छ।

प्रकाशित: २३ वैशाख २०७९ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App