२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोल्वालिङ आयोजनाको काम हिउँदबाट थालिने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको आम्दानी बढाउने परिपूरक आयोजनाको रूपमा लिइएको रोल्वालिङ जलविद्युत् आयोजना निर्माणको काम आगामी हिउँददेखि अघि बढाइने भएको छ। अपर तामाकोसी हाइड्रोपावर कम्पनीले रोल्वालिङ जलविद्युत् आयोजनाबाट २० मेगावाट बिजुली उत्पादन गर्न सक्छ। तामाकोसीले हाल उत्पादन गरिरहेको विद्युत्मा यस आयोजनाबाट हिउँदको पिक आवरमा २० मेगावाट विद्युत् थपिने छ।

रोल्वालिङको विद्युत्गृहबाट निस्केको पानी तामाकोसीको मुख्य बाँँधमा राखेर हिउँदमा दैनिक अतिरिक्त दुई घण्टा पिकिङ क्षमता बढाउनेछ। अहिले तामाकोसीबाट पिकिङआवरमा चार घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन हुँदै आएको छ। रोल्वालिङ खोलाको पानी खसालेसँगै तामाकोसीको विद्युत् उत्पादन क्षमता अतिरिक्त दुई घण्टा थपिनेछ।

अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परिपुरकका रूपमा रहेको रोल्वालिङ जलविद्युत् आयोजनाको काम हिउँदेयामदेखि सुरु गर्ने तयारीमा रहेको बताए।

‘रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माणको पूर्वयोग्यता छनोटको काम भइरहेको छ’, उनले भने– ‘अहिले सुरुङ निर्माणको लागि आवश्यक परीक्षणको काम भइरहेको छ।’ कम्पनीले यो आयोजना निर्माणका लागि करिव आठ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरेको छ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले रोल्वालिङ थपिएसँगै हिउँदमा अतिरिक्त तीन सय १० गिगावाटआवर इनर्जी थपिने बताए। ‘यो आयोजनाको विद्युत्गृहबाट छुट्टै २० मेगावाट बिजुली उत्पादन गर्न सकिनेछ’, उनले भने– ‘यो आयोजनाको विद्यृत्गृहबाट निस्किेको पानी माथिल्लो तामाकोसीको बाँधमा ल्याएर १३.४ क्युमेक्स पानी मिसाइनेछ। यसरी मिसाइएको पानीले माथिल्लो तामाकोसीको इनर्जी क्षमतालाई वृद्धि गराउनेछ।’

रोल्वालिङ खोलाबाट करिब ६ किलोमिटर लामो सुरुङ बनाएर पानी विद्यृत्गृहमा खसालिनेछ। ‘आगामी हिउँदसम्ममा आवश्यक पूर्वतयारीका सम्पूर्ण काम सकेर निर्माण अघि बढाउने योजनामा रहेका छौं’, उनले भने– ‘अहिले सुरुङको परीक्षण गर्ने कार्य भइरहेको छ।’

कम्पनीले अहिले आयोजनाको साइटमा पुग्न आवश्यक पहुँचमार्ग निर्माणको काम गरिरहेको छ। हाई हिमालयन कम्पनीले आवश्यक पूर्वतयारीको काम गर्दै आएको छ। कम्पनीले गत जेठ महिनामै आयोजनाको मुख्य सुरुङ निर्माणको लागि ठेक्का आह्वान गरेको थियो।

ठेक्कामा चिनियाँ सिनो हाइड्रो कम्पनी र हाइ हिमालयन हाइड्रो जेभीले सहभागिता जनाएका थिए तर अहिलेसम्म ठेक्काको मूल्यांकन भने भइसकेको छैन। ‘यो आयोजना ठेक्का सम्झौता भएको करिब साढे चार वर्षपछि सम्पन्न हुने लक्ष्य राखेका छौं’, उनले भने– ‘यो आयोजनाको ठेक्का मूल्यांकनको चरणमा रहेको छ।’ उनले आगामी वर्षा सकिएसँगै आयोजना निर्माणमा जान सक्ने बताए।

सिईओ श्रेष्ठले यो आयोजना पनि स्वदेशी लगानीमै निर्माण गरिने बताए। विद्युत् विकास विभागले २०७४ भदौ महिनामा रोल्वालिङ खोलाको विद्युत् उत्पादन गर्ने लाइसेन्स अपर तामाकोसी जलविद्युत् कम्पनीलाई दिएको थियो। कम्पनीले यो आयोजना साढे चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २२ वैशाख २०७९ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App