१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनताको दैलो-दैलोमा उम्मेदवार

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रचार-प्रसारको शैलीलाई उम्मेदवारहरुले बढाएका छन्। राजनीतिक दलहरुले आफ्नै पूरै शक्ति उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा खटाएका छन्। उम्मेदवारहरु मतदाताको घरदैलोमा दैनिकजसो मत माग्दै पुग्छन्।

उम्मेदवारको पक्षमा माहोल बनाउन दलहरु आक्रामक रणनीति बनाइरहेका छन्। कोहलपुर, नेपालगन्ज, खजुरा, जानकारी, बैजनाथलगायत देशभरिका सबै पालिकामा उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन्। अन्य दिनहरु जस्तै गरेर उम्मेदवारहरु घरदैलोमा पुगेर मत मागेको नेकपा एमाले कोहलपुरले जनाएको छ।

मेयरका उम्मेदवार खिलप्रसाद भुषाल, उपमेयर पदका उम्मेदवार अस्मिता थारु कोहलपुरका विभिन्न वडामा पुगेर वडाका उम्मेदवारसँगै भोट मागेका थिए। नेपाली कांग्रेसका उम्मेदवारहरु समेत मतदाताको घरदैलोमा रहेको नेपाली कांग्रेस कोहलपुर नगर समितिले जनाएको छ।

मेयरका उम्मेदवार पूर्ण आचार्य, उपमेयर संगीता सुवेदी मंगलबार घरदैलोको क्रममा वडाका उम्मेदवारसँगै नगरका विभिन्न वडामा पुगेका थिए। सो क्रममा कोहलपुरको विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिएर विजयी गराउनुपर्नेमा उनीहरुले जोड दिए।

कोहलपुरमा गठबन्धन बनाएर चुनावमा उत्रिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेत मतदाताको घरदैलोमा केन्द्रित भएका छन्। गठबन्धनका उम्मेदवार भोट माग्दै आफ्ना एजेण्डाहरु लिएर मतदातासँग पुगिरहेको नेकपा माओवादी केन्द्र कोहलपुरले जनाएको छ।

गठबन्धनबाट मेयरका उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयरमा नारायणी ओलीसहित वडाका उम्मेदवारहरु भोट माग्दै मतदाताकहाँ पुगिरहेका छन्। मंगलबारसमेत उनीहरुले विभिन्न वडाका मतदातालाई भेटेर भोट माग्ने क्रमलाई जारी राखेका थिए। कोहलपुरमा राप्रपाका उम्मेदवार प्रदीप शाह, स्वतन्त्र उम्मेदवार देवानन्द अर्याललगायतले समेत घरदैलो अभियानलाई तीव्रता दिए।

उम्मेदवारहरु घरदैलोको क्रममा जनतासँगै नाचगानसमेत गर्ने गरेका छन्। ‘गाउँघरमा अहिले चुनावी रौनकले छोइसकेको छ। चुनावमयभन्दा पनि हुन्छ,’ स्थानीय गौमती थारुले भनिन्, ‘विभिन्न आश्वासन लिएर भोट दिनुपर्‍यो भनेर आउँनुहुन्छ। चुनावपछि त यसरी आउनुहुन्न।’ उम्मेदवारहरुले मतदातालाई विभिन्न आश्वासनसमेत दिने गरेका छन्।

प्रकाशित: २१ वैशाख २०७९ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App