७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनभित्र ‘खेल्दै’ विपक्षी दलहरु

सत्तारुढ गठबन्धनविरुद्ध एकल रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले चुनावी प्रचारका क्रममा आफ्नो चुनावी घोषणा पत्रलाई प्राथमिकतामा राखेको छैन। जिल्लाका १० स्थानीय तह मध्य दुई उपमहानगर, एक नगरसहित तीन गाउँपालिकामा जीत हात पारेको एमालेको अहिलेको चुनावी घोषण पत्र पनि अघिल्लो निर्वाचनको भन्दा खासै अन्तर छैन।

फलतः पुरानै एजेण्डालाई मतदाता समक्ष लैजाँदा खासै प्रभाव नपर्ने बुझेको एमालेले अहिले आफ्नो बलियो प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको ‘फाटो’ लाई चुनावी अस्त्रका रुपमा प्रयोग गरिरहेको छ। गठबन्धन भित्रको मत ‘एक’ भएको खण्डमा हार्न सकिने मनस्थितीमा रहेको एमालेले कसरी गठबन्धनमा फाटो ल्याउन सकिन्छ र गठबन्धनको मत आफूतिर तान्न सकिन्छ भन्ने रणनीतिमा छ।

फलतः उसले सत्तारुढ गठबन्धनलाई ‘अपवित्र गठबन्धन’ रुपमा मतदाता सामु प्रचार गरिरहेको छ। कांग्रेस र माओवादी एकै ठाउँमा उभिन नसक्ने भन्दै यी दुई दल एक अर्काका विगतका सत्रु रहेको भन्दै गरिएको प्रचारबाजीले गठबन्धनको मत तान्न सकिने र पुनः निर्वाचनमा जीत हासिल गर्न सकिने रणनीति बनाइरहेको छ।

त्यसोत, गठबन्धन भित्रका कांग्रेस र एमालेले चुनावमा एकले अर्कोको अस्तित्व स्वीकार्न नसकिने भन्दै असन्तुष्ट मत पनि प्रकट भैरहेका छन्। फलतः गठबन्धन भित्रको यो असन्तुष्टिलाई विकराल बनाएर गठबन्धनको ठूलो हिस्सा आफूतिर खिच्ने प्रयत्नमा एमाले रहेको छ।

घोराही उपमहानगरपालिकाको मेयरमा दोहोरिन खोजिरहेका एमालेका नरुलाल चौधरीले पनि आफ्नो जीतको आधार गठबन्धनभित्रको असन्तुष्टिलाई मात्रै देखिरहेका छन्। सत्तारुढ गठबन्धन व्यवहार नमिल्नेहरुबीचको घाँटीको जोडका रुपमा अथ्र्याएका उनको बुझाइ छ ‘गठबन्धन अब आफैबाट टाढिदै गएको छ, कार्यकर्ता शुभेच्छुकले गठबन्धन नचाहे पनि नेताहरु जसरी पनि पद हत्याउन विचार नमिल्नेहरुसंग घाँटी जोडिरहेका छन्।’

यो उपमहानगरमा गठबन्धनका तर्फबाट माओवादीका हेमराज शर्मा मेयरमा र कांग्रेसका भुपबहादुर डाँगी उपमेयरका उम्मेदवार बनेका छन्। अघिल्लो सनीय तहको निर्वाचनमा निर्वाचित एमालेले पाएको मत भन्दा कांग्रेस र माओवादी केन्द्रको मतलाई जोड्दा ७ हजार बढि हुन आउँछ। अहिले यो उपमहानगरमा थपिएको मत संख्या ३५ हजार छ।

यो मत संख्यामा गठबन्धनले एक तिहाई मत आफ्नो रहेको दाबी गरिरहेको छ।  तर एमाले र गठबन्धनको आधा/आधा मत रहेपनि एमालेलाई जीतका लागि सहज हुने देखिन्न। फलतः एमालेका लागि गठबन्धन भित्रको ‘चलखेल’ जीतका लागि अपरिहार्य जस्तै बनेको छ। उता सत्तारुढ दलहरुको बलियो गठजोड बनेको जिल्लाको अर्को प्रमुख स्थानीय तह तुलसीपुर उपमहनगरपालिकामा पनि एमालेले गठबन्धन भित्रको मत तान्ने कसरत गरिरहेको छ।

गठबन्धन भित्रको मत तान्न सकिए सहज जीत हुने आँकलनमा रहेको एमालेले यो उपमहानगरमा पनि गठबन्धनभित्रका गठबन्धन विरोधी मतलाई पछ्याइरहेको छ। यो उपमहानगरमा एमालेका तर्फबाट टिकाराम खड्का मेयरमा र स्यानी चौधरी उपमेयरको उम्मेदवार हुन्। यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका पूर्वसांसद गेहेन्द्र गिरी मेयर र नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उपमेयरको उम्मेदवार बनेका छन्।

साना दललाई मत बढ्ने आश

गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले फरक दलको अस्तीत्व स्वीकार्न नसके त्यसको सबै भन्दा बढि फाईदा आफूलाई हुने राप्रपाले देखिरहेको छ। गठबन्धनमा रहेका दलहरु मध्य कांग्रेसमा असन्तुष्ट बढ्ने र त्यो असन्तुष्ट मत आफ्नो ‘बाकस’मा खस्नेमा राप्रपा पुरापुर आशावादी छ।

यो अवसरले राप्रपालाई जीतको नजिक सम्म पुर्‍याउने लख राप्रपा बृत्तमा काटिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुखमा १ हजार १ सय ३६ मत पाएको राप्रपाले अहिले भने गठबन्धन भित्रको असन्तुष्टिका कारण यो मत संख्या धेरै उकालो लाग्ने अपेक्षा गरिरहेको छ।

यस्तै तुलसीपुर उपमहानगरमा ४ सय ९५ मत प्राप्त गरेको राप्रपाले अहिले भने बलियो प्रतिस्पर्धीका रुपमा आफूलाई दाबी गरिरहेको छ। ‘स्वाभाविकै रुपमा अहिले अन्य प्रमुख भनिएका दलहरु प्रति आमनागरिकको आस्था, विश्वास कमजोर बनेको र त्यो जनमत अहिले राप्रपा प्रति ढल्किएको छ,’ राप्रपाका एक जिल्ला नेताले भने ‘त्यसमाथि अहिले गरिएको गठबन्धन प्रति गठबन्धन दलको ठूलो हिस्सा असन्तुष्ट छ, स्वाभाविकै रुपमा त्यो असन्तुष्ट मत राप्रपाको पक्षमानै खस्छ।’

यस्तै राप्रपा पनि सार्वजनिक रुपमै गठबन्धनभित्र खेलिरहेको छ। उसले पनि गठबन्धनको खिलापमा रहन र राप्रपालाई मतदान गर्न भन्दै आग्रह गरिरहेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा ५ सय मत प्राप्त गरेको नेकपा एमालेले पनि अहियो यो मत संख्या उकालो लाग्ने विश्लेषण गरिरहेको छ।

प्रमुख दलहरुले गरेका ‘गलत कदम’ मतदाता समक्ष प्रस्तुत गरिरहेको मालेले यसको प्रतिफल आफूलाई राम्रै मिल्ने आशा गरिरहेको छ। यस्तै गठबन्धन भित्रकै बेमेलले पनि आफूलाई फाईदा पुग्ने दाबी उसको छ। ‘प्रमुख दलहरुले गरेको एमसिसी सम्झौतादेखि उनीहरुले गरेका विभिन्न गलत कदमहरुलाई हामीहरुले मतदाता समक्ष सुक्ष्म ढंगबाट प्रस्तुत गरिरहेका छौँ, यसको प्रतिफल हामीहरुका लागि राम्रो आउँछ,’ नेकपा मालेका जिल्ला अध्यक्ष तथा घोराही उपमहानगरका मेयर पदका उम्मेदवार नेत्रप्रकाश पाण्डेले भने ‘यससंगै गठबन्धनमा रहेका दलहरुको आन्तरिक बिरोधले पनि हामीहरुलाई अहिले फाइदा पुग्छ।’

मत बचाउमा कांग्रेस/माओवादी

विपक्षी लगाएत साना दलहरुले गठबन्धन भित्रको मतलाई फाइदाका रुपमा हेरिरहेको भएपनि गठबन्धनका प्रमुख दल कांग्रेस, माओवादीले भने गठबन्धनभित्रको मत एकत्रीत पार्न सकृय भएर लागेका छन्। उनीहरुले गठबन्धन भित्र असन्तुष्ट मतलाई फकाइरहेका छन्।

फलतः गठबन्धको मत अन्त कतै बाहिर नजाने तर्क उनिहरुको छ। ‘अहिलेको गठबन्धन राष्ट्रिय हितका निम्ती हो, र यो नितान्त आवश्यक्ता हो भनेर हामीहरुले आम साथीहरुलाई बुझाइरहेका छौँ,’ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेले भने ‘यो आवश्यक्ता कांग्रेसका आम साथीहरुले बुझिसक्नु भएको छ।, फलतः कांग्रेसको मत गठबन्धन बाहिर जाने कुरै हुँदैन।’

सुरुवाती चरणमा गठबन्धन प्रतिको असन्तुष्टि केही बढि देखिएको भएपनि अहिले गठबन्धनका दलहरुसंगैको आपसी सहकार्यले त्यो असन्तुष्टि मत्थर बनिसकेको उनको भनाइ छ। ‘सुरुमा असन्ततुष्टि केही बढि नै थियो,’ न्यौपानेले भने ‘तर अहिले त्यो असन्तुष्टि मेटाइसकेको छ, केही थोरै साथीहरुको बाँकी असन्तुष्टिलाई पनि हामी मेट्छौँ, यसर्थ गठबन्धनको मत गठबन्धन बाहिर कतै पनि जान्न।’ यता माओवादीले पनि आफ्ना कार्यकर्ताहरुलाई गठबन्धनमा लाग्नका लागि फकाइरहेको छ।

त्यसोत, उसले माओवादी भित्र गठबन्धनभन्दा बाहिर गएर मतदान हुने वातावरण नबन्ने दाबी पछि गर्छ। ‘पार्टीको केन्द्रको नीति हरेक तहका कार्यकर्ताहरुले अनिवार्य पालना गर्दै आएको माओवादी भित्रको लामो इतिहास छ,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले भने ‘अहिले गठबन्धनको सवालमा पनि माओवादीका कोही पनि साथीहरु पार्टीको नीति विपरित जाने छैनन्।’

प्रकाशित: २१ वैशाख २०७९ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App