२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

विकासको ‘ललीपप’ देखाउँदै उम्मेदवारहरु

गठबन्धनका तर्फबाट उम्मेदवार धनराज आचार्य पोखरा–१७ मा आयोजित चुनावी कोणसभामा बोल्दै। तस्बिरः नागरिक

पोखरा महानगरपालिका–२३ पीच सडक कम भएको वडा हो। फेवाताल सिरान क्षेत्र पर्ने उक्त वडामा केवल तीसय मिटरमात्र पीच सडक छ। एकवर्ष अघिसम्म एक मिटरपनि पीच नभएको उक्त वडामा बल्ल पीच सडक निर्माण सुरु भएको हो।  

यही क्रममा चुनावी घरदैलोका क्रममा पुगेका गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट पोखरा महानगरपालिकाका प्रमुख (मेयर)का उम्मेदवार बनेका धनराज आचार्यले स्थानियको भावना बुझ्दै भने, ‘यहाँ पीच सडक रहेनछ, अब यहाँ पिच गर्ने जिम्मा गठबन्धनले लिन्छ’।

एमालेबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले सराङ्कोट र माझठानामा पुगेर धारामा पानी ल्याउने आश्वासन दिए। दुबै ठाउँमा धारा नपुगेको कार्यकर्ताबाट जानकारी लिएका उनले चलाखीपूर्ण तरिकाले स्थानियबासीमाझ भने, ‘तपाईंहरुले शुद्ध खानेपानी पाउनु भएको छैन। यसबारेमा हामी जानकार छौं, अब हामी निर्वाचित भएपछि यहाँ खानेपानी ल्याउँछौं।’ त्यतिमात्र होईन उनले सुकुम्बासी बस्तीमा पुगेर लालपूर्जा वितरण गर्ने आश्वासन पनि बाँडेका छन्। पोखरा–१७ मा मंगलबार आयोजित चुनावी कोणसभा तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उनले स्थानीय सुकुम्बासीलाई निर्वाचित भएलगत्तै लालपूर्जा वितरण गर्ने बताए।

मथिका आश्वासनहरु प्रतिनिधिमूलक मात्र हुन्। यी र यस्तै विकासका ललीपप बाँढ्दै घरदैलो गर्दैछन् पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवारहरु। विकासका ललीपप बाँड्न सबैभन्दा माहिर छन् दलका उम्मेदवारहरु। त्यसमा स्वतन्त्र उम्मेदवारहरुपनि कम छैनन। जसको उदाहरण अटेरी उम्मेदवार गनेस पौडेलको घोषणा पत्र हेरेपुग्छ । जहाँ उनले पोखरालाई बुटिक सहरका रुपमा विकास गर्ने भनेका छन्। तर बुटिक सहर भनेको के हो र त्यसका लागि के के गर्ने भन्ने उनले स्पष्ट खुलाएका छैनन्। घोषणा पत्रमा मत प्रभावित गर्न उनले बुटिक सहरको तुरुप त फालेका छन् तर उक्त कार्य गर्न कति समय लाग्ने, त्यसको योजना, कार्यान्वयनको रोडम्यापबारे उनीहरु मौन छन ।  

उम्मेदवारहरुले विकासको ललीपप देखाउने क्रममा पोखरादेखि बेगनाससम्म मेट्रो रेल, केरुङ–काठमाडौं–पोखराहुँदै लुम्बिनीसम्म रेल सञ्चालन, पोखरा चक्रपथ निर्माण, पोखराको कोर सिटी प्रवेश नगरी पर्वत र स्याङ्जा निस्कने बाईपास रोड निर्माण, पोखरा बसपार्क, प्रदेश बसपार्क, आइटी पार्क, अन्र्तराष्ट्रिय सभाहल, प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापनालगायतका महत्वकांक्षी योजनाको सपना देखाउने गरेका छन्। यसमा खास गरेर नेकपा एमालेका उम्मेदवार कृष्ण थापा र गठबन्धनका तर्फबाट उम्मेदवार धनराज आचार्य नै अगाडि छन्।

उम्मेदवारहरुले देखाएको ललीपपमा स्थानीय पनि मख्ख छन्। वर्षौंदेखि बसेर तीन पुस्ता बित्दापनि लालपूर्जा नपाएका सुकुम्बासीहरु उम्मेदवारले जितेपछि लालपूर्जा दिन्छु भन्दा परर ताली बजाउँछन्।पोखरा–२३ मा पीच सडक बनाउँछु भन्दा ताली पिट्ने मध्ये एक हुन् स्थानीय विष्णु दाहाल। यसअघिपनि पिच सडक निर्माण गर्ने प्रतिबद्धता जनाएपछि मत दिएका उनी भन्छन्, ‘अघिल्लो पटकपनि पीच सडक बनाउँछु भनेर एमालेले झुक्याएर मत लग्यो। जितेपछि पीच सडक बनाएन। अब त तिनलाई भोट हाल्दैनौं।’ तर अघिल्लो पटक जितेकालाई नदिएपनि त्यस्तै आश्वासन दिनेलाई नै भोट दिने पक्षमा छन् उनी।

उम्मेदवारहरु सुशासन भन्दापनि विकासका ललीपप किन देखाउँछन् त? यसलाई नागरिक समाजले कसरी लिएको छ? राजनीतिक विश्लेषक तथा साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, ‘धरातलीय यथार्थसँग साक्षात्कार नगरी ल्याइएको बकम्फुसे एजेण्डाप्रति जनता विश्वस्त छैनन् त्यहि भएर जनतामा उत्साह होईन उदासिनता छाएको छ चुनाव प्रति।’ उनले अविश्वसनीय एजेण्डा ल्याएर जनतालाई छक्याउने रणनीति थाहा पाएकाले अहिले जनता चुनावी कार्यक्रममा खासै नदेखिएको दाबी गरे। उनले भने, ‘राजनीतिक दल र उम्मेदवारहरुले जनतालाई जति विश्वस्त पार्न खोजेपनि उनीहरुको अविश्वसनीय एजेण्डाले आश्वास्त भएका छैनन्।’

प्रकाशित: २१ वैशाख २०७९ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App