१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बुटवलमा गठबन्धनद्वारा संकल्प पत्र सार्वजनिक

बुटवललाई स्वाभिमानी सहर बनाउने प्रतिबद्धता

पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकाको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ। बुटवललाई समानता, स्वाभिमान, विकसित र समृद्ध सहर बनाउने संकल्प गठबन्धनमा रहेका दलहरुले गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन्।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संकल्प पत्र सार्वजनिक गर्दै मेयरका उम्मेदवार खेलराज पाण्डेले नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई पेपरलेस बनाउँदै फास्ट ट्रयाक प्रणाली अवलम्बन गरीने बताए।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर व्यवस्थापन, रोजगारी सिर्जनाका कार्यक्रम सबै वडामा विस्तार गर्दै नगरलाइ भ्रष्टाचार मुक्त बनाउने संकल्प पाण्डेले गरेका छन्। नगरपालिकामा गुनासो लिएर जाने जनतालाई अहिलेका जनप्रतिनिधिले हप्काएर पठाउने गरेको भन्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गरिने पाण्डेले बताए।

‘आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउँदै साझा जनप्रतिनिधि बन्ने र मेयर युथ एडभाइजरी बोर्ड गठन गरिने संकल्प पत्रमा उल्लेख छ। व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, इ-रिक्सा सवारी कर, हाटबजार बैठकी कर लगायतका करका दर एवम सिफारिस शुल्क घटाउने प्रतिबद्धता गरीएको छ।

सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने भनिएको छ। दुई वटा नगर अस्पताल निर्माण गर्ने, हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरीने वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ।

स्वास्थ्य बीमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधि उपलब्ध गराउने र नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने भनिएको छ। लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्ती आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याइ मेडिकल कलेजका रुपमा विकास गर्ने भनिएको छ।

गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था, स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि लगायतका कार्यक्रम राखीएको छ। नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, विस्तार गर्ने, झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता गरीएको छ।

सुकुम्बासी तथा अव्यवस्थित बसोवास गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाण पुर्जा र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराइने संकल्प गरीएको छ। बाढी तथा पहिरो प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्ने भनिएको छ।

‘बुटवलको फोहोर व्यवस्थापनमा ५ आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने, घरेलु फोहोर संकलन वापत लिदैँ आएको दस्तुर घटाउने घोषणा गरीएको छ। संकल्प पत्रमा भनएिको छ ‘नगरमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरी सरसफाइकालागि स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ। नगरलाई सफा सुन्दर र हरियाली बनाउँदै ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती' आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ।

‘सडक छेउमा हरियाली बेल्ट निर्माण,सहरी वन अवधारणाअन्तर्गत बजार एवम् आवासीय क्षेत्रका सार्वजनिक जग्गाहरु पहिचान गरी सहरी वन क्षेत्रका रुपमा विकास गरिने छ। पोखरी एवम् तालको निर्माण गर्दै जलसम्पदा र जैविक विविधताको संरक्षण गर्ने' भनिएको छ। बुटवललाई पर्यटक विश्रामस्थलका रुपमा विकास गर्दै आर्थिक र पर्यटकीय नगरी बनाउने भनिएको छ।

ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन, आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तारोन्नती गर्ने सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गर्ने भनिएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रेकालागि ठोस पहल गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्तिसहित पुनर्स्थापना गर्ने योजना ल्याइएको छ।

‘नक्सा पास नगरी बनेका घर, भवनहरुको अभिलेखीकरण गरी आवश्यक प्रक्रियामार्फत् निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गरिने छ। ‘बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवम् पहल गर्ने भनिएको छ।

बटौली अर्थात् पुरानो बुटवलको ऐतिहासिकलाई जर्गेना गर्दै त्यसलाई सम्पदा क्षेत्रका रुपमा विकास गर्ने, नेपाली पन झल्कने, कलात्मक ज्ञान शैलीमा निर्माण गरीने निजी आवास तथा भवनहरुलाई कर छुट सुविधा दिने भनिएको छ।

निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित: २१ वैशाख २०७९ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App