स्थानीय तह निर्वाचनले देशै भरका समुदायमा फरक माहोल ल्याएको छ। उम्मेदवारसँगै नेता कार्यकर्ता धनुषटङ्कार अभिवादनसहित गाउँ छिरेका छन्। ५ वर्षसम्म गाउँ नफर्किएका कतिपयको अनुहार जनताले देख्ने अवसर पाएका छन् ।
मनमा गतिलो योजना नभएका कारण यो पटक उनीहरू नमस्कार मात्र लगेर भोट माग्न गाउँ छिरेका हुन्। हरेक जिल्लामा जस्तै रोल्पामा समेत जसरी पनि जित्नु पर्छ भन्ने मानसिकताले जरो गाडेको छ। जनताको आवश्यकता र प्राथमिकता के भन्नेतिर कसैको ध्यान गएको देखिँदैन। पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर उम्मेदवारहरूले मानवीय विकासलाई खासै चासो नदिएको बताउछन्। ‘उम्मेदवारहरू अन्धधुन्द जस्तै छन्। संगठनका हिसाबले जित्ने हो; जित्नु पर्ने कारण स्पष्ट छैन।’
महिला, सीमान्तकृत, अपाङ्गका मुद्दा ओझेल परेजस्तै १० वर्षे माओवादी द्वन्द्वका पीडितका मुद्दाप्रति त झनै चासो दिएको देखिँदैन। द्वन्द्वकालमा मारिएका, बेपत्ता बनाइएका र घाइते अनि अंगभंग भएकाहरू फेरि पनि उपेक्षामा परेका छन्। शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील विषयभन्दा भौतिक विकास नै प्राथमिकतामा छ।
राजनीति बुझेकाहरू उम्मेदवार र उनीहरूसँग हिडेकाको उनीहरूका गतिविधिले आफै लज्जित छन् भने नबुझेकाहरू फुरुङ्ग छन्। त्यसो त गत निर्वाचनमा जस्तो रौनक नभए पनि दैनिक कोही न कोही घरघरै पुगिरहेका छन्। विकासको बाढी ल्याइदिने प्रलोभनसहित दलबल लिएर हिँडेका उम्मेदवारका प्रतिबद्धता अपुरा तर उस्तैउस्तै छन्।
माओवादीबाट रोल्पा नगरपालिका प्रमुखमा उम्मेदवार बनेका सुरेन्द्र थापा घर्ती तपाईलाई किन भोट दिने भन्ने प्रश्नमा भौतिक पुर्वाधार निर्माण र मानवीय संसाधनका कुरामा काम गर्नलाई आफूलाई जिताउनु पर्ने बताउछन्।
एमालेबाट रोल्पा नगरपालिकाका मेयर पदका उम्मेदवार घनश्याम आचार्य सुशासन, पारदर्शिता र जनताको भावनाअनुसार क्रमागत योजना बनाउन आफूलाई जिताउनु पर्ने बताउछन्।
नेपाली कांगे्रसबाट रोल्पा नगरपालिका मेयर पदका उम्मेदवार शेरबहादुर थापा विकासे कार्यक्रम जनतामा नगएको बताउँदै विपन्नको कल्याणकारी काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन्। ‘विकासका नाममा हुने भ्रष्टाचार रोकेर कल्याणकारी काम गर्न मेरो उम्मेदवारी हो।’
तपार्इंलाई भोट किन ? भन्ने प्रश्नको छोटो उत्तर दिएका यी प्रतिनिधि उम्मेदवारहरू सबै प्रचारप्रसारमा व्यस्त छन्। लामो समय नलिएरै सोधिएका प्रश्न र उत्तरले मुख्यतया भौतिक विकासतिरै ध्यान गएको प्रष्ट बनाउँछ। मनोनयन पत्र दर्ताका दिन उम्मेदवारलाई हौसला थप्न जिल्ला आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पनि कोण सभामा बोल्दै आफूले उठाएका उम्मेदवारलाई किन भोट दिने भनेर प्रष्ट्याउनुको सट्टा गठबन्धनका बारेमा नै चर्चा बढी गरेका थिए।
अघिल्लो पाच वर्ष कुहिरोको काग जस्तै बनेका जनप्रतिनिधिहरू फेरि पनि योजनाबिना प्रतिस्पर्धामा रहँदा आउने पाँच वर्ष उस्तै पो हुने हो कि भन्ने त्रास रहेको मतदाताको गुनासो रहेको छ। योजना, कार्यदिशा, प्रतिबद्धताभन्दा पनि गठबन्धन र जसरी पनि मैले वा हामीले जित्नैपर्छ भन्ने मान्यताका कारण यो पटक उम्मेदवारहरू नमस्कार मात्र लिएर मतदातासमक्ष गएका हुन्।
प्रकाशित: २१ वैशाख २०७९ ०५:०४ बुधबार