१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको आसन्न निर्वाचनलाई चौतर्फीरुपमा चासोका साथ हेरिएको छ।

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।

महानगरपालिकामा प्रमुख पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र  गरी कूल १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने उपप्रमुखमा दुई स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा उत्रेका छन्। निर्वाचनमा दलहरुले गठबन्धन बनाउँदा प्रमुख पदमा नेपाली कांग्रेस, नेपकपा ( माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट जसपाका नेता राजेशमान सिंह चुनावी मैदानमा छन् भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट एमालेका नेता निवर्तमान प्रमुख विजयकुमार सरावगी चुनावी मैदानमा हाेमिएका छन्।

तत्कालीन सङ्घीय समाजवादी फोरमबाट प्रमुखमा निर्वाचित सरावगीले पार्टीभित्रको अन्तर विवादका कारण  पार्टी परित्याग गरी केही महिना अघि एमालेमा प्रवेश गरेका थिए।  

उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा र सिंहको प्यानलबाट  कांग्रेसका जिल्ला सचिव  इम्तियाज आलम चुनावी मैदानमा छन्। विशेष गरी यस महानगरपालिकामा यस पटकको निर्वाचनमा सरावगी र सिंहको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने जनाइएको छ।

प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्र प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह र रोज मियाँ अन्सारीलगायत चुनावी मैदानमा छन्। वीरगञ्ज महानगरपालिकामा हाल कूल एक लाख २४ हजार ६४७ मतदाता  छन्।

प्रचारमुखी ब्यानरहरु हटाउन माग

निर्वाचन कार्यालयले आसन्न निर्वाचनमा उम्मेदवारको प्रचार प्रसार हुने गरी जिल्लाका विभिन्न सार्वजनिक स्थलमा राखिएकोे प्रचारमुखी ब्यानरहरु हटाउन सरोवाला सबैलाई निर्देशन दिएको छ। निर्वाचनमा आफ्नो प्रचार प्रसारका लागि दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा राखेको प्रचार जन्य सामग्री पोस्टर र ब्यानरहरु तत्काल हटाउन निर्वाचन कार्यालयले राजनीतिक दल र दलका उम्मेदवारहरुलाई यस्तो निर्देशन दिएको हो।

प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा उम्मेदवारहरुले राखेका आफना प्रचार ब्यानरहरु हटाउन आग्रह गरे। निर्वाचन आचारसंहितानुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न पाइने छैन। यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ।  

दल र उम्मेदवारहरुले चोक, सार्वजनिक भवन, पार्कलगायतका सार्वजनिकस्थलमा आचारसंहिता मिचेर आ– आफ्नो पोष्टर राखेका छन्।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ गतेदेखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ। रासस

प्रकाशित: २१ वैशाख २०७९ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App