१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कीर्तिपुर नगरपालिकाः गठबन्धनबीच नै कडा प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै जाँदा कीर्तिपुर नगरपालिकामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरूले चुनाव प्रचार तीव्र पार्दै लगेका छन्। पाँच दल सम्मिलित सत्ता गठबन्धनबाट यहाँ चुनावी तालमेल हुन सकेको थिएन।

जसबाट नगरपालिकाको प्रमुख र वडाध्यक्षसहित अन्य पदमा सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आपसी प्रतिस्पर्धा गर्ने भएका छन्। जनता समाजवादी पार्टी (जसपा) ले भने प्रमुखमा कांग्रेसलाई साथ दिने भएको छ। राष्ट्रिय जनमोर्चाको भने यहाँ कुनै उपस्थिति देखिँदैन। एमालेले राप्रपा नेपालसँग तालमेल गरेको छ।

स्थानीय तहको निर्वाचन २०७४ लाई हेर्ने हो भने एमालेले एकलौटी रूपमा आधिपत्य जमाएको थियो। तर अहिलेको अवस्थामा मतपरिणाम फरक आउने सम्भावना छ। प्रमुख, उपप्रमुख र छ वटा वडामा एकछत्र रूपमा जित हाँसिल गरेको एमालेले यसपटक पनि आफूले त्यसै गरी विजयी हुने दावी गरेको छ।

छुट्टाछुट्टै रूपमा दलहरूबाट प्रतिस्पर्धा हुने भएपछि नगर प्रमुखको उम्मेदवारीमा मात्र १४ पार्टीले उम्मेदवारी दिएका छन्। एमालेबाट केशरत्न बज्राचार्य, कांग्रेसबाट राजकुमार नकर्मी, माओवादी केन्द्रबाट शिवशरण महर्जन, एकीकृत समाजवादीबाट वटुकृष्ण थापा, राप्रपाबाट जितबहादुर विष्ट रहेका छन्। नेपाली कांग्रेस (विपी) बाट प्रविद खनाल, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट श्यामकाजी महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन र स्वतन्त्रबाट भीमकुमार महर्जन, मनोज बुढाथोकी, श्याम महर्जन र सन्देश महर्जन गरी चार जनाले उम्मेदवारी दिएका छन्।

स्थानीय तहको निर्वाचन २०७४ मा एमालेले १, २, ३, ६, ७, ९ गरी ६ वटा वडामा वडाध्यक्ष र सबै सदस्य जितेको थियो। वडा नं.४ मा वडाध्यक्ष, एक सदस्यसहित महिला सदस्य र दलित महिला सदस्य कांग्रेसले जितेको थियो। दुई सदस्य एमालेले जितेको थियो। वडा नं. ८ मा वडाध्यक्ष कांग्रेसले जितेको थियो भने एक सदस्य माओवादी केन्द्रले र अर्को एक सदस्य कांग्रेसले जितेको थियो।

यस वडामा महिला सदस्य कांग्रेसले र दलित महिला सदस्य एमालेले जितेको थियो। वडा १० मा वडाध्यक्ष एमालेले जितेको थियो भने सदस्य माओवादी केन्द्र र एक सदस्य एमालेले जितेको थियो। महिला सदस्य र दलित महिला सदस्य भने यस वडामा माओवादी केन्द्रले जितेको थियो।  

स्थानीय तहको निर्वाचन २०७४ मा कीर्तिपुर नगरपालिकामा २८ हजार १ सय १ मतदाता रहेका थिए भने ३० हजार ३ सय २८ मतदाता अहिले छन्। अघिल्लो निर्वाचनदेखि यो निर्वाचनसम्म २२ सय २७ मतदाता बढेका छन्।

प्रकाशित: २१ वैशाख २०७९ ००:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App