१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भोट किन?

काठमाडौं महानगरपालिका मेयरका लागि कांग्रेसकी उम्मेदवार सिर्जना सिंह (माथि), विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटा (बायाँ) र उपमेयरका लागि एमालेकी उम्मेदवार सुनिता डंगोल (दायाँ) । तस्बिरः नागरिक

नेपाली कांग्रेसबाट काठमाडौँकी मेयर पदकी उम्मेदवार सृजना सिंह जितको कामना गर्दै पूजा गर्न सोमबार स्वयम्भू मन्दिर पुगिन्। मन्दिरमा पुगेर अजिमा माताको मन्दिरमा दियो बालेर जितको कामना गर्दै विधि पुर्वक पूजा गरिन्।

पूजा सकेर उनी केही बेर स्वयम्भू मन्दिर परिसरको भजन मण्डलीमा रहेका मतदाताहरूसँग भोट माग्न पुगिन्। तर त्यहाँ उनले सोचेभन्दा केही फरक दृश्य देखियो। भजन मण्डलीमा पुग्नसाथ मण्डलीका सदस्य मतदाताहरूले मेयरकी उम्मेदवार सृजना सिंहलाई तपाईंलाई किन भोट दिने भनी प्रश्न गर्दा केही बेर उनी अकमकमा परिन्। माहौल शान्त बन्यो। त्यसपछि ती मतदाता तथा मजन मण्डलीका अगुवाले फेरि भने ‘तपाईंहरू भोट माग्न मात्र आउनु हुन्छ। जितेपछि हामीलाई बिर्सनु हुन्छ।

यता फर्केर पनि आउनु हुन्न।’ मतदाताहरू थप प्रश्न गरे ‘तपाईंलाई हामी भोट किन दिने? जितेपछि के गर्नु हुन्छ?’ मतदाताका गुनासा सुनेपछि केही बेर शान्त बनेकी मेयर उम्मेदवार सृजना सिंहले तुरुन्तै सम्हाल्दै हौसला दिँदै आफू जितेपछि जनताकै हकहितमा समर्पित हुने प्रतिबद्धता जाहेर गरिन्। उनले आफू गणेशमान सिंह र मंगला सिंहकी बुहारी तथा प्रकाशमानकी श्रीमती मात्र नभएर नेपाली चेली भएको नाताले काठमाडाैँ महानगरपालिकाका साथै देशको समग्र विकासमा आफूले सकेसम्म बलबुताले भ्याएसम्म रातदिन काम गर्ने विश्वास दिलाइन्।

‘मेरो परिवार सधैँ अजिमा माताको भक्त रहेको र म मेयर भएर आइसकेपछि काठमाडौँको मन्दिरको पुर्वाधार विकासको क्षेत्रमा काम गर्ने विश्वास दिलाउन चाहन्छु’ मेयरकी उम्मेदवार सृजनाले भनिन्, ‘साथै हाल मजदुर महिलाहरूका बालाबलिका पढाउनका लागि प्रत्येक विद्यालयमा शिशु स्याहार केन्द्रको समेत स्थापना गर्ने छु’ उनले थपिन्, ‘थुप्रै युवा जमातहरू हाल विदेशिने अवस्थालाई रोक्न स्वदेशै अझै काठमाडौँमा रोजगारी र उद्यमको व्यवस्थापनमा मेरो जोड हुने छ। पार्टीगत होइन जनताको हितमा काम गर्ने छु। दिदीबहिनीलाई सुरक्षित काठमाडौँको अनुभूति दिलाउने विश्वास दिलाउँछु।’

मिस नेवाः २०११ की विजेता एवम् नेकपा एमालेबाट काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू उपमेयरमा जितेपछि युवामैत्री समाज बनाउनेमा जोड दिने बताइन्। २९ वर्षीय डंगोलले आफू मिस नेवा भएर काम गर्दा भाषा र संस्कृतिप्रति मोह बढ्दै गएको जनाउँदै उनी संस्कृति अभियन्ताको रूपमा समेत काम गरी सकेको जनाइन्। यही बखत उनले सहरी योजना आयोजनामा बसेर काम गर्ने मौका पाएकी थिइन्।

उनले हाल देशमा राजनीतिमा युवाहरूको पहुँच नभएकाले देशको शैक्षिक, राजनीतिक, समाजिकलगायत देशको समग्र अवस्था लथालिंग बनेको जनाउँदै उनले राजनीतिमा युवाको पहुँच पुर्‍याउन र देशलाई व्यवस्थित बनाउन पनि आफू उपमेयरको उम्मेदवारी दिएको जनाइन्। ‘अग्रजको आशीर्वाद र आफ्नो अनुभवले व्यवस्थित महानगर बनाउने छु’ डंगोलले भनिन्, ‘विशेष गरी पार्किङको समस्या, ट्राफिक टाक्स फोर्स बनाएर समाधान गर्ने छु।’ उनले थपिन्, ‘फोहोर व्यवस्थापनलाई तत्काल व्यवस्थित गर्ने काम गर्छु।

यसका लागि निजी क्षेत्रसँग परियोजना विकास सम्झौता गरी काम अघि बढाउने छु। उपमेयरको मुख्य काम मेलमिलाप र न्यायको हकमा भएकाले यस क्षेत्रमा निष्पक्ष रहेर काम गर्ने प्रतिबद्धता जनाउँछु।’ उनले शिक्षा क्षेत्रमा काठमाडौँका सबै माध्यमिक विद्यालयहरूमा कम्प्युटर ल्याबका साथै विज्ञान प्रयोगशालाको विस्तारमा जोड दिने काम गर्ने बताइन्।

नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकाकी प्रत्यासी मेयर पदकी उम्मेदवार रजनी थापाले टोखा नगरपालिकाको पुर्वाधार विकासमा गुणस्तीयतामा जोड दिने प्रतिबद्धतासहित मैदानमा उत्रेकी छिन्। उनले आफूले नगरपालिकाभित्र रहेका सबै विषय विज्ञ इन्जिनियरहरूसँग छलफल गरी पूर्वाधार विकासको कार्ययोजना तय गरिएको र त्यहीअनुसार पुर्वाधार विकासमा जोड दिएर अघि बढ्ने जनाइन्।  सोमबार वोमेन एनजिओ फिडरेसन नेपाल र संकल्प नेपालले संयुक्त रूपमा आयोजना गरेको उम्मेदवारसित महिलासम्बन्धी अन्तर संवाद कार्यक्रममा उपत्यकाका नगरपालिकाहरूका प्रत्यासी मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरूसँग छलफल गरेको थियो।

सोही कार्यक्रममा टोखा नगरपालिकाकी प्रत्यासी मेयर उम्मेदवार थापाले आफू मेयर भएपछि कोखदेखि शोकसम्मको कार्य व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाइन्। पेसा नर्स उनी आफू पेसामा हुँदा पहिलो केस नै १० वर्षीय बालिका आफ्नै बुबाबाट बलात्कृत भएको केस हेर्नु परेको दुःखद् क्षण स्मरण गर्दै उनले टोखा नगरपालिकालाई महिला हिंसामुक्त क्षेत्र बनाउने दाबी गरिन्। ‘नगरबासीलाई कुनै समस्या नपर्ने गरी सडक विस्तारको कार्य अघि बढ्छ’ उनले भनिन्, ‘युवा खेलाडीलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिने छ। ’ उनले थपिन्, ‘टोखा चाकु उत्पादनमा विश्वमै प्रसिद्ध भइरहेको अवस्थामा यो उत्पादनलाई घरेलु उद्योगको रूपमा विकास गरिने छ।’

विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाकी मेयर पदकी प्रत्यासी उम्मेदवार समीक्षा बास्कोटाले आफू मेयर पदमा विजयी भएपछि पहिलो काम नै सार्वजनिक यातायातलाई लैंगिक हिंसामुक्त बनाउनेतर्फ लाग्ने जनाइन्। उनले आफूले पटकपटक सार्वजनिक यातायातमा यात्रा गर्दा थुप्रै महिलाहरू लैंगिक हिंसाको सिकार भएको देखेकाले यसतर्फ संवेदनशील भएर काम गर्ने जनाइन्।

खुला क्षेत्रको संरक्षण र विस्तारमा आफ्नो योगदान हुने बताएकी छिन्। सोही कार्यक्रममा बोल्दै उनले आफू मेयर पदमा विजय भएपछि पहिलो प्राथमिकता महानगरभित्र रहेको सार्वजनिक जग्गाको खोजी, संरक्षण र विस्तारमा लाग्ने जनाइन्। उनले साझाले मेयर र उपमेयर दुबै पदमा महिला उठाएको र दुबै क्षमताको आधारमा उम्मेदवार भएको बताइन्। उनले महिलाहरू काममा इमान्दार भएकोले आफू मेयरमा जितेपछि भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा जोड दिने जनाइन्।

‘म मेयर भएर महानगरमा आएपछि सुलभ, व्यवस्थित, विधुतीय यातायातको व्यवास्थापन गर्ने छु’ उनले भनिन्, ‘नेवाः कला संस्कृतिको पुनर्जागरण र सफा तथा व्यवस्थित काठमाडौँ बनाउने छु।’ उनले थपिन्, ‘गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको काममा जोड दिने छु।’

उपमेयरकी उम्मेदवार कीर्ति तुलाधरले काठमाडौँ हाल विदेशजस्तै कंक्रिटको शहर बन्दै जाने क्रम बढिरहेको अवस्थामा आफू उपमेयरमा जितेपछि मेयरसँग सहकार्य गरी काठमाडौँलाई स्वच्छ र सफा बनाउने दाबी गरिन्। उनले यसका लागि महानगरमा भएका प्राकृतिक स्रोत र साधनको प्रयोग गरी हराभरा स्वच्छ र सफा काठमाडौँ बनाउने योजना सुनाइन्। ‘विकासको नाममा कंक्रिटको जंगल हामीलाई चाहिँदैन’ उनले भनिन्, ‘नदीनालाको सफाइ र पुनस्थापना गरी सफा सहरको विकासमा मेरो जोड हुन्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ महानगरपालिकाका लागि उपमेयर पदको प्रत्यासी उम्मेदवार विनिता मगैयाले आफू उपमेयरको पदमा विजय भएपछि कार्य क्षेत्रमा हुने समान कामको असमान ज्याला समस्यालाई जरैबाट हटाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले महानगरको सम्पदा संरक्षण आफ्नो प्राथमिकतामा रहेको जनाइन्। ‘संस्कृति संरक्षण, ख्लकुद र उद्यममा महिलाको सहभागिता बढाउनेतर्फ मेरो काम केन्द्रित हुन्छ’ उनले प्रतिबद्धता जनाइन्, ‘जेष्ठ नागरिक र अपाङ्गका लागि सार्वजनिक यातायात निःशुल्क हुन्छ।’ पेशाले आर्किटेक इन्जिनियर मगैयाले थप जोडिन्, ‘सार्वजनिक शौचालयलाई व्यवस्थित गर्ने र आवश्यक स्थानमा शौचालय थप्ने र प्रत्येक वडाको सार्वजनिक स्थलमा फ्रि वाइफाइको व्यवस्था गरिने छ।’

राप्रपाका तर्फबाट ललितपुर महानगरपालिकाकी उपमेयर पदमा प्रत्यासी उम्मेदवार स्वर्णिमा शाक्यले आफ्नो उपमेयरको उम्मेदवारी ललितपुरको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिने रहेको जनाइन्। ‘उपमेयरले समस्या समाधान गरी मेलमिलाप गराउने भएकाले म उपमेयर भएपछि मेरो महानगरमा महिला हिंसा कम गर्नेतर्फ काम गर्छु’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य र महिलालाई रोजगारीसँग जोडेर अघि बढिन्छ।’ उनले थपिन्, ‘महिलाहरू आर्थिक रूपमा सक्षम भएपछि हिंसा आफै न्यून हुन्छ।’

प्रकाशित: २० वैशाख २०७९ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App