१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठूला दललाई चुनावमा हराउनुपर्छ: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी लगायतका ठूला दलहरूलाई यो चुनावबाट पाखा लगाउनुपर्ने बताएका छन्। यी ठूला पार्टीहरूले देशका लागि केही पनि गर्न नसकेकाले यीबाहेकका पार्टीहरूलाई वैकल्पिक शक्तिका रूपमा अगाडि ल्याउनुपर्ने बताएका छन्।

त्यसकारण वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा ती पार्टीहरू भोट नदिन उनीहरूले आग्रह गरेका छन्। राष्टिय प्रजातन्त्र पार्टी जिल्ला समिति भक्तपुरले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी कांग्रेस धोकेबाज पार्टी भएको बताए। त्यस्ता धोकेबाजलाई मत नदिएर सजाय दिनुपर्ने नेताहरूले बताए।

सम्मेलनमा जानकारी गराएअनुसार वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएको थियो तर अहिले आएर सहमति भंग गरी कांग्रेस हिँडेको छ। २०७६ मंसिर १४ गते सम्पन्न प्रदेशसभाको उपनिर्वाचनमा लिखित सहमति गरी कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई राप्रपाले सहयोग गरेको थियो।

उक्त सहयोग गरेबापत चाँगुनारायण नगरपालिकामा स्थानीय निर्वाचनको बेला राप्रपाले नगर प्रमुखसहित ४ वटा वडा र कांग्रेसलाई उपप्रमुखसहित ५ वटा वडा बाँडफाँट गरी निर्वाचनमा सहभागी गराउने लिखित सहमति भएको सम्मेलनमा बताइयो। २०७६ मंसिर ८ गते दुई पार्टीबीच भएको सहमतिलाई कांग्रेसले एकतर्फी भंग गरेको राप्रपाले आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा राप्रपाले सहमतिपत्र पनि सार्वजनिक गरेको थियो। सहमतिपत्रमा दुवै दलका केन्द्रीय प्रतिनिधिहरूसहित कुल सात जनाले हस्ताक्षर गरेका छन्। कांग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि र राप्रपाका तर्फबाट उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य हरिवहादुर बस्नेतलगायतले हस्ताक्षर गरेको उल्लेख छ।

सम्मेलनमा राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमासमेत छलफल भएको बताए। तर पनि सहमति कार्यान्वयन हुन नसकेको उनले बताए। सहमति कार्यान्वयन गर्न जिल्ला तह नै भागेको उनले बताए। उनले ती सहमतिहरूलाई राप्रपाले अक्षरस पालना भएको तर कांग्रेसले सबै बुँदाहरू पालना नगरेको समेत बताए।

उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए तत्कालीन समयमा कांग्रेसका भडेल जित्नै नसक्ने निश्चित भएको बताए। यसअघिको प्रदेश सभाको निर्वाचनमा उक्त क्षेत्रमा एमालले जित हासिल गरेको थियो। तर एमालेबाट विजयी हासिल गरेका हरिशरण लामिछानेको मृत्यु भएपछि उक्त क्षेत्रमा कांग्रेसका कृष्णलाल भँडेलले जितेका थिए। भँंडेल जित्नुको एउटै मात्रै कारण नै आफूहरूले मत दिनु रहेको उनीहरूले बताए।

पत्रकार सम्मेलनमा राप्रपा पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले कांग्रेसलाई गरेको ऋणको व्याजसहित ऋण तिर्नुपर्ने बेलामा दिएको धोखाले कांग्रेसलाई नै हानी पुग्ने बताए। नेपाली काँग्रेसले दिएको धोखाले मूल्य चुकाउनुपर्ने पनि उलले बताए। कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले काँग्रेसको नियतमा खोट रहेको बताउँदै कांग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने बताए।

उनले सो सहमति पार्टीले भंग गरेकोले कांग्रेस कार्यकता र समर्थकहरूलाई सहमति पत्र देखाएर धोका दिने काग्रेसलाई मत नदिएर सहयोग गर्न आग्रह गर्ने बताए। सहमति भंग गरेर राप्रपालाई नभई कांग्रेसलाई नै घाटा हुने ठोकुवा उनले गरे।

प्रकाशित: १८ वैशाख २०७९ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App