२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन–२०७९: इलाममा गठबन्धनका दलबाटै बागी उम्मेदवार

उम्मेदवारी फिर्ताबारेको छलफल निष्कर्षहीन

सत्ता गठबन्धनमा आबद्ध इलामका ४ दलबीच भएको ‘सहमति’ उल्लंघन गर्दै तिनै दलले विभिन्न पदमा उम्मेदवारी मनोनयन गरेपछि गठबन्धन संकटमा परेको छ।  

गठबन्धनका ४ दलबीच भएको भनिएको वैशाख १० को सहमति उल्लंघन गर्दै दलकै उम्मेदवारका रूपमा र स्वतन्त्र भन्दै ‘प्रभावशाली’ उम्मेदवारले मनोनयन गरेपछि गठबन्धनको एकता निरन्तरतामा संशय देखिएको हो। सहमतिभन्दा फरक तरिकाले सत्तारूढ दल नेपाली काङ्ग्रेस, नेपाल  कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले नै पालिकाहरूका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यमै उम्मेदवारी दिएपछि गठबन्धनबीच विवाद सिर्जना भएको छ।  

वैशाख १० कै सहमतिअनुसार उम्मेदवारले मनोनयन गर्नुपर्ने र गरेको मनोनयन फिर्ता लिनुपर्ने नेपाली काङ्ग्रेसको भनाइ छ भने काङ्ग्रेसले सहमति पालना नगरेका कारण आफूहरूले मनोनयन दर्ता गर्नुपरेको नेकपा (एस) र जसपाको तर्क छ।  

दर्जनौं छलफलपछि वैशाख १० मा गठबन्धनका दलबीच नगरका मेयर–उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष पदमा भागबन्डा भएको थियो। तर, भागबन्डा गरेभन्दा फरक किसिमले उम्मेदवारी परेको हो। बुधबार र बिहीबार नै यसबारे गठबन्धन दलबीच पटक–पटक छलफल भएपनि निचोड निस्किन सकेको छैन।  

मनोनयनअघिसम्म चारै दलका शीर्ष र जिम्मेवार नेता–कार्यकर्ताले आफूहरूबीच भएको सहमतिको खाका सार्वजनिक गरेका थिए। तर, वैशाख ११ र १२ मा आफ्नै दलबाट फरकखाले मनोनयन परेपछि चाहिँ गठबन्धनका दलबीच नै वैशाख १० को सहमति भएको र नभएको भन्नेमै मतभेद देखिन थालेको छ।  

वैशाख १० को भागबन्डाअनुसार इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद काङ्ग्रेसलाई दिने सहमति थियो। तर, गठबन्धनकै घटक जसपाले इलाम नगरको मेयर पदमा गोपालबहादुुर सोराली मगर र उपमेयरमा भगीरथा कट्टेललाई उम्मेदवार बनाएको छ। नेकपा (एस)ले पनि इलाम नगरको उपमेयरमा पार्टीको तर्फबाट डिकबहादुर दाहाललाई उम्मेदवार बनाएको छ।  

सूर्याेदय नगरपालिकाको मेयर नेकपा (एस)लाई र उपमेयर काङ्ग्रेसलाई दिनेगरी दिनेगरी भागबन्डा भएको थियो। तर, सूर्याेदयको मेयरमा जसपातर्फबाट मित्रलाल भट्टराई र उपमेयरमा जुनु लिम्बूले पनि उम्मेदवारी दिएका छन्। देउमाई नगरको मेयर काङ्ग्रेस र उपमेयर माओवादीलाई दिने भागबन्डा भएपनि उपमेयरमा नेकपा (एस)का केशरबहादुर राईले उम्मेदवारी दिएका छन्।  

माई नगरको मेयर माओवादी र उपमेयर काङ्ग्रेसलाई दिने सहमति रहेकामा जसपाले टुपेन्द्र एक्तेन र नेकपा (एस)ले अलिकुमार तामाङलाई मेयरकै उम्मेदवार बनाएका छन्। आफ्नै दललाई दिएको मेयर पदमा माओवादीका भक्तबहादुर लुंगेलीले स्वतन्त्र उम्मेदवारी दिएकामा उनको उम्मेदवारी चाहिँ फिर्ता लिने सहमति भएको छ।  

रोङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवैमा काङ्ग्रेसले उम्मेदवार उठाउने गठबन्धनको सहमति रहेकामा गठबन्धनभित्रैको जसपाले तेजबहादुर राई र नेकपा (एस)ले रमेश राईलाई अध्यक्षको उम्मेदवार बनाएका छन्। उपाध्यक्षमा जसपाले संगीता सुनुवार र माओवादीले देवकुमार राईलाई उठाएको छ।  

फाकफोकथुम गाउँपालिकाको अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष माओवादीको भागमा परेका थिए। तर, माओवादीले बुद्धमाया तामाङ र जसपाले कृष्णबहादुर खत्रीलाई यहाँ अध्यक्षको उम्मेदवार बनाएका छन्। यहाँ अध्यक्ष पाएको काङ्ग्रेसले पार्टीको तर्फबाटै उपाध्यक्षमा भद्रमाया खड्काको उम्मेदवारी दिएको छ भने काङ्ग्रेसकै तेजप्रकाश पौडेलले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

चुलाचुलीको अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष माओवादीले लिने गठबन्धनको सहमति उल्लंघन गर्दै नेकपा (एस)ले नारायण लावती र जसपाले गजेन्द्र याक्खा देवानलाई अध्यक्षको उम्मेदवार बनाए। उपाध्यक्षमा पनि नेकपा (एस)बाट गंगामाया राई र जसपाबाट छलिमाया कुमालले उम्मेदवारी दिएका छन्।  

माङ्सेबुङ गाउँपालिकाको अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष जसपालाई दिने सहमति सार्वजनिक भएको थियो। यहाँ पनि नेकपा (एस)बाट अध्यक्षमा हर्कप्रसाद साम्बाले उम्मेदवारी दिए। माइजोगमाई गाउँपालिकाको अध्यक्ष नेकपा (एस) र उपाध्यक्ष काङ्ग्रेसले बाँडेका थिए। तर, उपाध्यक्षमा काङ्ग्रेसकै कमली लेप्चाले स्वतन्त्र उम्मेदवारी दिएकी छन्।  

जिल्लाका ८१ वडाका वडाध्यक्ष र सदस्यमा पनि गठबन्धनको सहमति पालना हुन सकेको छैन। सबैजसो वडा तहमा गठबन्धनका दलहरू एक्लाएक्लै चुनाव लड्दैछन्। इलाम नगरपालिकाको वडा तहमा काङ्ग्रेस र माओवादीले मात्रै बसेर बेग्लै तालमेल गरेपछि नेकपा (एस) रुष्ट छ। नेकपा (एस)का कार्यालय सचिव मानबहादुर गुरुङले इलाम नगरमा भएको काङ्ग्रेस–माओवादी तालमेलमा सामाजिक सञ्जालमै प्रश्न उठाएका छन्।  

जसपाका जिल्ला नेता विनोद नेम्बाङले जसपा अहिले जिल्लाभर नै गठबन्धनमा नरहेको जनाए। ‘वैशाख १० को गठबन्धनको सहमति भनिएकामा हाम्रो सहमति थिएन,’ उनले भने, ‘माङ्सेबुङको उपाध्यक्ष पनि हामीले स्थानीयस्तरमै सहमति गरेका हौं, जिल्ला तहले दिएको होइन।’ उनले गठबन्धनबाट आफूहरू बाहिर रहेकाले प्रायः सबै स्थानीय तहमा आफ्ना एकल उम्मेदवार रहेको जनाए। उनले जिल्लाका ८१ मध्ये ७ वडाध्यक्ष २५ वडा सदस्य आफूहरूले माग गरेकामा ती पदमा काङ्ग्रेसले नै उम्मेदवारी दिएकाले आफूहरू गठबन्धनमा समाहित नभएको बताए।

नेकपा (एस)का जिल्ला उपसचिव सोम शर्माले काङ्ग्रेसले सहमति उल्लंघन गरेकाले नेकपा (एस)ले धेरैतिर सहमतिभन्दा फरक तबरले उम्मेदवारी दिनुपरेको बताए। ‘हामीले गठबन्धनभित्र सहमति खोजेका थियौं, समर्पण होइन,’ उनले भने, ‘समर्पण गर्नेगरीको सहमतिको अर्थ नहुने भएकाले हामीले पालिकाका प्रमुख–उपप्रमुख पदहरूमै उम्मेदवारी दिएका हौं।’ उनले वैशाख १० को सहमतिमा आफूहरूसमेत रहेपनि इलाम र देउमाई नगरपालिका तथा चुलाचुली गाउँपालिकाको उपप्रमुख÷उपाध्यक्ष नेकपा (एस)ले पाउनुपर्ने आफूहरूको अडान कायमै रहेको जनाए।

काङ्ग्रेसका जिल्ला सचिव निरोज खड्गीले यसबारे छलफल जारी रहेको बताए। ‘गठबन्धनबीच छलफल भइरहेको छ, सायद भोलि (शुक्रबार)सम्मका निष्कर्ष पनि आउला,’ उनले भने, ‘सहमति हामीले उल्लंघन गरेका छैनौं, त्यो आरोपमात्रै हो।’ गठबन्धनका दलले उम्मेदवारले नाम फिर्ता लिने अवधिसम्ममा आफूहरूबीच थप सहमति हुनसक्ने सम्भावना रहेको जनाएका छन्।  

सत्ता गठबन्धनका दलबीच केन्द्रीय तहमा वैशाख १४ मा बसेको बैठकले यसअघि बाँडफाँट गरिएको सिटविपरीत गठबन्धनका दलले दिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। काङ्ग्रेस जिल्ला समितिले पनि विज्ञप्ति जारी गरी सहमतिविपरीतका उम्मेदवारी फिर्ता लिन भनेको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App