२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन: धन र बलमा केन्द्रित बन्यो टिकट

परशुराज खतिवडा, यमनाथ दनै, उमेश थापा, गणेशलाल श्रेष्ठ, कृष्णहरि श्रेष्ठ।

आसन्न स्थानीय निर्वाचनको टिकट पैसा र बलमा केन्द्रित देखिएको छ। पालिका तथा वडाका जनप्रतिनिधिको टिकट कि धन हुनेले लिएका छन् कि बल हुनेले पाएका छन्।

पालिका तथा वडा तहमा दलहरुले उठाएका आधा जसो उम्मेदवारहरु गाउँवस्तीमै सामाजिक सेवामा भिजेका भन्दा फरक व्यक्तिहरु परेका छन्। दलहरुले पार्टीमा योगदान गरेका, सामाजिक सेवामै दिन व्यक्ति गरिरहेकाहरुलाई भन्दा पैसा भएका व्यक्तिहरुलाई नै रोजेका छन्।

नेपाली कांग्रेसबाट सिद्दलेक गाउँपालिकाका अध्यक्षका उम्मेदवार बनेका परशुराम खतिवडा भुगोलमा बसेर राजनीति गरेका व्यक्ति होइनन्। काठमाडौँमा करिब २० वर्षदेखि गार्र्मेन्ट सञ्चालक र सप्लायर्स हुन्। गाउँठाउँ घुमेर जनताको सेवामा खासै देखिएका अनुहार होइनन्।

कांग्रेसबाटै ज्वालामुखीमा अध्यक्षका उम्मेदवार यमनाथ दनै पनि व्यवसायी हुन्। उनी १५ वर्षदेखि नवलपरासीमा उद्योग सञ्चालन गरेर बस्दै आएका छन्। एकाद समय मात्रै जिल्ला आइपुग्ने दनैलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

त्रिपुरासुन्दरी गाउँपालिकाका नेकपा एमालेका उम्मेदवार उमेश थापा अधिकांश समय सामाजिक सेवा भन्दा आफ्नै टापटिपे काममा अल्झिरहने व्यक्ति हुन्। उनी हर समय जिल्ला बाहिरै हुन्छन्। पहुँचको राजनीतिमा टिकेका व्यक्ति हुन्। पार्टीको बैठक बाहेक अन्य समय जिल्लामा नभेटिने नेता हुन्।

यस्तै एमालेले नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षका उम्मेदवार सुवर्ण रिमाल पनि गाउँ बसेर सामाजिक काममा भिजेका व्यक्ति होइनन्। नेकपा माओवादी केन्द्रले गजुरी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाएको गणेशलाल श्रेष्ठ ढुंगा, गिट्टी, बालुवाका व्यापारी हुन्।

जनताको घरदैलोमा पुगेर राजनीति गरेका भन्दा पैसाले राजनीति टिकाएका व्यक्तिमा पर्छन्। नेकपा एकीकृत समाजवादीले गल्छी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका कृष्णहरि श्रेष्ठ ढुंगा, बालुवाकै व्यापारीको रुपमा चिनिएपनि पञ्चायतका जनपक्षिय उम्मेदवार हुँदै तत्कालिन गाविस अध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्म चलाइसकेका व्यक्ति हुन्।

निर्वाचन र राजनीति दुबै महंगो भएको र खर्च व्यवस्थापनमा समस्या हुन थालेपछि दलहरुले पार्टीमा योगदान गर्नेलाई भन्दा पैसावालालाई नै महत्व दिन थालेको जानकारहरु बताउँछन्। नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा भन्छन्,‘अबको राजनीति धन र बलमा केन्द्रित हुन थाल्यो।’

यसले जनताको आकांक्षा पुरा गर्न र योजनावद्ध विकासमा बाधा पर्न जाने शर्माको बुझाइ छ। राजनीतिक पार्टीका अग्रज नेताहरु भने नेतृत्वले देश र जनताप्रति बैमानी गरेको बताउँछन्। जनयुद्धमा गोली खाएर नयाँ जीवन प्राप्त गरेका र जिउँदो सहिदका नामले चिनिएका माओवादी केन्द्रका नेता राम बहादुर भण्डारी भन्छन्, ‘देश र जनता भन्दा आफ्नो महत्वकांक्षा पूरा गर्न नेतृत्वले यस्ता व्यक्ति रोज्ने गरेका हुन्।’

जनतामा नचिनिएका, भुगोल नै थाहा नभएका र स्थानीय ठाउँमा बस्दै नबस्नेहरुले टिकट पाउनुलाई भण्डारीले गैर राजनीति हावी भएको शंज्ञा दिए। ‘यो गुटबन्दी र राजनीतिलाई बिचैमा टुंग्याउने गलत मान्छेहरुको हुल जम्मा गर्ने तरिका हो’, भण्डारीले भने, ‘यो शुद्धिकरण गर्न जरुरी छ, यस्ता प्रवृत्तिलाई जनताले पनि औला उठाउनु पर्छ।’

नेपाली कांग्रेस धादिङका पुराना नेता नन्द प्रसाद रिजाल पनि राजनीतिक दलहरुले अघि बढाएका उम्मेदवारहरु प्रति चिन्तित छन्। वैदेशिक रोजगारीबाट फर्किएका, नेताका नजिकका व्यक्ति, थर्काइ र धम्कीका भरका टिकट दिनु दलहरुका नेतृत्वको कमजोरी औल्याउँछन्। ‘यो राम्रो संकेत होइन, जनप्रतिनिधि जनताप्रति बफादार हुने संकेत छैन’, नेता रिजालले भने। केन्द्रदेखि जिल्लासम्म नसच्चिने हो भने लोकतन्त्र नै धरापमा पर्ने रिजाल बताउँछन्।

पहिलो निर्वाचनमा भन्दा यो निर्वाचनमा वडाअध्यक्षमा युवा पुस्ताको प्रवेशले प्राथमिकता पाएको छ। तर, राजनीतिक आचरणका भन्दा हुलदङ्गामा रमाउनेहरुलाई नै नेतृत्वले वडाअध्यक्षको उम्मेदवार रोजेका छन्। टिकट नपाए पार्टी छोड्छु, स्वतन्त्र उठ्छु भन्दै धम्क्याएर टिकट लिनेको जमात ठूलो देखिएको छ।

युवा पुस्ताका केही उम्मेदवारहरुले त नेतृत्वमा रहेका नेताहरुलाई धम्क्याएकै भरमा टिकट लिएको जानकारहरु बताउँछन्। उनीहरु भन्छन्, ‘पैसा पेलाई र बल मिचाईकै भरका टिकट लिने प्रवृत्तिले राजनीतिप्रति नागरिकको वितृष्णा जाग्नेछ र योजनावद्ध विकास हुने कुराको विश्वास गुमेको छ।’

प्रकाशित: १४ वैशाख २०७९ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App