१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कतै तालमेल, कतै बेमेल

लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल बन्यो। सोहीअनुसार सोमबार नेपाली कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दर्ता गराए। अन्य तीन दल भने यस गठबन्धनमा सहभागी भएनन्। विशेष गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले आफ्ना छुट्टै उम्मेदवारको मनोनयन दर्ता गराए।

यता कोहलपुर नगरपालिकामा माओवादी र एसबीच मात्र चुनावी तालमेल भयो। नेपाली कांग्रेसलगायतका दल छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा गए। यति मात्र होइन बाँकेमा आठवटा स्थानीय तहमध्ये पाँच दलीय गठबन्धन कुनै पालिकामा भएन। खजुरामा नेपाली कांग्रेस र माओवादी पार्टी मिलेर चुनावमा गए। यता राप्तीसोनारीमा माओवादी र एसबीच गठबन्धन भयो। 

जानकीमा माओवादी र जसपाबीच चुनावी तालमेल भयो। यहाँ अध्यक्षमा जसपा र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन्। बैजनाथ गाउँपालिकामा माओवादी र एसले चुनावी तालमेल गरेका छन्। तालमेलअनुसार बैजनाथमा अध्यक्ष पदमा माओवादी र उपाध्यक्षमा एसले उम्मेदवारी दिएका छन्।

सत्ता साझेदार दलले केन्द्रमा चुनावी गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा त्यो कार्यान्वयन हुन सकेको छैन। दलहरुले आआफ्नो भागमा अडान राख्दा सत्ता साझेदार दलहरुबीचमै चुनावी प्रतिस्पर्धा हुन थालेको छ। गठबन्धनबीच चुनावी तालमेल गर्न ठूलो कसरत भए पनि सफल हुन नसकेको नेपाली कांग्रेसको जिल्ला सभापति नारायणप्रसाद गौडेलले जनाए। ‘केन्द्रको निर्देशनअनुसार जिल्लामा धेरै प्रयास भए,’ उनले भने, ‘तर दलहरुबीच सहमति हुन नसक्दा अन्ततः मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भयो।’ तर बाँकेमा सत्ता साझेदारबाहेक अन्य दलसँग भने चुनावी तालमेल भएको छैन। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने एक्लै चुनावी मैदानमा छन्।

बढ्यो निर्वाचनको सरगर्मी

बाँकेमा चुनावी सरगर्मीले माहोल तातेको छ। छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ सुरु भएको छ। स्वतन्त्र, निर्भीक एवम् नवीन सोच भएकालाई उम्मेदवार बनाइनुपर्ने जनताले चाहना व्यक्त गरिरहेका छन्। बिहानीको सुरुवात नै कुन दलले जित्लान् भन्नेबारेको बहसबाट हुन थालेको छ। औपचारिक एवम् अनौपचारिक भेटघाटमा समेत यहाँको समस्या सम्बोधन भएर स्थानीय निकायले जनप्रतिनिधि पाउने स्थानीयले आशा व्यक्त गरिरहेका हुन्छन्।

मधेसी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको नेपालगन्ज उपमहानगरपालिकामा चुनावी उत्कर्ष देखिन थालिएको छ। मुख्य दलहरूभित्र मत जोडघटाउन सुरु भइसकेको छ। दलहरूबाट जनमत बुझ्ने गतिविधि अघि बढेको छ। ‘लिंग र उमेर होइन, योग्यता हेरिनुपर्छ,’ एमालेकी स्थानीय महिला शान्ति खत्रीले भनिन्, ‘यो वा त्यो दल किन? जो सक्षम छ उसैलाई भोट हाल्नुपर्छ।’ सस्तो लोकप्रियता वा प्रचारबाजीका लागि पद ओगट्नेभन्दा धरातलमा बसेर काम गर्न सक्ने र स्वतन्त्र विचार राख्ने सक्षम व्यक्तित्वहरूको खोजीमा जनता देखिन्छन्। दलको दासभन्दा जनताको सेवक भएर काम गर्नेलाई चुन्ने स्थानीय बताउँछन्।

‘एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपा वा अन्य कुनै पनि दलबाट जित्ने नेतृत्वमा योग्यतासँगै अनुभव एवम् नगरदेखि केन्द्रसम्म राम्रो सम्पर्क राख्न सक्ने कौशल हुनुपर्छ,’ जिल्लाका एक वरिष्ठ राजनीतिकर्मीले  भने, ‘स्थानीय तहमा स्थिर स्वभावका र दलगत स्वार्थभन्दा माथि उठेर सर्वहित सोच राख्नेहरूले चुनाव जित्नुपर्छ, अनि मात्र विकास सम्भव हुन्छ।’ प्रतिशोध होइन, प्रतिस्पर्धाको भावना हुनुपर्ने उनी बताउँछन्। मनोनयन दर्तापछि छुट्टै चुनावी सरगर्मी बढेको छ। र्‍याली, भेलाहरु चलिरहेका छन्। चुनावी माहोल बढ्दै जाँदा अन्य कामहरुसमेत प्रभावित हुन थालेका छन्।

प्रकाशित: १३ वैशाख २०७९ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App