२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं उपत्यकामा एक हजार ७३७ जनाको उम्मेदवारी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका विभिन्न पदमा गरी एक हजार ७३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका लागि प्रमुखमा एक सय १९, उपप्रमुखमा ५३, वडाध्यक्षमा दुई सय ८६, महिला सदस्यमा एक सय ४८, दलित महिला सदस्यमा एक सय २ र खुला सदस्यतर्फ तीन सय ३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

यस्तै ललितपुरका स्थानीय तहका लागि प्रमुखमा २५, उपप्रमुखमा ११, वडाध्यक्षमा एक सय २०, महिला सदस्यमा ६३, दलित महिला सदस्यमा ३१, खुला सदस्यमा एक सय ४८ गरी कुल चार सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै भक्तपुरका स्थानीय तहका लागि प्रमुखमा ३५, उपप्रमुखमा १७, वडाध्यक्षमा ८०, महिला सदस्यमा ४१, दलित महिला सदस्यमा १७, खुला सदस्यमा ९१ गरी दुई सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ।

यस्तै नेकपा एमालेले केशव स्थापितलाई मेयर र उपमेयरमा सुनीता डंगोललाई उम्मेदवार बनाएको छ भने विवेकशील साझा पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ।

उता ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन्। ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दिएका छन्। आयोगले आइतबार र सोमबारका लागि दिएको उम्मेदवारी दर्ताको समयभित्र उम्मेदवारलाई मनोनयन दर्ता गर्न भ्याइनभ्याइ भएको थियो।

प्रकाशित: १३ वैशाख २०७९ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App