१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एक्लाएक्लै भिड्दै ६ मधेसी दल

तराईमधेस केन्द्रित ६ दल एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा भिड्ने भएका छन्। ती दलबीच देशैभरि कतै पनि आपसी तालमेल छैन।

उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), जनता प्रगतिशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन्। सत्तारूढ गठबन्धनमा आबद्ध जसपाले महानगर र उपमहानगर सबैमा तथा एकाध स्थानीय तहमा तालमेल गरेको छ। लोसपाले पनि केही स्थानीय तहमा एमालेसँग चुनावी गठबन्धन गरेको छ। तर कैलालीका एकाध स्थानीय तहबाहेक मधेसी दलहरूकै बीचमा भने कतै पनि चुनाबी तालमेल छैन।

यी ६ वटै पार्टी नयाँ हुन्। यद्यपि जसपा र लोसपाका नेताहरू पुरानै पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी) बाट पछिल्लो स्थानीय निर्वाचनमा सहभागी भएका थिए। यी दुई पार्टीबाहेक जनमत पार्टी, जनता प्रगतशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टी केही महिनाअघि मात्र गठन गरिएका हुन्। पुरानो तमलोपालाई विर्खेशचन्द्र लाललगायत नेताहरूले सक्रिय बनाएका छन्। यस पार्टीले पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ।

जसपा कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले मधेस प्रदेशमा जसपाको पहिलेदेखि नै बलियो पकड रहेको भन्दै त्यहाँ कसैसँग सहकार्य आवश्यक नभएको बताइन्। ‘तराई–मधेसमा पहिलेदेखि नै हाम्रो पार्टी बलियो छ। महानगर तथा उपमहानगरमा सत्तारूढ दलहरूबीच गठबन्धन भएको छ। अन्य ठाउँमा हामी एक्लै चुनाव लड्दैछौं,’ उनले भनिन्।

केन्द्रीय नीतिविपरीत जसपा कैलालीले भने सो जिल्लाका केही पालिकामा लोसपा तथा भानु चौधरीको नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ। यो गठबन्धन कैलालीका केही पालिकामा मात्र भएको जसपा सुदूरपश्चिम इन्चार्ज हरिलाल चौधरीले बताए। महानगर र उपमहानगरमा सत्तारुढ दलहरूसँगको गठबन्धनबाहेक देशभर कसैसँग सहकार्य गर्ने पार्टीको नीति नभएको जसपा कार्यकारिणी सदस्य मनीष सुमनले जानकारी दिए।

कैलालीमा गरिएको सहकार्यको विषयमा भने आफू अनभिज्ञ भएको उनको भनाइ छ। पुरानो तमलोपालाई सक्रिय बनाएका विर्खेशचन्द्र लालले स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै उम्मेदवारी दिएको बताए। ‘हामीले लामो समयदेखि मधेसी जनताको अधिकारका निमित्ति आन्दोलन गर्दै आएका नेतालाई उम्मेदवार बनाएका छौं। हाम्रा उम्मेदवार राम्रा छन्,’ लालले भने, ‘हामी एक्लै चुनाव लडेका छौं।’

जेलबाटै पार्टी घोषणा गरेका रेशम चौधरीले पनि विभिन्न स्थानीय तहमा उम्मेदवार बनाएका छन्। चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा उम्मेदवारी दिएको हो। सो पार्टी पनि एक्लै चुनावमा जाँदैछ। चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई पार्टी अध्यक्ष बनाएका छन्। गत फागुनमा अध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा गठित जनता प्रगतीशील पार्टीले पनि स्थानीय तहको निर्वाचनमा विभिन्न पालिकामा उम्मेदवारी उठाएको छ। सो पार्टी पनि देशभर एक्लै चुनावमा जाँदैछ।

जनमत पार्टीका नेताहरूले पनि कसैसँग सहकार्य नगर्ने घोषणा गरेका छन्। मधेस प्रदेश तथा लुम्बनी प्रदेशमा उक्त पार्टीले एक्लै उम्मेदवारी दिएको छ। जनमत पार्टीका नेता बिपी साहले पुराना पार्टीसँग सहकार्य गरेर पुराना पार्टीले गरेको गलत कामको भारी आफूहरूले लिन नचाहेको बताए। ‘पुराना पार्टीहरूसँग सहकार्य गरेर उनीहरूले गरेको गलत कामको भारी हामीले बोक्न चाहँदैनौं,’ साहले भने, ‘हामी नयाँ छौं। हाम्रो विचार नयाँ छ। त्यसैले हामी जनतामा परीक्षित हुन चाहन्छौं।’

तराई–मधेसलाई केन्द्रित गरी खुलेका आधा दर्जन दल मधेसमा सक्रिय छन् तर उनीहरूले स्थानीय तहको निर्वाचनमा सहकार्य गरेनन्। अहिले मधेसमा मधेसी दलहरूबीच पानी बाराबारको स्थिति छ। जसपाले घोषित रूपमै सत्तारूढ दलहरूसँग गठबन्धन गरेको छ भने लोसपाले स्थानीय आवश्यकता हेरेर सहकार्य गर्ने पार्टीको नीति रहेको जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७९ ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App