१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनबाट बुटवलको मेयरमा कांग्रेसका पाण्डेले गराए उम्मेदवारी दर्ता

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरको मेयरका लागि उम्मेदवारी दर्ता गराउँदै। तस्बिर/रेखा भुसाल

पाँच दलिय गठबन्धनबाट बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। दिउँसो १ बजे नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले मनोनयन दर्ता गराएका हुन्।

बुटवलमा कांग्रेसको मेयरसहित १६ वटा वडाको अध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराउँदै छ। उम्मेदवारी दर्ता गराएपछि पाण्डेले बुटवललाई देशकै सवल र सक्षम आर्थिक केन्द्र सहितको नमुना शहर बनाउने प्रतिबद्धता जनाए।

बुटवलको सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी रुपमै समाधान गर्ने, बुटवलको सिक्स लेन सडक निर्माण समयमै सम्पन्न गर्न नगरको तर्फबाट माथिल्लो तहमा ठोस पहल गर्ने, खानेपानी ढल निकास, सडक, शिक्षा, स्वास्थ्यको क्षेत्रमा प्रभावकारी कार्ययोजनासहित अगाडी बढने उनले बताए।

गठबन्धनका तर्फबाट उपमेयर नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराउँदैछन्। उम्मेदवारी नेकपा एमालेका तर्फबाट बुटवलको मेयरकालागि बाबुराम भट्टराइलाइले केहीबेरमा उम्मेदवारी दर्ता गर्ने तयारी हुँदैछ।

को हुन पाण्डे?

मेयरका उम्मेदवार पाण्डे नेपाली कांग्रेसको नगरसभापतीको रुपमा तीन कार्यकाल नेतृत्व गरीसकेका छन्। यसअघिको स्थानीय निर्वाचनमा पनि उनी मेयरको उम्मेदवार थिए। कांग्रेस भित्र मात्रै होइन बुटवल बासी माझ नै उनी सरल र सहज स्वभावका नेताको रुपमा परिचित छन्। सादा र सहज स्वभावका कारण उनी पार्टी भित्र र बाहिर पनि लोकप्रिय मानिन्छन्।

२०२६ साल फागुनमा स्याङ्गजाको कालिण्डकी २ मा जन्मिएका पाण्डेले पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन्। २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङजामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो।

रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रीय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भएका थिए। गत मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली कांग्रेस बुटवल नगरसभापतीमा निर्वाचित भएका हुन्।

प्रकाशित: १२ वैशाख २०७९ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App