५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरको मेयरमा एमालेका चन्दको उम्मेदवारी

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेकातर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेकातर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्। 

एमालेका उम्मेदवारहरु उम्मेदवारी दर्ता गर्न एमाले पार्टी कार्यालयबाट बाजागाजासहितको र्यालीका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मेयर र उपमेयरको उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, पोलिटव्यूरो सदस्य राजेन्द्र सिंह रावल, पोलिटव्युरो सदस्य नारदमुनी राना, पोलिटव्यूरो सदस्य लिला भण्डारी लगायतका केन्द्रीय नेता पनि मुख्यनिर्वाचन अधिकृत कार्यालय पुगेका थिए।

उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै चन्दले मेयरमा धनगढीका जनताले आफूलाई जिताउने बताए। ‘मैले अढाई दशकदेखि निरन्तर राजनीतिमा सक्रिय भएर समाज सेवा र जनताको काम गरेको छु, नागरिकका अधिकारका सबै आन्दोलनमा सहभागी भएको छु’उनले भने,‘विकास र समृद्धी चाहेका धनगढीका जनताले मलाई जिताउनेमा ढुक्क छु।'

समृद्धी र विकासको ऐजेण्डा बाेकेको एमाले पार्टीको विरुद्ध बनाइएको गठबन्धन हतास मनस्थितीको उपज भएको उनको भनाई छ।  धनगढी उपमहानगरपालिकामा यसअघि जितेका मेयर,उपमेयरले विकासका कुनै काम गर्न नसकेको उनले बताए। ‘पहिलो बैठकमा गरिएको खोलानाला अतिक्रमण हटाउने निर्णय पनि कार्यान्वयन भएको छैन, धनगढीका सडक चौडा बनाउने लगायतका कुनै विकासका काम पनि नगरेकाले गठबन्धनका उम्मेदवारलाई जनताले के का लागी मत दिने? ’उनले भने, ‘मेरो जित्ने आधार भनेकै जनताले चाहेको विकास गर्ने योजना म सँग छ।' गठबन्धनभित्र व्यापक असन्तुष्टी रहेको र एमाले पार्टीभित्र सर्वसम्मतीमा मेयरको उम्मेदवार भएकोले जितहात पार्न पार्टी पंक्ती एक ढिक्का भएर सक्रिय हुने उनले बताए। सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका नृपबहादुर वड पुन:मेयरमा दोहोरिन उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्। २०७४ सालको निर्वाचनमा वडले धनगढी उपमहानगरपालिकाको मेयरमा जितेका थिए।

यसअघि आइतबार स्वतन्त्र उम्मेदवार गोपाल हमाल, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा र अर्का स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी उपमेयरमा विवेकशील साझा पार्टीका उम्मेदवार विमला पन्त ओझाले मनोनयन दर्ता गराएका छन्।

प्रकाशित: १२ वैशाख २०७९ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App