६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

उदयपुरका दुई नगरमा काँग्रेस एक्लै लड्ने, ६ पालिकामा गठबन्धन

आसन्न स्थानीयतह निर्वाचनमा गठबन्धन दलहरुबीच कुरा नमिल्दा दुईवटा नगरपालिकामा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने भएको छ। यसअघि मेयर उपमेयरसहित बहुमत वडा जितेको चौदण्डीगढी र ७२ मतको अन्तरले एमालेबाट पराजित भएको सदरमुकाम त्रियुगा नगरपालिकामा काँग्रेसले एक्लै लड्ने निर्णयमा पुगेको हो।

गठबन्धन दलहरुबीच लामो र चरणबद्ध छलफल चले पनि सहमतिको बिन्दु फेला नपरेका कारण काँग्रेस एक्लै चुनाव लड्ने टुंगोमा पुगेको हो। काँग्रेस एकापटि र नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल अर्कापटि भएपछि सौहार्दपूर्ण र स्वच्छ प्रतिस्पर्धामा लड्ने सहमति भएको काँग्रेस जिल्ला सभापति हिमाल कार्कीले बताए। कार्कीका अनुसार अन्य स्थानीयतहहरुमा भने गठबन्धन कायम राखेर जाने निर्णय भएको छ।

सत्तारुढ दलहरुबीच तालमेल गर्ने विषयमा भएको पटकपटकको छलफलमा नेपाली काँग्रेसले आफू सक्षम छु भन्दै गठबन्धन आवश्यक नभएको जिकिर गरेपछि एक्लै लड्न सहमति दिँदै बाँकी दलहरु गठबन्धन कायम राख्न सहमत भएका हुन्। जस अनुसार त्रियुगामा गत चुनावका निकटन प्रतिद्वन्द्वी बसन्त बस्नेत मेयरमा लड्ने भएका छन्। चौदण्डीगढीमा भने यसअघिकै मेयर खगेन्द्र राईलाई पार्टीले टिकट दोहोर्‍याएको छ।  

बाँकी स्थानीयतहहरुमा भने सबैतिर गठबन्धन भएको छ। जस अनुसार उदयपुरगढीमा नेकपा (एस) का मानबहादुर मगर पुनः अध्यक्ष लड्दैछन् भने काँग्रेसले उपाध्यक्ष लिएको छ। त्यस्तै ताप्लीमा माओवादीका ढुंगराज बिकले अध्यक्ष लिँदा काँग्रेसले उपाध्यक्ष पाएको छ। लिमचुङबुङमा माओवादीलाई अध्यक्ष र उपाध्यक्ष काँग्रेसले पाएको छ भने रौतामाईमा पनि माओवादीलाई अध्यक्षको टिकट दिँदा उपाध्यक्ष काँग्रेसले पाएको छ। बेलका र कटारी नगरपालिकामा काँग्रेसलाई मेयर र माओवादीलाई उपमेयरमा दिनेगरी भागभण्डा मिलाइएको गठबन्धन संयन्त्रले जनाएको छ।

आइतबार र सोमबार मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका अनुसार पहिलो दिन आंशिक दर्ता भएको छ। सोमबार अन्तिम दिन भने विहान १०ः०० बजेदेखि नै मनोनयन दर्ता गर्ने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ। उदयपुरका ८ वटा स्थानीयतहमा ७५ वटा वडा रहेका छन्। जसमा १६ अध्यक्ष उपाध्यक्ष, ७५ वडाध्यक्ष, १ सय ५० सदस्य, ७५ महिला सदस्य र ७५ दलित महिला सदस्य निर्वाचित हुने निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए।

प्रकाशित: १२ वैशाख २०७९ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App