१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

जिल्ला निर्वाचन कार्यालय उदयपुर। तस्बिरः महेश्वर

आसन्न स्थानीयतह चुनावका लागि उदयपुरका सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। अघिल्लो दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाममा खुलेसँगै अन्य स्थानीयतहमा पनि शनिबारसम्म कार्यालय खुलिसकेको हो।  

जिल्लाका त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरपालिकामा ८ गते नै कार्यालय खुलिसकेका थिए भने लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिकामा ९ गते दिउसोभित्र कार्यालयहरु खोलिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दिपक खनालले बताए।  

त्रियुगाको निर्वाचन गराउने काम गाईघाटमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुनेछ भने अन्य स्थानीयतहहरुका लागि पालिका र केन्द्रमा खुलेको खनालले बताए। जस अनुसार चौदण्डीगढीको मुकामस्थल बेलटारमा, कटारीको कटारी बजारमा र बेलकाको रामपुर बजारमा कार्यालय खुलेको छ। त्यसैगरी रौतामाईको केन्द्र भुट्टारमा, उदयपुरगढीको गढीमै, ताप्लीको रुपाटार र लिमचुङबु्ङको बाराहामा कार्यालय खुलेको छ।  

जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा त्रियृगा नगरपालिकाको अधिकृत तोकेको सरकारले चौदण्डीगढीमा महालेखा नियन्त्रण कार्यालयका उपसचिव महेशकुमार दाहाललाई निर्वाचन अधिकृत तोकेको छ। त्यस्तै कटारीको अधिकृतमा सरकारी वकिल कार्यालय उदयपुरका न्यायाधीवक्ता राजकुमार राउत र बेलकाको अधिकृतमा गृहमन्त्रालयका उपसचिव जनकराज पन्तलाई तोकेको छ।  

लिमचुङबुङ गाउँपालिकाको अधिकृतमा गृहकै उपसचिव तुलाराज सुनुवार, उदयपुरगढीको अधिकृतमा जिल्ला अदालत उदयपुरका श्रेस्तेदार दानबहादुर कार्की, रौतामाईमा उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधीवक्ता सुबासकुमार भट्टराई र ताप्लीमा भूमि व्यवस्था मन्त्रालयका उपसचिव ऋषिराज दाहाल नियुक्त भएका छन्।  

उदयपुरमा १ लाख १२ हजार ८ सय ८५ महिला र १ लाख १० हजार २ सय ५१ पुरुष गरी २ लाख २३ हजार १ सय ३८ मतदाता रहेका छन्। जसका लागि ९८ वटा मतदानस्थल र २ सय ५८ वटा मतदान केन्द्र तोकिएको खनालले बताए। सबभन्दा बढी मतदाता र मतदानस्थल त्रियुगा नगरपालिकामा रहेका छन्। त्रियुगामा ६० हजार ४६ मतदाता रहेका छन् भने २५ मतदानस्थल छन्। सबभन्दा कम मतदाता लिमचुङब्ङ गाउँपालिकामा ८ हजार ४ सय ९४ र मतदानस्थल ७ वटा रहेका छन्।  

निर्वाचन कार्यालय उदयपुरले सबै स्थानीयतहमा अधिकृतसहित ९ जना कर्मचारी, १० जना जनपथ र १० जना सशस्त्र गरी २० जना सुरक्षाकर्मी, अन्य बन्दोबस्तीका सामान हरेक पालिका केन्द्र पुगिसकेको जनाएको छ। निर्वाचन अधिकारी खेमराज कोईरालाका अनु्सार एउटा मतदान केन्द्रमा आवश्यक्ता अनुसार ६ वटासम्म मतदानस्थल बनाएर मतदान गर्ने व्यवस्था मिलाउन सकिने आयोगको निर्देशन छ।  

निर्वाचन अधिकृतहरुले आआफ्नो पालिका केन्द्रमा कार्यालय खोलेर चुनाव निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र धाँदलीरहितरुपमा सम्पन्न गर्न सर्वदलीय बैठक डाकेर सहमति जुटाउने कामसमेत गरिसकेका छन्। त्यसका लागि शुक्रबार नै सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर बैठक राखेर सहमति जुटाइएको लिमचुङबुङका निर्वाचन अधिकृत सुनुवारले बताए।

प्रकाशित: १० वैशाख २०७९ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App