६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा कब्जा गर्ने षड्यन्त्र समाप्त पार्न प्रतिनिधि सभा विघटन गर्नुपर्‍योः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका हुन्।

उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए। मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनले बताए। अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे।

अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए। प्रचण्ड, माधव नेपालहरुले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफूसँग नरहेको उनले उल्लेख गरे।

उनले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब यो गठबन्धन छ दलीय गठबन्धन बनेको बताए। उनले एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलेको टिप्पणी गरे।

तत्कालिन नेकपामा प्रचण्डले आफूलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताए। अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडी नेकपा (एमाले) संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने बताए।

प्रकाशित: ८ वैशाख २०७९ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App